नक्कलीतिर ध्यान

स्मिता मगर

काठमाडौं, केही वर्ष पहिले बाटो हिँडिरहेको बखत मोटरसाइकलमा आएका आपराधिक समूहले गलाबाट सिक्री तानेर लगिदिएपछि रति जोशीले सुन लगाउनै छाडेकी थिइन् । तर, गहना लाउने बानी, गहनाबिनाको चाडबाड उनलाई खल्लो लाग्न थाल्यो । त्यसपछि उनले 'सर्प पनि मर्ने लौरो पनि नभाच्चिने' जुक्ति लगाइन् । अब उनको गलामा 'इमिटेसन ज्वेलरी' अर्थात् नक्कली गहनाले स्थान पायो । चोरीको डर पनि नहुने, गहनाको चाह पनि मेटिने। 

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत रति बुधबार दिउँसो डिल्लीबजारस्थित नक्कली गहना बेच्ने ट्रेड प्यालेसमा वाला छान्दै थिइन् । उनलाई यस्ता गहना दाउराको सट्टा ग्यास बालेसरह सजिलो हुने रहेछ । अब उनलाई गरगहना कसैले चोरिदेला भनेर चिन्ता छैन ।'बरु भोजबाट र्फकनुभन्दा पहिले आफन्तजनले सक्कली सुनको गहना ठानेर 'नेक्लेस फुकालेरघर जाऊ भन्छन्,' उनले हाँस्दै भनिन्, 'म पनि झोलामै राखेर घरतिर हिँड्ने गछर्ु । सबैलाई जलप लगाएको गहना भन्दै हिँड्नु त भएन नि !'

कुराकानी भइरहँदा ट्रेड प्यालेसका सञ्चालक अमरनाथ सर्राफ छेउमै थिए । 'यो गहनानयाँ भएका बेला' रतिको कुरामा अझ जोड दिँदै सर्राफले भने, 'कसैले पनि नक्कली हो भनेर भन्न सक्दैन ।'

दुरुस्तै सुनजस्तो देखिने यी नक्कली गरगहना पनि विभिन्न गुणस्तरका हुन्छन् । गुणस्तर अनुसार मूल्यमा फरक हुन्छ । 'सक्कलीलाई तीन लाख रुपैयाँ जति पर्ने गहनाको 'इमिटेसन ज्वेलरी' १५ हजारमै पाइन्छ' सरार्फले भने, 'दुईसय रुपैयाँबाट २५ हजारसम्म पर्ने गहना बजारमा पाइन्छ ।'

रतिजस्तै तीजकै लागि गहना किन्न साथीसँगीसँग हुल बाँधिएर न्युरोड आइपुगेकी थिइन् थानकोटकी लक्ष्मीसुवेदी । उनले चाँदीमा सुनको जलप लगाएको टप किन्न चाहिन् । सक्कली सुनका गहना लगाउने गरे पनि उनलाई 'इमिटेसन ज्वेलरी' नै सजिलो लाग्ने रहेछ । 'घरमा बस्दा पनि लगाउन मिल्छ र हराए पनि त्यति फरक पर्दैन,' उनले भनिन्, 'निकै सजिलो हुन्छ नि ।' तीजमा सक्कली गरगहनासँगै जलप लगाएका छड्के तिलहरी, चुराहरू र नेकलेस लाएर साथीसँगीसँग मजाले नाचेको अनुभव पनि उनले सुनाइन् ।

सर्राफका अनुसार यस्ता गहना रेडिमेडमात्रै हुँदैनन् । मन पराइएको डिजाइनमै पनि बनाउन सकिन्छ । 'महँगी र चोरीको बिगबिगी चलेका बेला' उनले भने, 'वरदान नै सावित भएको छ ।' झन्डै २० वर्षदेखि नक्कली गरगहनाको पसल थाप्दै आएका सर्राफले एकदशक पहिले जलप लाएका या 'इमिटेसन ज्वेलरी' लगाउँदा त्यति राम्ररी समाजले नलिएको भए पनि अब यो समस्या नरहेको बताए । 'सक्कली सुन लगाउने जमाना पनि हुनुपर्žयो नि' रतिले सही थपिन्, 'यस्तो गहना चोरिए पनि ठूलो चिन्ता लिनु पर्दैन । आर्थिक स्थिति कमजोर भए पनि यस्ता गहनाले समाजमा हैसियतदार बनाउन सघाउँछ र प्रतिष्ठा जोगाइदिन्छ ।'

न्युरोडस्थित न्युसिटी शृङ्गारका बिक्रेता निर्मल पन्तसँग गएका वर्षभन्दा यसपटक यस्ता गरगहनाको बिक्री-वितरणमा वृद्धि भएको अनुभव छ । 'सुन लगाउँदा चोरीको मात्र नभएर ज्यानकै खतरा पनि हुन्छ,' उनले भने, 'धेरैले थाहा पाएकाले पनि फेसनका रूपमा प्रयोग भइराखेको छ, ' उनका अनुसार हाल यी गहना आर्थिकस्थिति कमजोर भएकाले मात्र नभई सम्पन्नहरूले पनि लाउन थालेका छन् ।

तीजमा चाहिँ विशेष गरी छड्के तिलहरीको माग बढी हुने रहेछ । 'अरू गहना पनि त्यत्तिकै बिक्छ,' उनले भने । पछिल्ला वर्षमा तीज मनाउने प्रवृत्तिमा परिवर्तन आएकाले पनि यस्ता गहनाको माग तीव्रस्तरमा भएको उनको अनुमान छ । समय-समयमा जलप लगाएर नयाँ बनाउन मिल्ने, बिक्री गर्दा किन्दा परेको मूल्यको आधा रकम पाइने या त्यही मूल्यमा अरू पैसा थपेर अर्को गहना किन्नसमेत मिल्ने भएकाले पनि 'इमिटेसन ज्वेलरी' लोकपि्रय बनेको उनले बताए । उनका अनुसार धेरैजसो यस्ता गरगहना थाइल्यान्ड र भारतबाट आयात गरिन्छ । तिलहरी र नेपाली डिजाइनका गहना भने नेपालमै बनाइन्छ 'बढ्दो असुरक्षा, महँगी र आकाश छुने सुनको भाउले गर्दा पनि यस्ता गहना भरपर्दो विकल्प हो,' सर्राफले भने, 'भीड र नाचगानमा धेरै गरगहना हराउने गरेकाले पनि तीजमा झन् माग बढ्नेगर्छ ।'

साभार: कान्तिपुर दैनिक
भाद्र ४, २०६६


 

 

 
 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map