ह्याट लाउनुस् वाइन पिउनुस्

स्मिता मगर

काठमाडौं,  न झिलिमिली बत्ती, न त पसलमा विशेष छुटका अफर । भ्यालेन्टाइन डे, क्रिसमस र न्यु इयर इभमा बेहुलीझैं सजिने राजधानीको हिपहप बजार ठमेल नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा भने सुनसान थियो ।

 

उत्साही मान्छेको उति चहलपहल थिएन । पर्यटकीय गन्तव्य ठमेलभर घुम्दा मुस्किलले एक दर्जन शुभकामना ब्यानर र होर्डिङ बोर्ड पनि भेटिएनन् । 'नयाँवर्ष इभमा रमाइलो होला भनेर घुम्न आएको, ठमेल त सुतिराखेको रहेछ,' ठमेल टहल्न आएकी सामाखुसीकी सञ्जु शर्माले निरासिँदै भनिन् । अंग्रेजी नयाँ वर्ष आउनुभन्दा एक महिना पहिलेदेखि  नै संगीत र मीठा परिकारको माहोलमा तातिने यो बजार नेपाली नया वर्षमा मुर्झाएको झैं थियो।

सञ्जु सोमबार राति घरपरिवारमै खानपिन र रमझम गरेर नयाँ वर्षको स्वागत गर्ने तयारीमा छिन् ।

अंग्रेजी नयाँ वर्षका अवसरमा झिलिमिली बत्ती बाल्दै र पुस्तकमा डिस्काउन्ट अफर राखेर ग्राहक आकषिर्त गर्ने मण्डला बुक हाउसमा पनि सोमबार कुनै रौनक भेटिएन । 'हामी मात्रै होइन, आज अधिकांश पसले व्यापारिक भएका छौं,' मण्डलाकी प्रबन्धक ऋचा महर्जनले भनिन् । धेरैजसो ग्राहक विदेशी हुने र उनीहरूलाई नेपाली नयाँ वर्षबारे थाहा नहुनुले यसबेला केही विशेष योजना बनाउनुको तुक नरहेको उनले सुनाइन् ।

सुनसान ठमेलबीचको 'साम पब' भने बेलुकीपख निकै तातिँदै थियो । यसले १२ वर्षदेखि नेपाली नयाँ वर्ष इभलाई 'ह्याट पार्टी' गरेर नयाँ तरिकाले मनाइराखेका रहेछन् । जो 'ह्याट' लगाएर आउँछ, पबको तर्फबाट एक कम्प्िलमेन्ट्री डि्रङक । पबका सञ्चालक श्याम घलेले धेरैजसो विदेशी नै आउने पबमा नयाबर्षमा चाहिँ नेपालीको उपस्थिति निकै हुने आशा व्यक्त गरे । 'फरक तरिकाले भए पनि नेपाली नयाँ वर्षबारे विदेशीले थाहा पाओस् भन्ने हाम्राे मान्यता हो,' उनले भने ।

यसपटक भित्तोमा टाँसिएको सूचना पाटीबाट नयाँ वर्षको शुभकामना दिए पनि आउँदा वर्षमा आफ्नो नयाँ वर्ष मनाएरै विदेशीलाई जानकारी गराइने काठमाडौं गेस्ट हाउसका प्रबन्धकको भनाइ छ । 'हाम्रो नयाँ वर्षबारे बाहिरी दुनियाँका आगन्तुकलाई पनि थाहा दिनुपर्छ,' गेस्ट हाउसका उत्तम फुयालले भने, 'आउने वर्षबाट नयाँ केही कार्यक्रम राखेर हाम्रै क्यालेन्डर जानकारी दिनेछौं ।'

वैशाख १, २०६६

 

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Published on: 2009-04-13 20:56:07

-----------------------------------------------

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map