जङ्गल म्यानको कथा
-स्मिता मगर
काठमाडौं, कुमसम्म लत्रेको जंगली कपाल, चराहरूको प्वाँखबाट बनेको कछाड अनि हातमा धनुवाण । उनी 'इकु' हुन्, अर्थात नेपाली 'टार्जन' । यी 'इकु' (सुलेमान शंकर) यतिबेला राजधानीका विभिन्न सिनेमा हलहरूमा छाइरहेका छन्, सागर लामिछानेद्वारा निर्देशित फिल्म 'इकु: द जंगल म्यान’ मा ।
एउटा टेलिभिजन शृंखलाको जंगली पात्रलाई समातेर बनाइएको 'इकु' चल्तीको फर्मुला चलचित्रभन्दा केही भिन्न छ। मानव समाजमा घटेका अनेक घटना र समस्यामा सहयोग पुर्याउने सकारात्मक पात्र -हिरो) को रूपमा जंगली मान्छे इकुलाई उभ्याइएको छ । टार्जनकै प्रभावको फोटोकपीजस्तै एउटी सहरिया युवतीले जंगलीमान्छेलाई मन पराउँछिन् । इकु सहर आउँछ, चलचित्रको क्लाइमेक्समा चाहिँ पुनः जंगल फिर्ती ।
मुख्यकथा फिरौती गिरोहले एक बालकको अपहरण गरेको घटना सेरोफेरो घुम्छ । अपहरित सुसन -आकाश खरेल) तिनै जंगली मान्छेले बचाउँछन् । यसक्रममा इकु रूखका लहरामा तर्लाङ तुर्लुङ झुन्डिएर भिलेनसँग लड्छन् । यही क्रममा प्रेममा फसेर डेटिङ गएकी तर बलात्कारको सिकार हुन आँटेकी एक युवती नेहा (उषा रजक) को प्रवेश हुन्छ । जंगलमा अब नेहालाई बचाउने कर्तव्य पनि इकुकै । उनी सुसन र नेहालाई रूखमा झुन्डिएको सानो छाप्रामा बास दिन्छन् । जंगल घुमाउँछन्, माछा, वनकुखुरा, धनुषले मारेर खुवाउँछन् ।
इकु एकदिन उनीहरूसँगै काठमाडौं सहर आउँछन् । डिस्कभरि च्यानलमा चिम्पाञ्जीहरू झै ऐनामा आफूलाई देखेर अचम्मित हुन्छन् । तर उनले सहर जंगलभन्दा डरलाग्दो पाउँछन् । सहरिया रौनक र झिलिमिलीले छुँदैन । फेरि आफ्नै घर जंगल फर्किन्छन् ।
'मेरी बास्सै' टेलिशृंखलामा देखिएको इकु पात्रलाई लिएर चलचित्र बनाइएको हो । 'मेरी बास्सै' मा झै चलचित्रलाई हास्यप्रधान बनाउन खोजिएको छ । का बेइमान अर्थात रवि डंगोल नकारात्मक भूमिकामा छन्, यद्यपि तोतेबोली र 'पाँचमिनेट' थेगोबाट उनले आफ्नो हास्यचरित्र बचाउन खोजेका छन् ।
चलचित्रमा एउटै गीत रहेको छ, 'इकु...इकु...' जुन रमाइलो लाग्छ । संगीत भने कमजोर । छायांकन ठीकै छ तर समय समयमा आँखालाई असजिलो बनाउने तरिकाले क्यामेरा चलेकाले दृश्य अस्पस्ट हुन्छ । केही दृश्य दोहोरिएका छन्, जसले खल्लो अनुभव गराउँछ । 'टार्जन' बनेका सुलेमान र 'पाँच मिनेट' रविको अभिनय राम्रो छ। टेलिशृंखलाका कलाकार अधिक रहेको चलचित्र झन्डै टेलिशृंखलाकै स्वादमा छ, चल्तीको मसला फिल्म रुचाउनेका लागि मनोरञ्जक नहुन पनि सक्छ । बालबालिकालाई भने तान्न सक्छ ।
देशभरका १७ हलमा प्रदर्शन भइरहेको 'इकु' अर्को सातादेखि ३७ हलमा चल्ने बताइएको छ । हास्यप्रधान चलचित्र भएकाले बच्चादेखि बुढासम्मले रुचाएको सुलेमानको दाबी छ । मायाप्रेम, एक्सन र पारिवारिक ड्रामाका चलचित्रका बीचमा केही भिन्न भएकाले दर्शकले चासो पनि दिएका छन् । हौसिएको सुलेमान भने चलचित्रको अर्को शृंखला पनि बनाउने योजनामा छन् ।
जेष्ठ ५, २०६६
साभार: कान्तिपुर राष्ट्रिय दैनिक
Posted on: 2009-05-18 20:13:57
----------------------------------------------