जङ्गली फूल
कविता सङ्ग्रह
(नेपाली, मगर र अंग्रेजी भाषामा)
जङ्गली फूल
पथभरीका गीतहरु
सामान्य स्थितिमा हेर्दा मैले स्मिता मगरलाई एक चेलीको रुपमा एक सञ्चार गृहमा चिनेको हुँ । त्यहीं हामीले आम मान्छेले बुझ्ने र बुझ्न चाहेको भावभङ्गीमाको आमसंचारलाई पढेका थियौं ।
दृश्यान्तरमा उनी एक सङ्ग्रही भावका मनोवेगहरु समेटेर एक पुस्तकाकारमा देखापरिन । त्यस काव्य पाठ पछि सरल किसिमले मैले उनलाई संचारिक कविमा चिने ।
आज समयौंपछि उनी अर्को कविता संचयन “जङ्गली फूल” लिएर हाम्रा माझ झकमकाएकी छिन् । पाठकले के सोच्लान ? समालोचकले के भन्लान ? यस्ता विविधावली प्रश्नका माझ स्मिताले सुरक्षित अवतरण गरेकी छिन् । समयको स्वर कति मीठो छ, उनले आफ्नै मातृभाषामा एकसाथ् कविता लेखेकी छिन् ।
ती स्रष्टा अत्यन्त भाग्यशाली हुन्, जसले आफ्नो प्रथम भाषामा कविता लेख्न, बोल्न वा पढ्न पाउनेछन । भारतवर्षमा जीवानन्द दास, महाश्वेतादेवी, अन्नपुर्णा देवी, अमृता प्रितम, इन्दिरा गोस्वामी जस्ता स्रष्टाले त्यस्तो कविता पाए । नेपालमा पनि त्यस्ता कैयन स्रष्टा छन्, जस्ले सुरुमा मातृ भाषामा लेखे, पश्चाद्दर्मा राष्ट्रिय भाषामा ख्याती पाए । मातृ भाषालाई माया गर्न पाउनु आफ्नो सकुर्म हो भनौं वा आफू हिंडेको बाल्यकालको गोरेटोलाई पछ्याउन पाउनु र पथको गीत पाउनु सानो खुशी होइन ।
हिन्दीभाषी महान् कवि शमशेरबहादुर सिंहले भनेका छन्, “संसारका सबै भाषा हाम्रा मातृभाषा हुन्, जस्ले मातृभाषाको विरोध गर्छ, ऊ मानवताविरोधी हो ।” र आजको नवीनतम समाजमा मातृभाषाको रक्षा गर्नु पनि मानव अधिकारको कुरा हो । स्मिताले साँचो अर्थमा मानव अधिकारकर्मी भएर “जङ्गली फूल” मा आफ्नो बाटो पहिल्याएकी छिन् । उनका कविताहरु मानवताका बोलीहरु बोल्छन तर हृदयको मधुर ध्वनीमा ।
उनको “जङ्गली फूल” लाई कुनै नामले नपुकारे पनि यसले एउटा सुनाम पाइसकेको छ । जङ्गलको लामो यात्रा गरेर आएका विद्रोही शक्ति आज शासकीय गायनमा छन् । जङ्गलको लामो बाटो आफ्ना कोमल पाउले पार गरेर आएकी स्वभाषी, सहृदयी-स्नेही कवि स्मिताका बाटो भरिका गीत हुन् , “जङ्गली फूल” ।
फूल त्यो जहाँ फुले पनि त्यसले धर्तिको स्पर्श पाइरहेको हुन्छ र यो यस अर्थमा धर्तीका गीत पनि हुन् । जङ्गलमा फुले पनि, सहरमा फुले पनि फूले माटोको कोमलता खोज्छ, माटोको प्राणीलता खोज्छ । अत: एव महाकवि कालीदासले भनेझैँ “माटोको कोमलता भयो भने प्रेरणा हुन्छ र त्यो स्वत: उर्वरा हुन्छ” ।
सम्भवत: फूलले पाउने प्रेरणा, कोमलता र स्नेह पुस्तकले पाइसकेको छ । त्यसैले गीता त्रिपाठी जस्तो सशक्त कवि-गीतकारको शुभाशिष स्मिताको पोल्टामा परिसकेको छ । नेपाली भाषालाई अत्यन्तै माया गरेर जन्स्थानमा उच्चाकर्षण बनाएका कवि मन्जुलसित सफल सार्थक सहयात्रा गरिसकेकी सम्मानित गीतकार गीता त्रिपाठीज्यूको सामीप्य पाउनु स्मिताको सुनिश्चित विजय हो । तर स्मिताले त्यही अस्मितापूर्ण हृदयबाट जन्मभाषालाई दिएको माया हृदयत: अर्को विजय हो ।
स्मिताका विजयी पाइलालाई मेरो अनन्त शुभकामना सदैव रहनेछ । भाषा, पुस्तक र नारी जातिको गरिमालाई माया र सम्मान गर्न जान्ने स्मिताका कवितामा एक्काइसौ शदीको नेपाल बोलेको छ । त यो बोलीलाई कविताकै रुपमा सुन्न र पढ्न पाउँदा म भाग्यमानी भएको छु ।
मानवशालामा कैयन विचारहरु कविता बन्न पनि आउछन, नारा बन्न पनि आउछन तर यसलाई कारिगरीले मात्र चिन्न सक्छ । एउटा लोकप्रसिद्द घटना पनि छ, कविताका बारेमा कवि र चित्रकारको । इतिहास यस्तो छ – चित्रकार डेगाले कवि मलार्म्मेलाई भने, ‘अजीव छ, तिमीहरु लेखकको धन्धा ! मसित यति धेरै विचारहरु छन्, तर ख्वै, म लेख्न सक्तिन।’ डेगाको यो विचार सुनेर मलार्म्मेले तत्काल भने, ‘प्रिय डेगा, कविता विचारले होइन, शब्दले बन्छ । ‘
वास्तवमा सृजन सङ्घर्ष विचारले होइन, शब्दले र भाषाले जोडिएको हुन्छ । सायद त्यसैले नै होला, स्मिता मातृभाषाका निम्ति पनि एक पाइला अघि सरेकी छिन् । एक महान् विचारक सिद्दीदास महाजुले भनेका छन् :
भाषा बाँचे जाति बाँच्छ
जाति बाँचे देश ।
कविताले अब त्यो बाटो पनि तय गर्नु पर्छ । कवि स्मितालाई मातृभाषाको रक्षाका निम्ति सारा आमाले शक्ति देऊन् – यही शुभकामना राख्छु । जय मातृभाषा !
– प्रकाश सायमी
३१ मार्च २००९
गोधुली संसार, सैबु ८, ललितपुर
______________________________________________________________________________________________________________
कवि हुँदा पनि
उत्तिकै सुहाउँदो रहेछ उनलाई
स्निग्ध अनुहारमा खेलिरहने उस्तै स्निग्ध मुस्कान । एउटा कोमल वयकी सुशील स्मिता । प्रतिभाशाली छ उनको मस्तिष्क र परादरको अजस्र आग्रहले विजय हृदयकी धनी । उनी संगको पहिलो भेट नै विशेष लागेको थियो, दिन पनि विशेष नै थियो – गत वर्षको पुस्तक दिवस, १० अप्रिल, २००८ । एउटा उल्लेख्य साहित्यिक जमघटका बीच पत्रकारिताको भूमिकामा अनुबद्द उनी म संग साक्षात्कार भएकी थिइन् र उनको सरल र निष्ठापूर्ण असल मानवीय व्यक्तित्वले म प्रभावित भएकी थिएँ । झन्डै एक वर्षपछि उनले मलाई फोन गरिन, नाम भन्ना साथ् मैले उनलाई आफूभित्र एक परिचितको रुपमा पाएँ । सायद उनको मनमा पनि त्यो भेट र हामीबीचको अल्पवार्ताको न्यानो आभा बाँकी रहेछ ।
केही समयदेखि उनका लेखहरु ‘कान्तिपुर’ दैनिकमा पढिरहेछु । बन्दै गएको हात र उठ्दै गरेको व्यक्तित्वका माझ उनको अर्को परिचय – कविको, यति बेला म मेरा आँखामा समेट्दैछु । लाग्दै छ, कवि हुँदा पनि उत्तिकै सुहाउँदो रहेछ उनलाई । उनको निर्दोष र शान्त आँखाको रहस्य ममा विदित भएको छ आज – स्मिताका कविताका सच्चा पृष्ठभूमिबाट हुर्कदैछिन, यथार्थको गहिरो अनुभूति उनका कविताले बलियो गरी बोकेका छन् र उनका हृदयको प्रतिबिम्बमा उनका १८ थान कविताहरु हाहाकार बीच बेग्लै यात्रा तय गरिरहेझैं प्रतीत हुन्छन । तिनमा परिवर्तनका प्रशस्त झिल्काहरु छन्, दिपावलीका पटकाका मनोरम झिल्काहरुले झैं ती कसैलाई नपोल्न सौन्दर्यको प्राण भरिरहेछन् प्रसिद्द चिन्तक शिव खेराले भने झैं – ‘Winners don’t do different things, they do differently.’ सन्दर्भमा उनी पनि केही भिन्दै परिचयको बीउ रोप्दैछिन ।
विश्व साहित्यकै पहिलो विधा कवितालाई प्राय: सबै स्रष्टाहरुको लेखकीय जीवनको आरम्भ विधाका रुपमा लिइन्छ, भइदिएको पनि यस्तै नै छ । तर काव्यिक निजत्वले कविको पहिचान बेग्लाबेग्लै हुन्छ, एउटै आमाका सन्तानहरु पनि आ-आफ्नै मौलिकताले चिनिएका हुन्छन । स्मिताका कवितामा पनि उनको भाव, कल्पना, बिम्ब र शैलीको शुषुप्त नौलोपनले ठाउँठाउँबाट चियाइरहेको बोध हुन्छ । उनलाई पनि थाहा नहुनेगरी उनको कविताले समयका चित्रहरुको स्केच बनाएका छन्, उनमा त्यो स्केचमा सुहाउँदो रङ भर्ने कला छ, त्यसमा विस्तारै निख्खार आउनेछ । उनका कविताहरुमा उनको दृष्टिदर्शन भौतिक जगतको अनुगमनमा निकै सचेत छ । शब्दका प्रदुषणहरुले आत्माको ओजोन क्षतिग्रस्त भएर भड्केको सुक्ष्म अनुभूति छ उनमा । मान्छेको मस्तिष्कबाट उठेको अहमको आँधीले भावनाको वर्षातलाई जीवनहरुबाट हुत्याउँदै लगेको विषम परिस्थितिको संक्षिप्त तर सारपूर्ण प्रस्तुति छ उनका कवितामा ।
कविता संग्रहलाई सुहाएको छ उनकै रोजाइको शीर्षक – ‘जङ्गली फूल’ । फूल भनिसकेपछि त्यो जङ्गली होस् वा घरआँगनको, भूगोलको सिमानाले फूलको स्वाभावमा के असर पर्छ र ? कोमलता पर्याय फूल सुन्दरताको प्रतीक न हो, तर भोगाइको तहले शब्दका फूलहरुलाई असर पारिरहेका हुन्छन । फूल भीरमा पनि फुल्छ, फूलबारीमा पनि । अझ जङ्गलमा फुल्ने फूलले अन्यत्र भन्दा संघर्ष झेल्नु पर्छ फुल्नका निम्ति । ठूला ठूला रुखका सेपबाट फूलले यथेस्ट प्रकाश प्राप्त गर्न नसकेको हुन् सक्छ । यधपि आफ्नै संघर्षले प्राप्त गरेको अभीष्टमा मिल्ने स्वतन्त्रताको मूल्य के गमलाको फूललाई प्राप्त होला र ? यस अर्थमा स्मिताको ‘जङ्गली फूल’ भित्रको प्रत्येक थुंगाहरुमा स्वतन्त्रता र मानवताको स्थापनाका निम्ति आफ्नै प्रयासमा जुटेका छन् र सर्थकतातिर अभिमुख भैरहेका छन् । स-साना भए पनि आफैमा बान्की मिलेका थुंगाहरु मनमोहक हुन्छन । म भित्रको कविद्रष्टाले स्मिताको कविसिर्जनालाई निरन्तर बढिरहने पथगामी शब्दयात्रीका रुपमा अपेक्षा गरिरहेको छ ।
उनी मस्तिष्क र हृदयको यथोचित प्रतिशतमा शिल्पगत काव्यधर्म निर्वाह गर्न उद्दत छिन । भाव गाम्भीर्य उनका कविताका संवेदनाशक्ति उर्जा हुन् । सभ्यताको नाममा हुने कृतिमताको जन्जाल प्रति तीव्र असहमति राख्ने उनको विद्रोह छ :
ए जङ्गली फूल !
मलाई तेरो इर्श्या लाग्छ
तेरो स्वतन्त्र जिन्दगीदेखि
तेरो उदार सुन्दरतादेखी …
(‘ए जङ्गली फूलबाट)
स्मिताका कवितामा जीवनको असीम सौन्दर्य प्राप्त गर्ने उत्कट अभिलाषा भेटिन्छ । कविता भनेकै भीडबाट जोगाएर लैजाने गन्तव्यको सहयात्री हो उनको लागि । उनलाई बिर्सिएका धेरै कुरा सम्झने मन छ । आफ्नो परिचयको जगजमिन पहिल्याएर गर्व गर्ने युवा-आकांक्षाको खडेरीमा उनको उपस्थितिले नयाँ पालुवाहरू पलाउने वसन्तको आगमनको संकेत दिएझै बोध हुन्छ । फेरी यथार्थको अनपेक्षित काँढेतारले उनको चाहनाको गोरेटोमा वार लगाएको घायल अनुभूति दिन्छ अनायासै :
गुराँसका थुंगाथुंगाबाट रस चोर्दै
पखेटा फिंजाएर आकाशगंगामा रम्ने
ज्ञानले निहुरिएका रुखमा बसेर
नलेखिएका इतिहासका कथा सुन्ने…
जब यथार्थ मेरा चाहना संग ठोकिन्छ
म साङ्लाले बाँधिएको हुन्छु
अपराधिझैं कालकोठरीमा थुनिएको हुन्छु…
(स्वप्निल चाहना र यथार्थबाट)
आजको मान्छे जे देखिन्छ, त्यो ऊ हुँदैन र जे देखिंदैन, त्यो ऊ हुन्छ । इमान्दारिता जस्तो ठूलो कुरालाई आजको मान्छेले आफ्नो स्वाभिमानको झोला संगै कतै बगरमा फालेर हिंडिसकेको छ र त उसमा अन्तत: लाचारी, नैराश्य र हीनताबोधको छटपटी सिवाय केही बाँकी रहँदैन । यी हरफहरुको छायामा तिनै द्वैध चरित्रहरूको तस्विर प्रतिबिम्बित छ :
मेरो छायाँ
विस्तारै बिलाउँदैछ
—————————–
उनको अटेरीपन
मेरो लाचारीपन
————
छायाँ नै रहेन भने
म केलाई रहेँ र !
(मेरो छायाँबाट)
कविता बाँच्नु र कविता रच्नु दुई अलग कुरा हुन् । वरिपरि कविताको बतास गुन्गुनाइरहेको अनुभव सम्भवत: सबैसंग हुन्छ । तर त्यस गुन्गुनाहटको अर्थ पहिल्याएर शब्दको मूर्तिमा कलात्मक शिल्पले कुँद् ने कला असामान्य कुरा हो, त्यसैले सच्चा कविमा दिव्य शक्ति हुन्छ भन्ने गरिन्छ । त्यो दिव्यता प्राप्त शिल्पीले मनको जलनलाई मत्थर पार्न सक्ने खुबी राक्छ । शरीरको चोट क्षणिक हुन्छ, उपचार पछि त्यो निको हुन्छ र केही समय पछि त्यो दुखाइको आभास पनि अपरिचित लाग्दै जान्छ । स्रष्टाले मनको दु:खमा आनन्द प्राप्तिका लागि सिर्जना गर्नु सृष्टिको नियम पनि हो, सिर्जनाको धर्म पनि हो ।
यस अर्थमा कवि स्मिता मगरका कवितामा मनको गहिराइ भेट्ने प्रयाप्त कोसिस देखिन्छ र पनि कतै-कतै आक्रोशका रागहरुले उनको कोमल कविलाई पराजित गरेको छ, जस्तो उही वशिष्ठमा दुर्वासाको रुपान्तरण उल्लेख्य लाग्दैछ, ‘अन्तरहृदयको श्राप तँलाई’ शीर्षकको कविता । त्यसैले त उनी यस युगको विसंगतिले सिसिफस नियति बाँच्न विवशहरुको तर्फबाट काव्यिक अदालतमा बहस गर्न चाहन्छिन । रामहरुको विलय भएको यो युगमा नारीलाई मात्र सीताको रुपमा खोजिरहने समाज प्रति उनको विरोधाभास छ । उनको सोचमा सामाजिक समानताको अपेक्षा छ, उनको खोजमा परिवर्तनको अधैर्य प्रतीक्षा छ । यति हुँदाहुँदै पनि सापेक्षताको चक्रब्युहबाट बाहिर निस्कने विशुद्द रहर बोकेका छन् उनका कतिपय कविताले । स्मिताका स्वाभावजन्य सौन्दर्यको सर्वनाम हुन् – तिम्रो नजरमा, म तिमीविना जस्ता कविताहरु ।
समयको प्रतिध्वनी हुन् आज लेखिने कविताहरु । स्मिताले पनि त्यही आभास भरेकी छिन यी शब्दका आवाजमा । म कोइली बनी गाउन चाहने, तँ न्याहुली बनाई रुवाउने असमानता र बन्धनका चेपबाट उन्मुक्तिका आकांक्षाले ब्युँझिएका उनका छोटा छोटा आयाममा संरचित यी कविताहरु उनको कविता यात्राका जग प्रतिष्ठा हो । जग बलियो भए घर बलियो हुन्छ । स्मिताले बलियो भवनको दीर्घ संकल्पले यो सानो घरको निर्माण प्रकिया थालेकी हुन् भन्ने मलाइ लाग्छ र यो जग पूजामा मलाई आत्मीय सहभागिता दिएकोमा म उनीप्रति आभारी छु । आउने समय उनको लागि संघर्षपूर्ण नहोलान, यो भन्न ग्राहो छ , तर पुनको उत्साह र लगनको साक्षी बसेर यति भन्न सक्छु – स्मिताको काव्य यात्रा निरन्त रहनेछ । हार्दिक शुभकामना !
डा. गीता त्रिपाठी
विश्व कविता दिवस
१२ मार्च २००९
बालुवाटार
________________________________________________________________________________________________
मेरो भन्नु
म भाग्यमानी !
साहित्यकार मञ्जुल सरले सही भन्नुभएको थियो – मेरो पहिलो कवितासङ्ग्रहमा । मैले पाएको जस्तो परिवार, अग्रज, साथी संगीको माया, प्रेरणा र साथले गर्दा मलाई साँच्ची आफै भाग्यमानी लाग्छ । उहाँहरुको कारणले नै म आफ्नो अस्तित्वमा रमाउनु पाएको छु । त्यसैले मलाई ‘म’ बनाउनु भएकोमा उहाँहरुप्रति हृदयदेखि नै जङ्गली फूलको माध्यमबाट कृतज्ञता टक्र्याउँछु ।
सबै भन्दा पहिले मेरा पूजनीय आमाबुबा, दाइभाउजु, कुसुम र अजयलाई उहाँहरुको माया, प्रेरणा र मार्गदर्शनका लागि म धन्य छु । यसका साथै मलाई कविता लेख्नका लागि सधै झक्झकाइराख्ने मञ्जुल सर, प्रकाश सर, व्याकुल माहिला र गीता म्याडमप्रति पनि हार्दिक सम्मान व्यक्त गर्दछु ।
कवितासङ्ग्रह प्रकाशनका लागि आर्थिक सहयोग उपलब्ध गराउने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई हार्दिक धन्यवाद छ । त्यसैगरी कवितासङ्ग्रहमा अमूल्य प्रेरणात्मक भूमिका लेखिदिनुहुने आदरणीय प्रकाश सायमी र डा. गीता त्रिपाठीलाई विशेष आभार व्यक्त गर्दछु । सुन्दर आवरणका लागि टेकवीर मुखिया, अंग्रेजी अनुवादका लागि मेरो गुरु केशव शर्मा र अठार मगराँत मगर भाषा अनुवादका लागि बमकुमारी बुढामगर र कर्णबहादुर बुढामगरलाई धन्यवाद दिन चाहन्छु ।
यस सङ्ग्रहमा संकलित कविताहरु म कक्षा ८ मा अध्ययन गर्दा देखिका भएकाले कविताहरु पनि त्यस्तै छन् । ‘जङ्गली फूल’मा मेरो आशा, चाहना र क्रोध पोखिएकाछन् । कुनै निश्चित वाद या सिद्दान्तलाई जानेर पछ्याएकी छैन, सायद त्यसैले होला, धेरैलाई मेरो कविताका हाँगाबिगाहरु बुझ्न गाह्रो हुन् सक्छा । तर, भानिन्छा नि, हरेक लेखकले आफ्नो लेख सिध्याएपछि त्यो लेखकको भूमिका अन्त्य हुन्छ । त्यस पछिको भूमिका भनेको पाठकहरुको हो । यसलाई जे-जसरी बुझिदिए पनि यो कवितासङ्ग्रहको सार्थकता रहनेछ । धन्यवाद !
– स्मिता मगर
१५ जुन २००९