I write poem whenever I feel entrapped inside myself. One of the best ways that I found to escape from this kind of feeling is to express it in forms of poem. So far, I have published two books. First one was: “Smitaka Kabitaharu” (A collection of Poems by Smita Magar) while I was just 14 years old, and studying in 8th grade in 2002. And second one is “Jangalee Phool (Wildflower)" in 2009. On this site, I have put few selected poems from both collections for you. Enjoy!

JFool








मैले नखोजेका शुभ-चिन्तकहरू !

 

 

मेरो आँशु उनका लागि शितका थोपा

हेर्नेहरू रमाए

लेखन सक्नेहरू लेखेर महान् कवि बने ।

धोङ्गीहरू,

आँशुलाई मोति भनेर रमाए

महान् कवि बने, महान् पुरूष बने ।

मेरो आँशु...मेरा शुभ-चिन्तकहरू, ति धोङ्गी मानिसहरू !

 

मेरो स्वच्छ घर धमिलाई दिए

हिलो भरिदिए

, मलाई त्यसमा निसास्सिन छाडिदिए

जब आफ्नो बलबुटामा हिलो बाहिर निस्केर फुले

धोङ्गीहरू

लाज पचाउन प्रशंसा गरे,

प्रेरणाको स्रोत बनाए,

मेरो बाध्यता... मलाई जिउँदै गाड्नेहरूले जे बनाए... त्यो बनें ।

 

म प्रकृतिमा मधमरूत हाँस्दा

उनीहरूको लागि मेरो उच्छृङखलता

पाखण्डीहरू

मेरी आमाबाट छिनेर आफ्नो घरमा सजाए

मेरा हाँगाहरू काटे, मेरा काँडाहरू टाँछे

अनि,

आफैलाई मेरा सुरक्षाका देवदूत बनाए,

कथै...मेरा शुभ-चिन्तकहरू, ति धोङ्गी मानिसहरू !

मेरो आँशु हेर्दै रमाए

मेरो बाध्यता, मेरो दु:ख, हेर्दै प्रशंसा गरे !

मलाई निरिह बनाए, मलाई निमुखा बनाए !!

मेरा शुभ-चिन्तकहरू, ति धोङ्गी मानिसहरू !!!

 

***

 

(जङ्गली फूल कविता-सङ्ग्रह २०६६ बाट)

***

 

हुरी

 

मैले तिमीलाई लेखेको थिए

एकदिन हुरी आउने छ ।

यही ठाउँमा,

यही निदाएको बस्तीमा ।।

 

तर, त्यो सागर लिएर आउला

मलाई लागेको थिएन ।

उड्नेलाई उडाउँदै,

बग्नेलाई आफूसँगै बगाउँदै ।।

 

सागरले बस्तीमा आगो लगाउला

सम्भव लागेको थिएन ।

समयको माग, बुझ्न नचाहानेलाई टुक्राउँदै

झुक्न नचाहानेलाई झुकाउँदै ।।

 

मैले सोचेको थिएन

ऊ यसरी उर्लेर लम्केला ।

आफूले बुनेको गन्तव्यमा,

आफनो लक्ष्य भेट्न, त्यो क्षितिजमा ।।।

***

(जङ्गली फूल कविता-सङ्ग्रह २०६६ बाट)

 

Book

 

 

 

----------

स्मितालाई स्वागत ....!

       स्मिताले कविता लेखिन् र लेखिरहने निधो गरिन- राम्रो ! स्मिताले सानो, चिटिक्क परेको कविता सङ्ग्रह रचना गरिन् र त्यसलाई प्रकाशन गर्ने मौका पनि पाईन्- त्यो पनि राम्रो ! मैले सोधेँ  उनलाई र थाहा पाएँ, उनले घरमा र स्कूलमा, दुवै ठाउँमा, प्रेरणा प्रदान गर्ने अग्रजहरू पनि पाएकी रहिछन् । त्यस्तो घर, त्यस्तो स्कूल र त्यस्ता अग्रजहरू पाउनु पनि अति राम्रो ! 

       मैले उनका कविताहरू पढेँ- उनलाई भेट्नुभन्दा पहिलेनै । लाग्यो उनी कलिलो उमेरकै हुनुपर्छ किनकि कवितामा प्रतिभा देखिए पनि कलिलोपन प्रशस्तै थियो । राम्रा कविताहरू, कविता सङ्ग्रहहरू पढ्न नपाएको, कविता लेखनका निमित्त पाठकहरूले आशगर्ने कलात्मकता कलिलै भएको झल्को कविताहरूमा जताततै पाइन्थ्यो । भेटेपछि थाहा भयो- मैले सोचेको ठीकै रहेछ ।

       भेटेपछि मैले उनलाई भनेँ- ए स्मिता कविता लेखने मानिसले ठाडै गाली गर्नु हुँदैन नि ! त्यो त गालीगलौज भइहाल्यो नि कविता कहाँ भयो र ?’ उनी गंभिर देखिइन् मुसुक्क हाँसिन् । उनी विनम्र रहिछन् भनेर मैले चाल पाएँ । मलाई विनम्र कविहरू मन पर्छ किनकि उनीहरूले आफ्नो गल्तीवाट चाँडै मात्र होइन राम्ररी, दीगो गरी पनि सिक्छन् ।

       मैले भनेँ- असल कविहरूले उपदेश पनि फलाक्दैनन् । उनीहरू त मनमा लागेको कुरा पाठकहरूलाई साथीले जस्तो भनिदिन्छन् । कहाँ ठूलाबडाले जस्तो उपदेश फलाक्छन् र?’ त्यति बेर पनि उनी गंभीर भइन्, मुसुक्क हाँसिन् ।  

       मुसुक्क हाँसेर अनि ह्दयङ्गम गरेर कमी महसुस गर्नेहरू भविष्यमा साँच्चै महान व्यक्ति हुन्छन् भन्ने लाग्छ मलाई । उपदेशको, गालीको, नाराको आफ्नो ठाँउमा ठूलो महत्व हुन्छ, हुनु पनि पर्छ तर उपदेशको फलाको, गालीगलौजको कर्कसो नाराको ठाडोपनवाट कविताले चाँहि मुक्ति पाउनै पर्छ। कविता ह्दयको भाषाले, अनुभूतिको भाषाले लेखिनु पर्छ। पढ्दा त्यो यति स्वभाविक, यति जीवनमय होस् जस्ले चसक्क छोओस् ।

       आऊ तिमी’, ‘मेरो जीवन’, ‘तिमी नहुँदा’, काँडाको झ्याङ र लक्ष्य’, ‘म आउँदै छुशीर्षकका कविताहरूले मलाई निक्कै छोए- राम्रा लागे मलाई ती कविताहरू । मेरो विश्वास नखोजत मलाई एउटा मीठो गीत जस्तो लाग्यो कविता भन्दा ।

       कतिपय कवितामा सोझो-सपाट वर्णन पनि पाइन्छ तर यो उनको पहिलो कविता सङ्ग्रह हो। उनले राम्रा कविता, कविता-सङ्ग्रहहरू पढ्ने छिन्, सिक्ने छिन् र अर्को सङ्ग्रहलाई धेरै माझ्ने छिन् । अहिले हार्दिकतापूर्वक उनलाई स्वागत गरौं कविताको संसारमा- भविष्यमा झलमल्ल चम्कने एउटा तारा हुन् भन्ने विश्वास गरेर ।

       कविता कसरी लेखनु पर्छ भनेर मैले स्मितालाई बताएँ, अवश्य बताएँ । अभिधा, लक्षणा, व्यञ्जनाका उदाहरणहरू पनि प्रस्तुत गरेँ, अवश्य गरेँ । तर मलाई स्मिता मञ्जुल भएको मन पर्दैन । महाकवि देवकोटा, कवि गोपाल प्रसाद रिमाल, युग कवि सिद्दिचरण श्रेष्ठ, कवि तथा उपन्यासकार पारिजात, कवि विमल निभा कोही भएको पनि मन पर्दैन । स्मिता स्मिता नै भएको मन पर्छ । तर, साँचो अर्थमा स्मिता हुन उनले आफ्नो परम्परा थाहा पाउनु पर्छ त्यसैले मैले स्मितालाई भनेँ- स्मिता अध्ययन गर, अभ्यास गर । आफूलाई चिन र अघि बढ ।

       भविष्यमा स्मिता राम्रा-राम्रा कविताहरू लिएर मकहाँ आउने छिन् र भन्ने छिन्- हेर्नुस, तपाईको मायाले म यहाँसम्म आइपुगेँ । त्यो दिन मेरालागि साह्रै सुखको दिन हुने छ।

--मञ्जुल

२०५८ फागुन २०

--------------------------

 

हाम्रो सामाजिक परम्परामा विध्यमान नारी-पुरुषवीचको भेदभावपूर्ण स्थिति, राजनीतिक कारणले बढ्दो हिंसा-आतङ्क एवं मानव-जीवनमा भोगिने तीता-मीठा कुराहरूले वहिनी स्मितालाई कवयित्री बनाएको छ । उनको यस पहिलो कृति भित्रका कविताहरूको शिल्प र शैली पक्ष जेजस्तो भए पनि नेपाली साहित्य प्रति उनको गहिरो अभिरूचि र यस क्षेत्रमा केही योगदान पुरयाऊँ भन्ने असल भावना रहेको प्रष्ट बुझिन्छ । यसमा सफलता पाउन असंभव छैन तर गहन अध्यन र निरन्तर साधनाको आवश्यकता छ ।

                                                       ---व्याकुल माहिला

 --------------------------

प्रकाशकीय

 

 

       साहित्यिक प्रकाशनको क्षेत्रमा खडेरी परेको वर्तमान परिस्थितिमा यस क्षेत्रमा थोरै नै भए पनि थप योगदान पुरयाऊँ भन्ने उद्देश्यले यस चाँदनी प्रकाशनको स्थापना हालै गरिएको हो । स्थापनाको प्रारम्भिक चरणमै प्रकाशनको दोश्रो कृतिको रूपमा स्मिताका कविताहरूशीर्षकको यस कविता सङ्ग्रह प्रकाशन गरिएको छ ।

       स्मिता मगर रूकुमको एउटा गाउँमा जन्मिएर हाल राजधानीमा माध्यमिक तहको शिक्षा आर्जन गरिरहेकी एक प्रतिभावान किशोरी हुन् । उनी नारी दमन, सामाजिक उत्पीडन, लैंगिक असमानता तथा सामाजिक विकृतिप्रति शाब्दिक प्रहार गर्दै निरन्तर आफ्ना भावनाहरू कविताको रूपमा पोख्दिरहिछिन् ।

       उनको साहित्यप्रतिको अभिरूचिलाई अझ बढी प्रगाढ र सार्थक बनाउन उनको पहिलो कृतिको रूपमा यो कविता-सङ्ग्रह प्रकाशन गरेर यस प्रकाशन आदरणीय पाठक समक्ष उपस्थित भएको छ ।

       आशा गरौं, नवोदित कवयित्री स्मिताद्वारा अनुभव गरिएका अँध्यारो पक्षलाई चाँदनी प्रकाशनको प्रकाश र स्मिताका कवितारूपी उज्यालोले छिचोल्न सक्नेछ । स्मितालाई हार्दिक शुभकामना !

२०५८ फागुन २२                                                       

                                                          ओम थपलिया

                                                          चाँदनी प्रकाशन

 

-----------------------

दुई शब्द

 

       साहित्यतर्फ मेरो अभिरूचि सानैदेखि थियो । विशेष रूपले भने २०५५ सालताका मेरो माहिला दाइ कुसुमले ल्याइदिनु भएको याङमोको उपन्यास पढेपछि लगाव बढ्यो । त्यसपछि लगातार उपन्यास, इतिहास, कविताहरू पढ्न शुरू गरेँ । कविता लेखनु मेरो ह्दयदेखिको चाहाना हो । कविताद्वारा मेरो ह्दयमा लुकेका थुप्रै चाहना एवं भावना पोख्नसक्छु । म कविता किन लेख्छु भन्ने प्रश्नमा मेरो उत्तरले मलाई नै सन्तुष्ट बनाउन सक्दैन ।

       कविता लेख्ने प्रेरणा सबैभन्दा पहिले त मैले मेरो परिवारका मान्यजनहरूबाट पाएँ । यसका साथै मेरो स्कूल होलील्याण्ड इन्टरनेशनलका गुरूवर्गबाट पनि उत्तिकै पाइरहेकी छु । मेरो कविताबाट म जहिले पनि नारी जागृति र सामाजिक चेताना जगाउन चाहान्छु । म मेरो कवितामा हाम्रो समाजको वास्तविकता चित्रण गर्न खोज्छु, नारीको जीवन कति दु:खमय छ त्यो देखाउन चाहान्छु ।

       मेरो कविताबाट मुख्य रूपले हामी समय अनुसार परिवर्तन हुनुपर्छ, प्राचीनकालमा जस्तो अन्धविश्वासमा आँखा चिम्लेर लाग्नु हुँदैन, मान्छे भएपछि सत्यतालाई खोज्नुपर्छ, अन्धकारलाई छोडेर उज्यालोतर्फ लाग्नु पर्छ । मान्छे- मान्छेबीच समानताको भावना हुनुपर्छ, नारीले आफ्नो अधिकार आफैले खोज्नुपर्छ भन्ने भावना राख्न खोज्छु । देशको यो राजनीतिक एवं सामाजिक दुरावस्था देख्दा मन रोएर आउँछ तर आफूले केहि गर्न नसक्दा आँखाबाट आँसु बगाउनुभन्दा कवितामार्फत् आफ्ना पीडापूर्ण भावनाहरू पोख्नु उपयुक्त ठान्छु ।

       यसरी लेखिएका मेरा कविताहरू सङ्ग्रहको रूपमा प्रकाशन गर्ने मेरो ठूलो धोको थियो । तर, मैले मात्र चाहेर त्यो सम्भव थिएन । मेरो सौभाग्य मान्नुपर्छ, यसमा मेरो जति चाहना थियो त्यसभन्दा बढी मेरो दाइ दुर्लभ र भाउजू पद्माको थियो ।  उहाँहरूकै आशीर्वादले मेरो कविताहरूले यसरी कृतिको रूप लिन पायो । यस सङ्ग्रह निकाल्न मैले मेरो विध्यालयका डी. बी. थापा, लता के.सी., दीपक अधिकारी, हिराध्वज मल्ल, पुरूषोत्तम पोख्रेल लगायत सबै गुरूवर्ग र साथीहरूबाट ठूलो प्रोत्साहन पाएको छु । अझ यस बढी प्रेरणा र स्नेह ओम थपलिया दाइ र लोकप्रिय कवि मञ्जुल सरबाट पनि पाएकी छु ।

       यस कृति प्रकाशनको क्रममा थुप्रै महानुभावहरूले मलाई सहयोग पुर्याउनु भएको छ । जसमध्ये मेरो कवितामा आवश्यक काँटछाँट गरिदिनुहुने दाइहरू व्याकुल माहिला र कृसु क्षेत्री, सुन्दर आवरण बनाइदिनुहुने दाइ टेकवीर मुखिया, भूमिका लेखिदिनु हुने मञ्जुल सर, कम्प्युटर टाइप तथा सेटिङ् गरिदिनुहुने ओम एड र ग्रेजुएशन कम्प्युटर इन्स्टिच्युटका सम्पूर्ण दाइ तथा दिदीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । म जस्ता सिकारूका कविताहरू यस रूपमा प्रकाशन गरिदिने चाँदनी प्रकाशनप्रति ह्दयदेखिनै धेरै धन्यवाद व्यक्त गर्दछु ।

       यो मेरो पहिलो प्रयास भएकोले यसमा धेरै गल्ती तथा कमजोरीहरू पक्कै पनि होलान् । मेरो लक्ष्य एउटा सङ्ग्रह निकाल्नु मात्र नभएर यस क्षेत्रमा आफूले पनि सक्दो योगदान पुर्याउनु हो । त्यसैले यस सङ्ग्रहमा भएका कमीकमजोरीहरू औँल्याइदिनु भई सहयोग पुर्याइदिनु हुन आदरणीय पाठकवर्ग एवं विज्ञजनप्रति हार्दिक अनुरोध गर्दछु ।

२०५८।११।१५                                             स्मिता मगर

----------------------------------

पुकार

 

मलाई माफ गर्नुस् आमा

आँखा खोल्नुस्

अरूको लागि मात्र कति मुर्छा पर्नुहुन्छ ?

तपाई आफै पनि बाँच्नु पर्छ

तपाईले फेरि यहाँ बुद्ध जन्माउनु पर्छ

शान्तिलाई मार्न खोजिरहेछन्

यसलाई जोगाइदिनु पर्छ

मान्छे देखि मान्छे डराउन पर्ने भयो

कुन बेला कत्तिखेर

निर्मम प्रहारहरू भोगेर

निर्दोषहरूले ज्यान गुमाउनु पर्ने हुन्छ

कति मान्छेहरू तरबार भएका छन्

कति मान्छेहरू बेघरबार भएका छन्

यो के भएको आमा ?

मैले शान्तिको लागि

ईश्वरसँग पुकार गरेँ

तर किन आमा

आफू आफैमा यो घात पर्तिघात ?

कसले कसलाई के जित्ने युद्ध ?

उठ्नुस आमा

अझै शान्तिप्रेमी सन्ततिहरू जन्माउनु पर्छ ।

***-------***

साभार: स्मिताका कविताहरूकविता-सङ्ग्रह- २०५८

------------------------

 

शिक्षा दिवसमा खाते

 

शिक्षा दिवस भन्छन्

खै, मलाई त केही थाहा छैन

के- के लेखिएको कागज टाँस्दै हिँड्छन्

खै, मलाई त केही पढ्नै आउँदैन

मान्छेहरू जुलुस निकाल्दै हिड्छन्

खै, मैले त बुझ्नै सकिन...

 

सबैलाई शिक्षा दिऊँ भन्छन्,

सबैले शिक्षा पाउनु पर्छ भन्दै हिँद्छन्

खै, मैले त शिक्षा नै पाइन

किनभने

म त

 

यो भव्य शहरको सडकमा

बेवारिस बाँच्ने

एउटा खाते बालक हुँ

आफ्नो जीविकाको लागि

कन्टेनर खोतल्छु

रात काट्नको लागि

सडकको चिसो पेटीमा

रित्तो आकाश ओढ्छु

 

मलाई लखेट्दै लखेट्दै

मलाई धकेल्दै धकेल्दै

मलाई झपार्दै पछार्दै

ठूलो जुलुस निस्किरहेको छ

सडकमा शिक्षा दिवसको ।

***

साभार: स्मिताका कविताहरूकविता-सङ्ग्रह- २०५८

-----------------------------

 

मेरो जीवन

 

मेरो जीवन

निष्पट्ट कालो रातजस्तै गुज्रिरहेछ

अनवरत हिँडिरहने पाइलाहरू

दोबाटा /चौबाटाहरूमा

गन्तव्यविहीन भएर

लड्खडाइरहेछन्

मनभित्रका अठोटहरू

खिइएकाछन्

विश्वासको खम्बाहरू भाँचिएका छन्

इन्द्रेणीका सिँढीहरू टेकेर

जून पुग्ने सपना टुक्रिएको छ

खै, कसले मेरो जिन्दगीको

सपनाहरू हरदिन चकनाचुर पारिरहेछ

म अन्योलै अन्योलमा बाँचिरहेछु ।

***

साभार: स्मिताका कविताहरूकविता-सङ्ग्रह- २०५८

--------------------------

 

म आउँदै छु

 

तिमीले खेलिराखेका

ती खोल्सा- खाल्सीमा

म खोला बनेर बगेर आउँदैछु

 

तिमीले सुसेलीराखेका

ती पाखा-पखेराहरूमा

म पवन बनेर आउँदैछु

 

तिमी रमाइराखेका ती दहहरूमा

म कमल बनेर उम्रिन लागिरहेछु

मलाई पर्खेर टोलाइराखेका

ती आँखाहरूमा

दीपक बनेर उज्यालो छर्न आउँदैछु

तिमीले रोपेका बिरूवाहरूमा

पानी बनेर बर्सिन लागिरहेछु

 

ती कन्दरामा

आज तिमी एक्लै विरहमा

रोइरहेका छौ होला

मरूभूमिका काकाकुल झैँ छटपटिँदैछौ होला

ए प्रियतम

म पनि

यो भीडको एकान्त त्यागेर

तिम्रै नजिक फर्केर आउँदैछु ।

***

साभार: स्मिताका कविताहरूकविता-सङ्ग्रह- २०५८

--------------------------

 

तिमी नहुँदा

 

तिमी नहुँदा

सिउनै नसकिने गरी

जिन्दगी फाट्न खोजेको छ

जिन्दगीका पाइलाहरू

बीच बाटोमै रोकिन खोजेको छ

जिन्दगीका पानाहरू

च्यातिन खोजेको छ

म फूलको थुँगाबाट

खसेको शीतको थोपा भएको छु

हरेक पल तिम्रो यादले रोएको छु

हिजोआज तिमीलाई गुमाएको छु ।

***

साभार: स्मिताका कविताहरूकविता-सङ्ग्रह- २०५८

-------------------------

 

मेरी भ्रुण छोरी

 

आज मैले

मेरी पेटकी भ्रुणछोरीलाई

अचेत अवस्थामा भेट्टाएँ

बल्लबल्ल

विस्तारै मरञ्च्याँसे आँखा खोलिन्

मैले खुशीले

उनलाई वात्सल्य दिदैँ सोधेँ-

प्रिय छोरी तिमी भाग्यमानी कि अभागिनी ?’

तिनले विस्तारै भनिन्-

आमा म अभागिनी !

मेरो आँखा रसाएर आयो

मेरो मुटु भक्कानिएर आयो

म छाती पिटी-पिटी रोएँ

उनी पनि निधार ठोकी-ठोकी रोइन्

मेरो भ्रुणको जीवन कल्पना गरेँ

यो समाजले छोरीलाई गर्ने

व्यवहारको याद गरेँ

छोरीलाई जन्मदिनु

अपराध महशुस गरेँ

रुँदै छोरीलाई फेरि प्रश्न गरेँ

के तिमी यहाँ आउन चाहान्नौ ?’

उनले भनिन्-

आमा ! हाम्रो समाज नर्क जस्तै हो

साँपभन्दा विषालु छन् मान्छेहरू

मौका मिल्नसाथ नारीलाई डस्छन्

त्यसैले अन्याय र अपराध सहेर बाँच्नुभन्दा

नजिन्मनु नै बेस हुन्थ्यो !

***

साभार: स्मिताका कविताहरूकविता-सङ्ग्रह- २०५८

-----------------------------

 

मेरो विश्वास नखोज

 

हाँगावाट खसेको फूलवाट

सुवास नखोज

आफ्नै जीवन उजाड भएको बेला

ह्दयमा बास नखोज

 

बादलमा फसेको जूनसँग

मुस्कान नखोज

साउने झरीमा खुल्ला

आकास नखोज

 

मेरै साथ रहन देऊ पीरहरू

छुटाउन नखोज

खाटा बसेको घाउ

उप्काउन नखोज

चट्टान बनेको ह्दय

पगाल्न नखोज

काँडा बनिसकेको छु

अँगाल्न नखोज

 

पहिरोमा फसेको बाटोसँग

लछ्य नखोज

आफै दोधारमा परेको बेला

मसँग विश्वास नखोज ।।

 ***

साभार: स्मिताका कविताहरूकविता-सङ्ग्रह- २०५८

--------------------------

 

काँडाको झ्याङ् लक्ष्य

 

जीवनको लक्ष्य पुग्न

कहिले गल्ली

कहिले गोरेटो

कहिले पाखा

कहिले पखेरा

कहिले उकाली

कहिलेराली

कहिले भन्ज्याङ्

कहिले चौतारी

कहिले देउराली गर्दै

धेरै बाटोहरू हिँडिसकेको छु

कतै फूलै-फूलको बगैँचा देखियो

कतै काँडै- काँडा टेकियो

लक्ष्य त क्षितिजपारिको

सुन्दर इन्द्रेणी रहेछ,

तर

काँडै-काँडाको झ्याङ्गमा

म अल्झिरहेको छु ।

***

साभार: स्मिताका कविताहरूकविता-सङ्ग्रह- २०५८

-----------------------

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map