कला र शैली»
प्लाटिनममा ओटाकु, फैथ र ड्राकुला
स्मिता मगर
काठमाडौ, फाल्गुन १ -
याक एन्ड यती होटेलस्थित प्लाटिनम क्लब गत शनिबार युवाहरूको भीडले खचाखच भरिएको थियो । त्यही भीडबाट सेतो सर्ट, कालो पाइन्ट र कालै कोट लगाएका हिमशैल राई फुत्त बाहिर निस्केर कम्पाउन्डको एक कुनामा थचक्क बसे ।
उनलाई पच्छ्याउँदै आएकी एक साथीले उनको कपालमा मिल्दो रातो रङ छिटो-छिटो लगाउन सुरु गरिन् । 'कपडामा नछर्क है,' भन्दै हिमशैलले कपालमा रातो रङको स्प्रे मिलाएर छर्किदिन अह्राए । उनको कपाल केही मिनेटमै रातो भयो । उनको गोरो अनुहारमा हल्का मेकअप लगाइदिएपछि थाहा भयो, उनी जापानिज एनिमे 'फाइनल फ्यान्टासी सेभेन' का पात्र 'रेनो' बन्न त्यति प्रयास गरिरहेका रहेछन् ।
हुन पनि कपडा यता-उता मिलाएर उभिँदा उनको व्यक्तित्व आँखा अगाडि रेनोको जस्तो बनेको थियो: आकर्षक, क्युट, एरोगेन्टका साथै हँसिलो रेनोको व्यक्तित्व उनमा देखियो । उनको यो सजिधजि कस्प्ले नेपालले आयोजना गरेको 'कसप्ले' अर्थात् 'कस्ट्युम प्ले' को तयारीका लागि रहेछ । 'मलाई रेनो धेरै राम्रो लाग्छ । उसको जस्तो ड्रेसअप गर्न त्यति गाह्रो पनि हुन्न त्यसैले पार्टीमा रेनो बन्ने निर्णय गरेँ,' हिमशैलले भने । उनको हेर्दाहेर्दै फेरिएको कपालको रङ र हाउभाउको प्रशंसा गर्दै हेरिरहेका उपस्थित युवाहरूतिर हेर्दै उनले भने, 'मजस्तै यहाँ आएका धेरै जना भिडियो गेम, एनिमे र कार्टुन मन पराउनेहरूमा पर्छन् । नेपालमा यस्ता थुप्रै युवाहरू छन्, त्यसैले यो कस्प्ले पार्टी भएकोमा म धेरै उत्साहित छु ।' आफूलाई 'ओटाकु' भन्न रुचाउने हिमशैल एक अंग्रेजी दैनिकमा प्रशिक्षार्थी हुन् । एनिमे, मान्गा र भिडियो गेमहरूमा विशेष रुचि राख्नेहरूलाई जापानी भाषामा 'ओटाकु' भनिन्छ ।
हिमशैल झैं ओटाकु आस्मिन बुढाथोकी र रुबी श्रेष्ठ प्लाटिनम क्लबको अगाडि आएर उत्साहका साथ कस्प्लेका लागि तयारी गरेका थिए । यी दुईले आँखामा मेकअप गरेर भिडियो गेम 'मिरर्स एड्ज' को पात्र 'फैथ' बने । 'म एनिमेको एडिक्ट हुँ त्यसैले आफूलाई मनपर्ने पात्रको नक्कल गरेर एनिमे दुनियाँको प्रशंसा गरिने कस्प्लेको सुरुबाट भएकामा धेरै खुसी छु,' माल्पी स्कुलबाट भर्खर ए-लेभल सिध्याएकी आस्मिनले भनिन्- 'नेपालमा कस्प्ले संस्कृतिका लागि यो बेन्चमार्क बन्नेछ ।' तर, कस्प्लेको बारेमा कमै सुनेको नेपाली समाजमा यस्ता पात्रको नक्कल गर्ने कपडा किन्ने ठाउँ पनि छैन । त्यसैले कस्प्लेको सुरुबाट भएकोमा जति खुसी थिएँ त्यति नै आफू बन्न चाहेको पात्र बन्न नपाएकोमा दुखेसो पनि पोखे । 'मलाई खास फैथभन्दा नारुटो मान्गाको काकासी पात्र मन पर्छ,' दुखेसो पोख्दै आस्मिनले भनिन्, 'तर, काकासीले लगाउने कपडा यहाँ किन्न पाइएन र सिलाउने समय पनि भएन ।'
आस्मिनको जस्तै समस्या श्रेयास जोशीलाई पनि पर्žयो । उनको 'ड्राकुला' बनेर कस्प्लेमा आउने चाहना थियो । 'ड्राकुलाको लङकोट र मिल्दोजुल्दो कपडा पाए पनि दाँत जति खोजे पनि पाइएन,' खिन्न हुँदै उनले भने । हिमशैलले पनि रेनोको 'बिग' -नक्कली कपाल) विदेशबाट मगाएका थिए । तर, समयमा नआएपछि उनको कालो कपाललाई स्प्रेले रातो बनाएका थिए ।
नेपालमा पहिलोपटक गरिएको यो 'कस्प्ले पार्टी' मा टिनएजरदेखि तीस वर्ष पुग्न लागेका युवाहरूको भीड लागेको थियो । तर, विभिन्न फिल्म, कार्टुन र एनिमेबाट प्रभावित कस्ट्युम अर्थात् कपडा/मेकअप लगाएर आउनुपर्ने पार्टीमा धेरैजसो युवा-युवती पार्टीमा लगाउने सामान्य कपडामै देखिएका थिए । 'पहिलोपटक भएकाले धेरै जना कस्ट्युममा आउन हिम्मत गरेनन् । तर, कस्प्लेसम्बन्धी रहेको खुल्दुली मेटाउन धेरैको सहभागिता रह्यो,' कस्प्ले नेपालकी आयोजक मिकी तानाकाले बताइन् ।
जापानी महिला निन्जा सामुराई 'अजुमी' को कस्ट्युममा सजिएकी मिकीले आफैं कस्ट्युममा नआए पनि कस्ट्युममा आएकाहरूलाई त्यहाँ उपस्थित युवाहरूले प्रशंसा गरेको थप्दै भनिन्, 'सोचेको भन्दा कस्ट्युममा कम उपस्थित भए पनि धेरैले यो नयाँ ट्रेन्डको सुरुवातको समर्थन गरेका छन् ।' त्यहाँ उपस्थित युवाहरू आफूलाई मनपर्ने पात्र कपडामा बन्न नपाए पनि ती पात्रका हेयरस्टाइलबाट भने धेरैले समर्थन गरेका थिए । 'फाइनल फ्यान्टासी' कै क्लाउड पात्रको ब्लोन्ड हेयरस्टाइलदेखि 'नारुटो' एनिमे सिरियलका पात्रहरू र एनिमाक्स च्यानलबाट प्रशारण गरिने पात्रहरूको हेयरस्टायलमा युवाहरू सजिएका थिए ।
विशेष जापानमा चर्चित रहेको 'कस्प्ले' मा मानिसहरू आफूलाई मनपर्ने फिल्म, कार्टुन, एनिमे, मान्गा र भिडियो गेमका पात्रको जस्तो मेकअप र कपडा लगाएर पार्टीमा जान्छन् । अमेरिका र युरोपमा मनाइने 'ह्यालोविन' मा विभिन्न डरलाग्दो भूतको कपडा लगाएझैं यसमा पनि कपडा र मेकअप प्रयोग गरिन्छ । फरक यतिमात्र हो कि यसमा भूतको नभई आफूलाई मन परेको काल्पनिक पात्रले फिल्म/एनिमे/भिडियो गेममा लगाउने पात्रको कपडा लगाइन्छ । यसको जापानमा वाषिर्क रूपमा 'कस्प्ले' उत्सव हुने गरेको छ ।
नेपालका युवाहरू विभिन्न एनिमे/कार्टुन च्यानल, इन्टरनेट, एनिमे भिसिडी र भिडियो गेमहरूको बारेमा जानकार भएकाले कस्प्लेको सुरुवात गर्नु सान्दर्भिक रहेको मिकी मान्छिन् । 'नेपालमा एनिमे, कार्टुन, मान्गा, भिडियो गेम मन पराउनेहरू थुप्रै छन् । त्यसैले, यहाँ किन नगर्ने भनेर साथीहरूसँग कस्प्लेको आयोजना गरेका हौं,' उनले भनिन् । तर, नेपालमा कस्प्लेका लागि चाहिने कपडा, एक्सेसरिज/सरसामान, मेकअप पाइने पसल एउटा पनि नभएकाले यसपटक धेरै गाह्रो भएको बताइन् ।
'आफूलाई चाहिएको कपडाका लागि दौडधुप जति गरियो त्यो सम्झँदा त आफैंलाई कस्प्लेको पसल खोल्न मन लाग्यो,' उनले हाँस्दै भनिन् । कुनै पनि चीजको सुरु गर्न गाह्रो भए पनि सुरु भइसकेपछि त्यसलाई पछ्याउन त्यति अप्ठ्यारो नहुने बताउने मिकीले अब नेपालमा कस्प्ले वाषिर्क रूपमा मात्र भए पनि गर्ने बताइन् । उनको कुरा सुनेर खुसी हुँदै हिमशैलले अर्कोपटक सकेसम्म आफूलाई मनपर्ने 'टि्रनिटी ब्लड' को पात्र एबेल नाइटरोड बन्ने बताए । 'एबेल नाइटरोडको कस्ट्युम बनाउन धेरै गाह्रो हुने भएकाले त्यो मिलेन भने रेनोको कपालको विग र इलेक्ट्रो-म्याग नाइनेस्टिक त मसँग अवश्य हुनेछ,' उनले मुस्कुराउँदै भने ।
साभार: कान्तिपुर दैनिक