कला र शैली»

कोरियन ड्रामा क्रेज

स्मिता मगर

काठमाडौ, २०६६ माघ १७ - 

बिहान उठेर धूप बालेझैं लिलिसा श्रेष्ठका लागि हरेक साँझ रुँदारुदै हास्ने र हाँस्दाहाँस्दै रुने दैनिकी बनेको छ । यो दैनिकीमा उनलाई दिदी-बहिनीले पनि साथ दिन्छन् । लिलिसाको यो रुवाइ हँसाई कोरियन ड्रामाले गर्दा सुरु भएको हो ।


'
कोरियन ड्रामामा म ह्याङ भएकी छु,' कोरियन ड्रामा भनेपछि हुरुक्कै हुने उनले भनिन् । सेर्फड कलेज अफ मिडिया एन्ड टेक्नोलोजीमा स्नातक गरिरहेकी २२ वर्षे लिलिसा पहिलेदेखि नै कोरियन फिल्मको फ्यान थिइन् । कोरियन ड्रामा 'माई गर्ल' हेरेदेखि फिल्मभन्दा पनि ड्रामातिर झुन्डिइन् । उनका अनुसार यी टिभी सिरियल हेर्दा समय गएको पत्तै हुँदैन । 'हेर्न सुरु गर्žयो भने झुन्डिएको झुन्डै भइन्छ,' उनी थप्छिन् । रोमान्टिक कमेडी ड्रामा मन पराउने उनले भर्खरै कोरियामा सफल पछिल्लो ड्रामा 'यु आर ब्युटिफुल' हेरिसकाइन् ।


रातोपुलस्थित उनको डेरामा 'माइ फेयर लेडी,' 'पार्टनर,' 'टि्रपल' जस्ता पछिल्ला ड्रामा थुपि्रएको भए पनि उनलाई ती अहिल्यै हेर्न मन छैन । 'केही थप विकल्प खोज्दैछु,' उनले भनिन्, 'केही दिनमा महाबौद्धतिर लाग्नुछ । त्यहाँ अरु नयाँ ड्रामा आएको भए पहिले त्यो हेर्नुपर्ला ।
'

लिलिसाजस्तै कोरियन फिल्म र ड्रामाका क्रेजी युवाले खोज्ने डिभिडिहरूको माग पूरा गर्न महाबौद्धमा मात्रै झन्डै ६० को हाराहारीमा सिडी पसल छन् । तीमध्ये एकदमै भीड हुने एनडिज फास्टफुड अगाडिको 'सिडी पसल' का बिक्रेता सुनील शाक्यले अहिले कोरियन फिल्म भन्दा ड्रामाको बिक्री धेरै भएको बताए । 'केही समययता राम्रा कोरियन फिल्म नआएकाले पनि हुनसक्छ ड्रामातिर लगाब बढेको,' उनको अनुमान छ । उनी कहाँ विशेष गरी स्कुल र कलेजका टिनएजर कोरियन ड्रामा खोज्दै आउने गर्छन् । 'चाइनिज ब्रो'को निकनेम राखेका शुनील आफैंलाई पनि कोरियन ड्रामाको लत लागेको बताउँछन् । 'फिल्म छिटो सिद्धिन्छ' उनले हौसिँदै भने, 'ड्रामा १६/१८ घन्टाको हुन्छ । धित मर्ने गरी हेर्न पाइन्छ ।


सुनीलको पसलमा मन परेको ड्रामा फटाफट खोजिरहेकी सातदोबाटोकी प्रमिला राई र अञ्जीमा राईले आफूहरू कहिलेकाहीं ड्रामा हेर्न रातभर नसुतेको समेत बताए । 'भोलिपल्ट बिहान कलेज हुने भए पनि हामी कहिलेकाहीं रातभर ड्रामा हेथ्र्यौ र नसुतेर नै कलेज जान्थ्यौं,' उनीहरूले लजाउँदै भने, 'ड्रामा हेर्न सुरु गरेदेखि रोक्न गाह्रो हुन्छ ।' धरान पुख्र्यौली घर भएकी प्रमिला पद्मकन्या क्याम्पसमा स्नातक प्रथम वर्ष सुरु हुन लागेकाले ड्रामाको लत कम गरिरहेको बताइन् । 'तर, लागेको बानी रोक्न गाह्रो छ,' हाँस्दै उनले थपिन्, 'हेर्न मन लागिहाल्छ ।
'

अंग्रेजी, हिन्दी, थाई र चाइनिज फिल्म/ड्रामाहरू चीन, इन्डिया र बैंककबाट नेपाल भित्रिए पनि कोरियाली ड्रामा भने नेपालबाटै उत्पादन र बिक्री बितरण गरिन्छ । कोरियाली टेलिभिजनमा टिभी सिरिजको प्रसारण सिद्धिनासाथ नेपालमा पाइहाल्ने यी ड्रामा इन्टरनेटबाट डाउनलोड गरेर वितरण गरिने अर्का वितरक राजेश शाक्यले बताए । सक्कल सिडी आउन धेरै समय कुर्नुपर्ने र महँगो पर्ने भएकाले पनि इन्टरनेटबाट डाउनलोड गरिने उनले बताए । इन्टरनेटमा ओर्जिनल क्वालिटीमै पाइने यी ड्रामा डाउनलोड गर्न काठमाडौं उपत्यकामा अनगिन्ती अनाम व्यक्ति तथा संस्था छ्यापछ्याप्ती छन् । नेपालमा ओर्जिनल फिल्मको मूल्यभन्दा झन्डै एक चौथाइ कम रकममा यी ड्रामा किन्न सकिन्छ ।


'
सबैले इन्टरनेटबाट नै फिल्म र ड्रामाबारे बुझेर हामीलाई सोध्न आउँछन्,' सुनीलले थपे, 'हामीले पनि नेटबाटै डाउनलोड गर्ने हो ।' इन्टरनेट भएकाले सीधै निःशुल्क ड्रामा हेर्न सक्छन् तर डाउनलोड गर्दा लाग्ने समयभन्दा किनेरै हेर्दा रमाइलो र सजिलो भएको लिलिसा थप्छिन्, 'मैले 'बीच एम्युजमेन्ट' को केही एपिसोड नेटमै हेरेकी थिएँ तर डाउनलोड हुन नै यति धेरै समय लाग्यो कि सीधै सिडी किनेर हेरेँ ।


'
वीन्टर सोनाटा' बाट सुरु भएको कोरियन ड्रामाको नेपाली यात्रामा 'ब्बाइज ओभर फ्लावर,' 'फूल हावस' 'कफी पि्रन्स,' 'माई गर्ल,' 'अटम इन माई हार्ट,' 'यू आर ब्युटीफुल' जस्ता ड्रामाको अहिले धेरै माग रहेको बिक्रेताहरू बताउँछन् । टिनएजरहरू धेरैले रोमान्टिक कमेडी लभ स्टोरी मन पराउने भएकाले पनि कोरियन ड्रामाले आकषिर्त गरेको हुनसक्ने उनीहरूको अडकल छ । राजेशले टिनएज केटीहरूले 'ह्यान्डसम' कोरियन नायक भएको र केटाहरूले 'ब्युटीफुल' नायिका भएको धेरै रोज्ने गरेको बताए । 'म पनि सुन्दरी केटी भएको ड्रामा हेर्न रुचाउँछु,' राजेशतिर फर्केर गलल्ल हाँस्दै सुनीलले भने ।


'
अवश्य पनि राम्रा नायक-नायिका भएपछि ड्रामा हेर्न मज्जा आउँछ,' लिलिसाले पनि थपिन् । तर, त्यतिमात्र नभई ड्रामाले कोरियन जीवनशैली र संस्कृति विस्तृतरूपमा बुझ्न मद्दत गर्ने उनको ठहर छ । 'मनोरञ्जन मात्र होइन ड्रामाबाटै मैले कोरिया र कोरियाली संस्कृतिबारे धेरै बुझेकी छु' उनले भनिन् । उनका अनुसार कोरियाली ड्रामामा प्रेम दर्शाउनेदेखि, कथावस्तु फरक र रसिलो हुन्छ ।


यी तन्नेरीहरूकै अनुभवमा रंगभेद र अपमानजनक शब्दहरूको प्रयोग धेरै हुने अंग्रेजी ड्रामा तथा चुइङगम तानेझैं तानिने हिन्दी र नेपाली ड्रामाभन्दा कोरियन ड्रामाले फरक स्वाद पक्कै दिएको छ । प्रेम, बिछोड, पारिवारिक समस्याजस्ता कथावस्तु नै पक्रे पनि प्रस्तुति फरक भएकाले पनि युवाहरू कोरियन ड्रामातिर बढी झुम्मिएका हुन्।

साभार: कान्तिपुर दैनिक

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map