
मैले नखोजेका शुभ-चिन्तकहरू !
मेरो आँशु उनका लागि शितका थोपा
हेर्नेहरू रमाए
लेखन सक्नेहरू लेखेर महान् कवि बने ।
धोङ्गीहरू,
आँशुलाई मोति भनेर रमाए
महान् कवि बने, महान् पुरूष बने ।
मेरो आँशु...मेरा शुभ-चिन्तकहरू, ति धोङ्गी मानिसहरू !
मेरो स्वच्छ घर धमिलाई दिए
हिलो भरिदिए
र, मलाई त्यसमा निसास्सिन छाडिदिए
जब आफ्नो बलबुटामा हिलो बाहिर निस्केर फुले
धोङ्गीहरू
लाज पचाउन प्रशंसा गरे,
प्रेरणाको स्रोत बनाए,
मेरो बाध्यता... मलाई जिउँदै गाड्नेहरूले जे बनाए... त्यो बनें ।
म प्रकृतिमा मधमरूत हाँस्दा
उनीहरूको लागि मेरो उच्छृङखलता
पाखण्डीहरू
मेरी आमाबाट छिनेर आफ्नो घरमा सजाए
मेरा हाँगाहरू काटे, मेरा काँडाहरू टाँछे
अनि,
आफैलाई मेरा सुरक्षाका देवदूत बनाए,
कथै...मेरा शुभ-चिन्तकहरू, ति धोङ्गी मानिसहरू !
मेरो आँशु हेर्दै रमाए
मेरो बाध्यता, मेरो दु:ख, हेर्दै प्रशंसा गरे !
मलाई निरिह बनाए, मलाई निमुखा बनाए !!
मेरा शुभ-चिन्तकहरू, ति धोङ्गी मानिसहरू !!!
***
(जङ्गली फूल कविता-सङ्ग्रह २०६६ बाट)
***
हुरी
मैले तिमीलाई लेखेको थिए
एकदिन हुरी आउने छ ।
यही ठाउँमा,
यही निदाएको बस्तीमा ।।
तर, त्यो सागर लिएर आउला
मलाई लागेको थिएन ।
उड्नेलाई उडाउँदै,
बग्नेलाई आफूसँगै बगाउँदै ।।
सागरले बस्तीमा आगो लगाउला
सम्भव लागेको थिएन ।
समयको माग, बुझ्न नचाहानेलाई टुक्राउँदै
झुक्न नचाहानेलाई झुकाउँदै ।।
मैले सोचेको थिएन
ऊ यसरी उर्लेर लम्केला ।
आफूले बुनेको गन्तव्यमा,
आफनो लक्ष्य भेट्न, त्यो क्षितिजमा ।।।
***
(जङ्गली फूल कविता-सङ्ग्रह २०६६ बाट)