तितौराका स्वादेहरू

स्मिता मगर

काठमाडौं, एक हुल ग्राहक पसलबाट गइसकेकै हुन्न, अर्को हुल आइपुग्छ । पछिल्लो हुलमा साथिसँगीमाझ खितखिताउँदै पसल छिरेकी सृजना श्रेष्ठ डब्बाका डब्बा गुलियो, पिरो, अमिलो र नुनिलो तितौरा देख्नासाथ हाँस्न छाडेर मुख मिठ्याउँछिन् ।

 

मुखै रसाउने तितौरा देखेर सृजनासँगै उनका साथीहरू कुनचाहिं स्वाद खाने भनेर डब्बा नियाल्न सुरु गर्छन्, लप्सी झोलदेखि, आँप, अमला, तित्री आदिका परिकार । उनीहरू मनपर्ने परिकार छान्दै गए । हुलमा सृजनाले लप्सीको झोल छानिन् भने अर्कीले खोर्सानीको 'खट्टीमिठ्ठी' झोल रुचाइन् ।

'यत्तिले प|mेस त बनायो तर मन भरिएन, अझै खानुपर्‍यो' भन्दै उनले अर्को प्याकेट पनि किनेर खान सुरु गरिन् । हप्तामा दुई/तीनपटक त्रिपुरेश्वरस्थित रत्नपार्क पाउँ भण्डारमा तितौरा खान छिर्ने सृजना अमिलो र पिरो तितौरा खान धेरै रुचाउँछिन् रे । खान सुरु गरेपछि रोक्न गाह्रो हुने बताउने उनी तितौरा धेरै खाएर पेट दुखेको र पछि कलेजसम्म छाड्नुपरेको अनुभव सुनाउँछिन् ।

'म पेट दुखेको सहन सक्छु तर तितौरा नखाएर चाहिं बस्न गाह्रो छ,' उनले भनिन् । 

युनाइटेड वल्र्ड ट्रेड सेन्टरस्थित पाउँ भण्डारमा बेच्न बसेकी रसना श्रेष्ठले तितौरा किन्न आउने भीडमा सास फेर्ने समय पनि पाइरहेकी थिइनन् । ग्राहकलाई  तितौरा दिंदै  रसनाले पसलमा तितौरा किन्न केटाहरू पनि उत्तिकै आउने गरेको बताइन् ।

'केटा पनि मुख मिठ्याउँदै आउँछन् र जिब्रो फट्कार्दै जान्छन्,' रसना भन्छिन् । नेवारीमा ल्यासी पाउँ -तरुनी) तितौराको लोकपि्रयता पहिलेभन्दा अहिले केटामाझ बढेको उनले सुनाइन् । 'केटीले मात्रै खाने मान्यता रहेकाले धेरैजसो केटा खुलेर तितौरा खान्छौं भन्न हिच्किचाइरहेका हुन्छन्,' रसनाको बुझाइ थियो । केटाहरू भने कहिले दिदीबहिनी त कहिले गर्लफ्रेन्डका लागि किनेको बहानामा तितौरा स्वाद लिने गरेका रहेछन् । त्यही भीडमा साथीहरूसँग तितौरा किन्दै गरेका सुदिस निरौलाले भने, 'तितौरा केटीले मात्र खानुपर्छ भन्ने छैन ।

स्कुले जीवनदेखि नै नजिकैको पसलमा साथीहरूसँग तितौरा किनेर खाने गरेका विराटनगरका सुदिसले अहिले आमाले घरैबाट तितौरा बनाएर पठाइदिने गरेको बताए ।

'अमला, ज्वानो, ल्वाङ आदि मिलाएर बनाएको तितौराले पाचनक्रियालाई राम्रो गर्ने भएकाले दैनिक रूपमा तितौरा खान्छु,' उनले भने ।

पिरो र अमिलो तितौराचाहिं साथीहरूले दिँदामात्र खाने तर किनेर खाँदा आँपको गुलियो तितौरा एकदमै मन पराउने सुदिसले बताए ।

 

चैत १८, २०६५

साभार:कान्तिपुर नेपाली राष्ट्रिय दैनिक

Posted on: 2009-03-30 19:33:40

--------------------------------------------------

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map