एक फूल तीन माली

स्मिता मगर

काठमाडौं, कुनै पनि केटीका लागि उनलाई मन पराउने तीन-तीनवटा केटा हुनु नराम्रो पक्कै होइन । तर, त्यो समस्या पनि हुनसक्छ, यदि त्यही केटीले विवाह गरेका यस्तै तीनजना माया गर्ने लोग्ने, एकतर्फी प्रेम गर्ने पागल प्रेमीको आकांक्षा र पहिलो प्रेमीको बीचमा च्यापिएकी मुना -गरिमा पन्त) को कथा हो- जीवन-मृत्यु ।

 

जबर्जस्ती अर्जुन -सुमन सिंह) सँग विवाह हुनबाट मुनालाई प्रहरी मदन -निखिल उप्रेती) ले बचाउँछ । उनलाई बचाउने क्रममा अर्जुनको गोलीबाट मदन सख्त घाइते हुन्छ ।  मुनाको राम्रो हेरचाहबाट ठीक भएको थाहा पाएपछि मदनले मुनासँग विवाहको प्रस्ताव राख्छ । दाइको कुरा काट्न नसकेर मुनाले विवाह गर्छे र मदनलाई आफ्नो सारा संसारको मालिक ठान्छे । तर, मदनलाई गोलीको घाउले फेरि सताएकोले अस्पतालमा लग्छे । त्यहाँ उसको लोग्नेको उपचार गर्ने क्रममा भर्खर अमेरिकाबाट आएको डाक्टर आकाश -रमित ढुंगाना) सँग भेट हुन्छ, जो मुनाको पहिलो प्रेमी हुन्छ । फिल्ममा प्रेमको सुन्दरता एकतर्फी भएमा त्यसले ल्याएको पीडा र प्रेममा गर्नुपर्ने त्याग देखाउने प्रयास भएको छ । माया गर्नेहरू आफ्नो प्रेमका लागि कतिसम्म त्याग गर्न सक्छन् भन्ने फिल्मले एकातिर देखाउँछ भने अर्कोतिर मायाले ल्याएको पागलपनलाई पनि देखाउँछ । तर,यी तीन हिरोहरूको बीचमा च्यापिएकी नायिका गरिमा अन्त्यमा कुन नायकको अँगालोमा पर्छिन्, त्यो हेर्नलाई भने फिल्म लागेको हलमा जानुपर्नेछ ।

धेरै हिन्दी र नेपाली फिल्ममा प्रयोगमा आइसकेको यो प्रेमकथाको फर्मुला जीवन-मृत्युमा असुहाउँदो देखिएको भने छैन । रमेश बुढाथोकीद्वारा निर्देशित उद्धव पौडेलको यो सिनेमास्कोप फिल्मको छायांकन पक्ष राम्रो छ । तर बुढाथोकीका पहिलेका फिल्मभन्दा जीवन-मृत्यु राम्रो बने पनि उनका टेलिसिरियलहरू नै अझ आकर्षक र राम्रा हुन्छन् ।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले यो फिल्ममा रहेका धेरैजसो एक्सनका दृश्यहरू अरू फिल्ममा प्रयोग गरिसकेका छन् ।

आषाढ २३, २०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-07-06 20:28:54

-----------------------------------------



 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map