कला र शैली»

रंगमञ्चमा काठमाडौं बन्यो भेनिस

राजधानीमा ओथेलो

 

स्मिता मगर

ललितपुर, माघ २७ -
चार शताब्दी पुरानो पश्चिमा जगत्को वियोगान्त प्रेमको कथा नेपाली इतिहासको एउटा कालखण्डमा आएर मिल्दोजुल्दो बनेको छ । त्यो कथा पनि अढाई शताब्दी पुरानो नेपाल एकीकरणको पानामा मिसिएर आएको छ ।


यो प्रसंग विलियम सेक्सपियरको 'ओथेलो: द मुर अफ भेनिस' नाटकको हो जसलाई पृथ्वीनारायण शाहको नेपाल एकीकरणकालीन समयमा मिसाइएको छ । नेपालीकरण गरिएको विश्वप्रसिद्ध नाटक 'ओथेलो: द सेन अफ नेपाल' अहिले उपत्यकाका दर्शकका लागि प्रदर्शनमा छ । रंगभेद, प्रेम, ईष्र्या र धोकाका लागि उत्कृष्ट नाटक मानिएको सेक्सपियरको 'ओथेलो' नेपालीकरणमा पनि त्यत्तिकै सुहाउँदिलो र सान्दर्भिक देखिएको छ ।

ओथेलो -अविरल पन्त) र डेस्डिमोना -सजिया केसी या सृष्टि घिमिरे) भागेर विवाह गरेको सुनेपछि डेस्डिमोनालाई मन पराउने रोडि्रगो -अंकुर न्यौपाने) साथी इयागो -आश्रय दीक्षित) सँग दुखेसो पोखिरहेको दृश्यबाट नाटक सुरु हुन्छ । यहींबाट ओथेलो र डेस्डिमोनाको गहिरो प्रेमलाई टुक्र्याउने इयागोको योजनाले पनि जग हाल्छ ।


उसले रोडि्रगोको दुःखलाई आफ्नो फाइदामा गर्न डेस्डिमोनाको बाबु ब्राबन्सियो र ओथेलोबीच रक्तपात गराउन खोज्छ । तर ओथेलोको संयम र छोरीबाट प्रेम वृत्तान्त सुनेपछि उसको योजना असफल हुन्छ ।


यता मल्लकालमा गोर्खाली राजा पृथ्वीनारायण शाहको आक्रमणबाट बच्न वीर पाल्पाली राजकुमार 'ओथेलो' लाई जेनरल बनाएका मल्ल राजा -पावस मानन्धर) ले ओथेलोलाई आक्रमणबाट नुवाकोट बचाउन त्यता पठाउँछन् । इमानजमानको आवरण लगाएर अरूको कमजोरीबाट फाइदा उठाउने इयागोलाई ओथेलोले धेरै विश्वास गर्ने भएकाले आफू युद्धमा हुँदा डेस्डिमोनालाई नुवाकोटसम्म पुर्žयाउन इयागोलाई जिम्मा दिन्छ । डेस्डिमोनालाई सकुशल नुवाकोटमा भेटदा खुसीले मात्तिएको ओथेलो छिट्टै इयागोको कुराले पतिव्रता डेस्डिमोनालाई लेफि्टनेन्ट क्यासियो -शाश्वत सत्याल) सँग शंका गर्न थाल्छ । सुन्दर डेस्डिमोना र ओथेलोको पि्रय रहेको क्यासियोसँग बदला लिन इयागोले जनरलको कान भर्छ । जसको पनि कुरा छिट्टै विश्वास गर्ने ओथेलोको कमजोरीको फाइदा उठाउँदै इयागोले ओथेलोलाई प्रेमीबाट ईष्र्याले जलिरहेको हिंस्रक जनावरमा रूपान्तरण गर्छ । ओथेलोले शंकैशंकामा ईष्र्याको आगोमा उसले दिएको 'पछ्यौरी' बाटै निर्दोष डेस्डिमोनाको हत्या गर्छ । तर डेस्डिमोनाको हत्यापछि मात्र ओथेलोले इयागोकी पत्नी इमिलीबाट उसले आफ्नो गल्ती थाहा पाउँछ र आफूलाई धिक्कार्दै आत्महत्या गर्छ ।

यसरी नेपालीकरण 'ओथेलो' को वीरता, यात्रा र प्रेम पाल्पा, नेपाल खाल्डो हुँदै नुवाकोटमा गएर टुंगिन्छ । ओथेलो यस नाटकको प्रमुख पात्र भए पनि इयागोको भूमिका जोडदार छ । इयागो 'ओथेलो' को निर्देशक र भगवान् दुवै हो । नाटकमा उसले आफ्नो स्वार्थका लागि अरू पात्रबाट जे चाहन्छ, त्यो चतुरताका साथ पाउँछ । नाटक उसको योजनामा चलेको छ । आश्रय दीक्षितले गरेको खलनायकी इयागोको भूमिका प्रशंसनीय छ 'ओथेलो' का कलाकारहरू प्रोफेसनल नभए पनि उनीहरूमा अभिनय गर्ने क्षमता देखिन्छ

सेक्सपियरको 'ओथेलो' लाई निर्देशक इलम दीक्षितले नेपाली बनाउन भेनिसलाई नेपाल खाल्डो र साइप्रसलाई नुवाकोट बनाएका छन् । 'ओथेलो' ले सन् १७४४ ताकाको काठमाडौं उपत्यका र नुवाकोटको कला, संस्कृति, वेशभूषालाई नाटकमा उतारेको छ । साजसज्जामा सेट डिजाइनर माया लामा, वेशभूषामा सकिल कुँवर र मिता होसालीका साथै 'मास्टर ड्रमर्स अफ नेपाल' को संगीतले नेपाली स्वाद दिएको छ भने प्रकाश र ध्वनिमा महेन्द्र तुलाधर र साथीहरूको कार्यले ओथेलोलाई सुन्दर बनाएको छ ।

नेपाल सेक्सद्वारा आयोजित 'ओथेलो' पाटनको रातोबंगला हलमा शुक्रबारबाट प्रदर्शन सुरु भएको छ । मिता होसाली निर्माता रहेको २ घन्टाभन्दा लामो यो नाटक आगामी बिहीबारदेखि शनिबारसम्म पनि देखाइनेछ ।

साभार: कान्तिपुर दैनिक

 

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map