हाइकिङ्को स्वाद: काफल हन्टिङ्
स्मिता मगर
थानकोट, शनिबार बिहान रत्नपार्कमा एक हूल युवा जम्मा भएका थिए । शनिबारे छुट्टीलाई उत्सवमय बनाउन ट्रेकिङ् र हाइकिङ्को धुनमा युवा भेला भएका रहेछन् ।
तन्नेरीहरू चन्द्रागिरी डाँडातिर जाने सुरमा रहेछन्, त्यो पनि काफल ट्रेकिङमा । लोकल माइक्रोमा चढेर थानकोट त्रिभुवन पार्क छेउमा पुगेपछि उनीहरू उकालिए चन्द्रागिरीतिर । साथमा बोकेको मकै र जौको सातु फुक्याउँदै पैदल मार्नुको मस्तीमा थिए उनीहरू । 'बजारिया जङ्क फुडभन्दा अडिलो खान्की हो यो,' तन्नेरीको टोली पदयात्रिज्का सुरथ गिरीले बताए । सातु खाएमा ट्रेकिङ् हाइकिङ्मा छिटो भोक नलाग्ने उनको भनाइ थियो ।
१५ जना तन्नेरी बाटाभरि इतिहासका कुरा गर्दै थिए । राणाकालीन बेलामा बडाहाकिमहरूका गाडी काँधमा बोकेर ल्याइने मार्ग यही थियो, इतिहासमा हाम्रै बाजुबराजे 'राजाको गाउँ' छिर्ने बाटो पनि यही थियो । हिँडाइको मुडमा प्रेम, जीवन, प्रकृति, काठमाडौंको पेट्रोल-पानीदेखि प्रधानमन्त्री र प्रधानसेनापतिसम्मका गफगाफ भइरहेको थियो । चन्द्रागिरी डाँडामा सिर्सिर बतास थियो, तनमनलाई चिस्याउने । एकछिन सिर्सिरे बतास लिएपछि काफल खोज्ने र खाने अभियान सुरु भयो चित्लाङको वनतिर । बाटामा काफलमात्रै होइन, ऐसेलुका झुप्पा पनि भेटिए तर विज्ञहरूले भन्ने गरेझैं मौसम परिवर्तनको असरले हो कि सिजन बित्नै लाग्दा पनि धेरैजसो फल भने काँचाकाँचै थिए ।
पदयात्रिज् टोली तीन वर्ष पहिलेदेखि नै हाइकिङ् र ट्रेकिङ्को मस्तीमा डुब्न थालेको रहेछ । विशेषतः काठमाडौं वरपरको जीवन र जगत् पहिल्याउने उनीहरूको सोचाइ रहेछ । काठमाडौंमा अर्को युवा समूह 'नेचर लभिङ ग्रुप' ले पनि यस्तै हाइकिङ्को स्वाद बटुल्दै आएको छ । पदयात्रिज् टोलीको सुरुवात पनि रमाइलो गरी भएको रहेछ । भ्यालेन्टाइन डेका दिन पाँचजना साथीभाइ फुर्सदिला बनेपछि चिसापानी हाइकिङ् गर्न गएका रहेछन् । त्यहीँ खिचिएका फोटा ब्लग र फेसबुकमा राखेपछि हाइकिङ जानेको टोली जन्मिएको रहेछ, पदयात्रिज्का नाममा । उनीहरूले यसअघि चन्द्रागिरी हुँदै कुलेखानी पुगेका रहेछन् ।
यही टोलीका सङ्गम गिरी त्रिचन्द्र कलेजमा स्नातक अध्ययनरत छन् जो काठमाडौंको कोलाहलबाट टाढिन पनि अलिक टाढा हाइकिङ गर्न रुचाउँछन्, फार फरम द म्याडिङ क्राउडजस्तै । 'कति न्युरोडको हूलमा गएर हराउनु,' उनी भन्छन्, 'बरु काफल र ऐसेलुको जंगलमा हराउनु बेस ।' यसरी चन्द्रागिरीको टुप्पोमा चराको चिरबिर, जंगली फूलको बासना र काफल-ऐसेलुको स्वादमा हराउनेमध्येका एक गिरी बनेका रहेछन् ।
डाँडाबाट र्फकंदा भने वरपरको तुवाँलो हटिसकेको थियो, त्यो उचाइबाट काठमाडौं उपत्यका निकै सुन्दर खुलेको थियो ।
पदयात्रिजका सौरभ भने ट्रेकिङ्सँगै गुन्द्रुक खान्कीका पनि सौखिन रहेछन् । उनले ल्याएको गुन्द्रुकको अचार पनि निकै स्वादिलो लाग्यो । एक घन्टासम्म जंगलभित्र अलप भएर काफल खोज्ने काम भयो, धित त मरेन तर केही स्वाद भने मिल्यो । रूख चढेर काफल कपाकप खाइराखेकी दाङकी कला कोइरालाले यो अघोरी जंगलमा आफ्नो बाल्यकाल सम्झना गरिन् । 'मेरो गाउँमा त काफल लटरम्मै फल्छ, घरको खुबै याद आयो,' काफलले भिजेको मुख मिठ्याउँदै उनले भनिन् ।
तन्नेरीटोली जनही २ सय रुपैयाँ उठाएर हाइकिङ गएको थियो । यसपाला हिउँदमा राम्ररी पानी नपरेकाले काफल उति फलेको रहेनछ, फले पनि काफलको आकार टिम्मुरझैं लाग्थ्यो । अलिअलि फले पनि चराचुरुंगीले मात्रै होइन, बाँदरले पनि काफल चाख्न औधि चाहना राख्दा रहेछन् भन्ने पत्तो भयो झ्याङबुटामा उफरिरहेका बाँदर देखेर । पहिलापटक काफलको बोट देखेकी बाँसबारीकी स्वस्ती शर्मासँग रत्नपार्कमा काफल किनेर खाएको अनुभव मात्रै थियो तर आफैं रूखबाट काफलगेडी टिपेर खान पाएका बेला उनी हाउभाउमै पुलकित देखिन्थिन् । 'रत्नपार्कमा किनेर काफल खानु र रूखबाट टिपेर खानुमा कत्ति हो कत्ति अन्तर हुने रहेछ,' उनले हौसिँदै भनिन् ।