टुँडिखेलमा ताप्लेजुङ

काठमाडौं, ओल्लो कुनामा मगमगाएको तोम्बा, पल्लोमा मुखै रसाउने बङ्गुरको भुटन र चौरको बीचमा लिम्बूहरूको नाँचौंनाचौं लाग्ने धान नाच । ताप्लेजुङको यो रंगरस शुक्रबार दिउँसो काठमाडौंको टुँडिखेलमा देखियो ।

शुक्रबार सुरु दुईदिनेे ताप्लेजुङ मेलामा सुदूरपूर्वी पहाडी जिल्लाका एक होइन, अनेक झलक देख्न पाइयो । याकको छुर्पी, हातबाट बनेका धागाका कपडा, जडिबुटी औषधिसहितका ७५ स्टल आफैंमा घुमिरहुँझैं थिए । पहिलो दिनमा नै टुँडिखेलमा ठूलो जमात उपस्थित थियो । सांस्कृतिक भेषभूषामा सजिएर आएका युवायुवती पनि हूलमा थिए । त्यही भिडमा धाननाच हेर्दै बङ्गुरको मासु स्वादिलो मानेर खाइराखेकी सोलुखुम्बुकी दिलकुमारी राईले भनिन्, ‘ताप्लेजुङको मेला कस्तो होला भन्ने कौतूहल मेटाउन टुँडिखेलभित्र छिरेकी थिएँ, एकदम रमाइलो भइराखेको छ ।’

‘ताप्लेजुङलाई चिनौं, ताप्लेजुङसँग रमाऔं’ नारालाई अझ बुझाउँदै मेला संयोजक बलबहादुर तामाङले भने, ‘ताप्लेजुङमा आन्तरिक तथा बाह्य पर्यटक आकषिर्त गर्न मेला आयोजना गरिएको हो ।’ गत फागुन दोस्रो सातामा फुङलिङमै ताप्लेजुङ महोत्सव भए पनि अरू भेगका दर्शकको उपस्थिति त्यति नदेखिएकाले सबैलाई सुदूर थलो चिनाउन काठमाडौंमा अर्को मेला आयोजना गरिएको उनले बताए ।

मेलामा धाननाच नाचिराखेकी गायिका झुमा लिम्बूले जिल्लाका आफन्त भेट्न पाएकामा खुसी हुँदै भनिन्, ‘धेरै समयपछि एकैपटक मेरा जिल्लाका यति धेरै आफन्तजन भेट्दै छु, खुसी लागेको छ ।’ उनले यो मेलाले ताप्लेजुङका नयाँ कलाकारलाई नयाँ अनुभवका साथै जिल्लाबाहिरका दर्शकसामु चिनिने अवसर दिने बताइन् ।

मेलामा महिला र पुरुष दुवैको डोरी तान्ने खेल प्रतियोगिताले यता खेलाडीलाई मैदानमा उडेको धुलोले फुस्रैफुस्रो मात्र बनाएन, डोरी तान्दा लडिबुडी भएका खेलाडी र तिनलाई हेरिराखेका दर्शक पेट मिचिमिचि हाँसेका थिए । अर्कोतिर भने पुरुष भलिबल प्रतियोगिताको जोस र दुवै टिमले जित्नका लागि बगाएको पसिनाले दर्शकलाई घरिघरि ताली बजाउन बाध्य बनाएको थियो ।

मेलामा ताप्लेजुङका प्रतिभा मनोज गजुरेल, नवीन सुब्बा, दीपक लिम्बू, जुना प्रसाईंलगायतका कलाकारको जमघट भने शनिबार हुँदै छ ।

मेला प्रसारप्रचार समिति संयोजक टंक श्रेष्ठले तराई बन्दका कारण जिल्लाबाट आउनुपर्ने जति सामान नआएको बताए । ‘सबै सरसामान हवाईमार्ग र एम्बुलेन्सबाट ल्याइएका हुन्, बेच्ने सामान त ल्याउनै पाइएन,’ उनले थपे ।

Kathmandu
March 15, 2009

Published by

Leave a Reply

Your email address will not be published. Required fields are marked *