कला र शैली»
फागुलाई
स्मिता मगर
काठमाडौ, फाल्गुन ८,२०६६ –
काठमाडौंको गल्लीगल्लीमा बालबच्चाले पानीको 'लोला' खेलिरहेको देख्दा फागुपूणिर्मा नजिकिएको भान हुन्छ । होलीको यस्तो तयारी भइरहेका बेला स्याङ्जा मगर गाउँका युवायुवती भने 'यऊनाट' नाचको पर्खाइमा छन् ।
फागुन पूणिर्माको अवसरमा नाचिने यही मगर नृत्य 'यऊनाट' राजधानीमा शनिबार प्रदर्शन गरियो । फागुपूणिर्मा मनाउने मगरको फरक शैली क्यामेरामा उतारिएको स्टाफ कलेजमा आयोजित मगर वृतचित्र उत्सवमा प्रदर्शन भइरहँदा मगर युवायुवतीले गाउँको होली सम्झे ।
'यऊनाट' नृत्यमा मगर संस्कृतिमा केटाले मामाचेली माग्ने प्रक्रियालाई गीत नृत्यबाट देखाइन्छ । युवतीहरूले दुई पंक्ति बाँडिएर छोरी माग्दा मामाभान्जामा हुने कुराकानीलाई नाच्दै र गाउँदै देखाउँछन् । 'वृत्तचित्रमा 'यऊनाट' सँगै धनुषवाण खेल्ने, कन्दमूल पकाएर खाने र हातहतियारको पूजा गर्ने प्रचलन पनि उतारिएको छ,' निर्देशक युवराज मास्कीले भने, 'यो पर्व स्याङ्जाका मगर समुदायमा चार दिन मनाइन्छ ।'
वर्षभरि किसानी गरेर थकान मार्न फागुपूणिर्मामा गरिने पूजा र नाचगानले समुदायमा मनोरञ्जन दिने स्याङ्जाका चलचित्रप्रेमी शंकर गाहाले बताए । 'यस दिन हामीले हातहतियार छुनसम्म पाउँदैनौं,' उनले भने, 'घरमा बस्न र पाहुना राख्न पनि पाइँदैन । जंगलमै गएर कन्दमूल र सिकार गर्ने चलन छ ।'
पहिलोपटक गरिएको मगर वृत्तचित्र महोत्सवमा 'यऊनाट' सँगै थप नौ वटा मगर समुदायबारे बनाइएको फिल्म प्रदर्शन गरियो । मुलुकका विभिन्न थलोमा छरिएर बसेको मगर जातिभित्र रहेको विविधतालाई वृत्तचित्रहरूमा समेटिएको थियो ।
धनकुटातिर नाचिने हुर्रा नृत्यबारे बनाइएको वृत्तचित्र 'हुर्रा' ले पूर्वको संस्कृतिलाई देखाएको थियो भने प्रदीप बम्जनद्वारा निर्देशित 'जोरा स्याँई' अर्थात् जोडी नाचले रुकुम/रोल्पामा नाचिने नृत्य समेटेको थियो । 'गन्तव्य महभीर' मा गुल्मीका पुन मगरको पुख्र्यौली पेसा देखाउन खोजिएको थियो भने प्रतिमाया पुनको 'नराम/नमराती'
-तितेपाती) ले पुख्र्यौली ज्ञानलाई कैद गरेको थियो । 'जीवसिमा -डेड एट अलाइभ)' मा मगर आदिकवि जीतबहादुर सिञ्जालीको कष्टप्रद जीवनी थियो भने 'रफ कट लछुमन मगर' मा भूपू सैनिकको दैनिकी । दानबहादुर आलेको 'कानुङ रोसाङ काट ल्हेस' मा चाहिँ तनहुँका मगर संस्कृति उतारिएको थियो । वृत्तचित्र वर्षभरको सांस्कृतिक पर्वहरूमा केन्दि्रत थियो, वैशाख चण्डी पूजादेखि फागुनको नचरी नाचसम्म ।
नेपाल मगर चलचित्रकर्मी संघका महासचिव मेजान पुन मगरले मगर समुदायमा रहेको विविधतालाई उत्सवले सम्मान गरेको बताए । 'मगरभित्र पनि विविधता छ,' उनले भने, 'पूर्वको मगरले पश्चिमको मगरको भाषा/संस्कृति जानेको छैन त्यसरी नै पश्चिमेली मगर पूर्वको सँग त्यति नै अनभिज्ञ रहेको छ । यो उत्सवले त्यो अन्तरलाई पुर्न सघाएको छ ।' विविधताका साथै उत्सवमा राखिएको वृतचित्रले सम्पूर्ण मगरको कला, संस्कृति, परम्परा, परिचयको खोज र पुस्तैनी ज्ञानबारे जानकारी दिएको उनले दाबी गरे ।
हालसम्म १४ वटा मगरसम्बन्धी वृत्तचित्र र २२ मगर फिल्म रहेको मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्कीले बताए । 'भाषा, संस्कृति र परम्पराको जगेर्नाका लागि मगरहरूको फिल्मतिर चासो बढेको छ,' उनले भने, 'यही वर्ष मगर समुदायबाट पाँच/छ वटा फिल्म आउँदै छन् ।' उत्सवले नयाँ पुस्तालाई फिल्म बनाउन र हेर्न प्रोत्साहन गर्ने उनको धारणा छ ।
एकदिने वृत्तचित्र महोत्सवमा मगरहरूको परम्परागत कौरा र यऊनाट नृत्यसमेत देखाइएको थियो । मगर चलचित्रकर्मी संघद्वारा आयोजित महोत्सवमा मगर फुड फेस्टिबल, दोहोरी गीत र मगर समुदायसम्बन्धी पुस्तक बिक्रीबितरण पनि गरिएको थियो ।
साभार: कान्तिपुर दैनिक