आमाहरूको स्कुले रहर

स्मिता मगर

काठमाडौं, कोठाबाहिरै सुनिँदै छ- एपिपिएल एप्पल, बीएएलएल बल । यो स्वर पछ्याएर चिहाउनेलाई अचम्म लाग्न सक्छ, यहाँ बालबालिका होइन आमाहरू भेला भएका छन् ।

 

टेबुलमा कापीको नजिकै इरेजर र कटर राखेर सिसाकलम समाती लेख्न तम्तयार भएका आमाहरूको यो सुन्दर दृश्य कीर्तिपुर गृहिणी महिला विद्यालयमा हरेक दिन देख्न-सुन्न पाइन्छ । शिशुदेखि ५ कक्षा पढ्न यतिखेर साठी वर्षे उमेरसम्मका ६० आमा भेला भएका छन् । यो कक्षाको भित्तामा फलफूल, चराचुरुङ्गीको नाम भएको नेपाली र अंग्रेजी पोस्टर टाँसिएका छन् । यसका साथै आमाहरूले बनाएका विभिन्न रङ्गीबिरङ्गी चित्र पनि आफ्नो नाम, कक्षा र ठेगानासहित टाँसिएका छन् ।

ब्ल्याकबोर्डमा लेखिएका नम्बरलाई अंग्रेजीमा उल्था गरिराखेकी ४ कक्षामा अध्ययनरत लक्ष्मीकुमारी महर्जनसँग पढ्न थालेपछि धेरै कुरामा फाइदा भएको अनुभव

छ । 'मेरो ठूलो बच्चाले मलाई सिकाउँछ, मचाहिँ नर्सरीमा पढिराखेको मेरो सानो छोरालाई पढाउँछु,' लक्ष्मीले सुनाइन् । उनी पढ्दै गएर एसएलसी पास गर्न चाहन्छिन् ।

'पहिलेपहिले पढ्न आउने चित्र कोर्नमा दिक्क मान्थे,' विद्यालयकी पि्रन्सिपल सुनिता मानन्धरले भनिन्, 'अहिले भने आमाहरू आफैं चित्र कोर्न रुचाउनुहुन्छ ।' बिहानको एघारदेखि दुई बजेसम्म पढाइ हुने स्कुलमा कीर्तिपुरे नेवार समुदायका महिलाको बाहुल्य भए

पनि अरू थातथलोबाट पनि आमाविद्यार्थी आएका छन् ।

ज्ञानको खोजीमा हत्ते गर्दै डेढ घन्टा गाडी चढेर स्कुल पढ्न आइपुग्ने आमा हुन्- शान्ति फडेरा । टौदह कीर्तिपुरकी तीन छोराछोरीकी आमा शान्ति हरेक दिन तिनलाई स्कुल पठाएपछि आफैं पनि स्कुल आउन हतारिन्छिन् अनि स्कुले युनिर्फम गुलाफी रङको कुर्तासलवारमा सजिएर, सिन्दुरपोते लगाई सानो झोला बोकेर उनी घरबाट

निस्किन्छिन् । गत मंसिरमा विद्यालय भर्ना भएकी उनी अहिले पि्र वान पास गरेर एक कक्षामा भर्खर भर्ना भएकी छन् ।

'पहिले केटीले किताब छुनु पनि हुन्न भनेर पढ्न दिएनन् । पढ्न नपाएर दुःख पाइयो तर अहिले यहाँ पढ्न पाउँदा धेरै कुरा थाहा भएको छ । पत्रपत्रिका पढ्न र बुझ्न सक्ने भएकी छु,' उनले मुसुक्क हाँस्दै भनिन् । पहिलोपटक अंग्रजीमा नाम लेखेर आफ्ना छोराछोरीलाई देखाउँदै उनले खुसी मनाएकी थिइन् । पढ्न थालेपछि अस्ति भर्खरमात्र ५ कक्षामा पढेकी संगीलाई बंैकमा लगेर खाता खोलिदिएको बताउँदै उनले भनिन्, 'अब त म अरूलाई पढाउन सक्ने भएकी छु ।'

५० वर्षीया विमला महर्जन पनि पढ्न पाएर असाध्यै खुसी भएकी रहिछन् । चार कक्षाकी बिद्यार्थी उनले भनिन्, 'पढ्न पाएकामा ममात्रै होइन, म पढेकामा मेरा बूढा पनि औधी खुसी छन् ।' उनले आफूलाई नआएको गृहकार्य छोराछोरीलाई सोध्ने गरेको बताइन् । विमला अहिले कतै गएपछि साइनबोर्ड हेरेर आफू कुन ठाउँमा आएकी रहिछु भन्ने थाहा पाउन थालेकी छन् ।

पढ्न मन पराउने आमाहरू विद्यार्थीमात्र नभएर गृहिणी पनि भएका कारण घरेलु कामलाई पनि उत्तिकै महत्त्व दिने गरेको पि्रन्सिपल सुनिताले बताइन् । स्कुलबाट घर आउँदा बच्चाहरू भोकाएर आउने भएकाले खाजा तयार गरिदिन हतारहतार घरतिर लाग्ने आमाहरू पनि यहाँ उत्तिकै छन् । यता पाँच कक्षामा पढिराखेकी प्रमिला महर्जन अहिले राम्ररी चिठी लेख्न सक्ने भएकी छन् । आत्मविश्वाससाथ उनले भनिन्, 'अब विदेशमा बसेको छोरालाई इमेल गर्न सिक्नुपर्ला ।'

आमाहरू पढ्न सुरु गरेदेखि नयाँ प्रविधिप्रति पनि आकषिर्त भएको देखिन्छ । अहिले फोन गर्न, चिठी लेख्न र मोबाइल प्रयोग गर्न धेरै सजिलो भएको उनीहरू बताउँछन् । यो विद्यालय किपु बचत तथा ऋण सहकारी संस्थाले गृहिणी महिला र पढ्नलेख्नबाट वञ्चित महिलालाई साक्षर बनाउन २ वर्ष अगाडिबाट यो अभियान थालेको हो । सबै आमा विद्यार्थीले विद्यालयका ५ शिक्षिकालाई 'मिस' भनेर सम्बोधन गर्ने गरेका छन् ।

 

वैशाख १५, २०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-04-27 20:44:37

-------------------------------------------------

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map