|
मादीमा भेल आयो...
स्मिता मगर
तनहुँ, बर्खे भेलले धेरै कुरा बगाएर ल्याउँछ । पात-पतिङ्गर, ढुङ्गामाटो र रुखका ठुटा-दाउरा । तर तनहुँ दमौली छेउको मादीमा भेल उर्लेपछिको आनन्द बटुल्ने काइदा अर्कै छ ।
गाउँलेहरू एकसाथ हुल बनाएर नदीमा हेलिन्छन् र सुरु गर्छन् दाउरा बटुल्न ।त्योभन्दा रमाइलो त्यसबेला लाग्छ, जब उनीहरू दाउराका चिर्कटाझैँ हुर्केका माछा काँधमा बोकेर नदीबाट बाहिरिन्छन् । 'भेल आयो, अरूहरूले झैँ सिको गरेर माछा मारियो,' स्थानीयवासी अल्लारे अर्जुन रानामगरले खुसीको स्वरमा सुनाए, 'घरमा लगेर आमालाई कोसेली दिनुपर्ला ।'
मादीमा बाढी आएपछि माछा मार्न अभ्यस्त केहीकेही मछवारहरू जसै नदीमा हेलिन्छन्, सिकारूहरू पनि पानीमा फाल हानिरहेका देखिन्छन् । त्यही हूलमा १२ वर्ष उमेर ननाघेका स्थानीय बालिका संगीता, हीरा र शान्ति पनि भेलमा हेलिँदै देखिए । 'यो भेलमा हामी दाउरा र मुठा बटुल्नेछौँ, तर माछा भने ससाना मात्रै समात्न सक्छौँ,' उनीहरुले सुनाए । दाउरा बटुलेर बिक्री गर्न पनि सकिने र खर्चको जोहो हुने भएकाले उनीहरू मादीको भेलतिर तानिएका रहेछन् ।
रातभर दर्केको पानीले ल्याएको भेलले रमाएकी शान्ति रानाले आफूले बटुलेको दाउरा डोकामा मिलाउँदै भनिन्, 'मादीमा भेल आउँदा जात्रा लागेझैँ रमाइलो हुन्छ । भेलले बगाएका दाउरा त पाइन्छ नै, माछाको स्वाद पनि चाख्न पाइन्छ ।' शान्तिझैँ दाउरा र माछा समात्न आएका हीरा र संगीता पनि भेलले उर्लेको मादी बीचमा पुग्दावर्दा निथ्रुक्क भिजेका थिए ।
नदी किनारमा भएको यो चहलपहल देखेर पश्चिमाञ्चल क्षेत्रीय साहित्य सम्मेलनमा सहभागी हुन तनहुँ पुगेका पत्रकार शरद चिराग मादीको भेल र त्यहाँको भीड देखेर मदमस्त बनिरहेका थिए । बिहानपख घुम्न जाँदा नदी किनारमा देखिएको रौनकबाट हौसिएका शरद पनि डोको लिएर माछा थाप्न नदी बीचसम्म पुगेका थिए । 'तर डोकामा माछा पार्नै सकिएन,' उनले हाँस्दै भने ।
दमौलीका युवाहरू पनि उर्लेको मादी हेर्नमा मस्त थिए । मादीको हिलाम्मे भेल र सेतीको सफा देखिने कमेरे पानीको संगमस्थल भने निकै रोचक देखिन्थ्यो ।
त्यही रौनकमा दमौलीकी सीता घिसिङ तामाङ भने आफ्नो चिन्तित नजर कतिबेला बच्चादेखि वृद्धहरूको भीडमा डुलाउँथिन् भने कतिबेला मादीतिर । 'मादीको यस्तो भेलमा धेरैले ज्यान गुमाएका छन् । मेरा दुई छोराहरू पनि यहाँ आएका थिए,' चिन्तित स्वरमा उनले भनिन् । भर्खर हुर्केका छोराहरूलाई नदीमा जान रोक्नबाट आएकी रहिछन् सीता। सीताजस्तै थुप्रै महिलाहरू आफ्ना छोराछोरीतिर आँखा लाउँदै मादी तिरमा भेलले किनारमा फ्याँकेका ससाना माछालाई पटुकामा जम्मा गरिराखेका पनि थिए ।
भाद्र २३, २०६६
साभार: कान्तिपुर दैनिक
|