शिक्षा र शैली»

थामी गाउँका पढन्ते बुहारी

-स्मिता मगर

आलम्पु -दोलखा, २०६६ पुस १६ - सुमेरु पर्वतमा हिउँले त्यति नढाके पनि दोलखाको आलम्पु गाविस चिसिँदै थियो । आलम्पु-८ को क्यार्थल गाउँमा घामका किरणले छुन लाग्दै गर्दा २० वर्षे सञ्चीमाया थामी हतारमा खाना पकाउँदै थिइन् । कोदो थन्क्याउने समय भएकाले सञ्चीमायाका सासू-ससुरा बिहानै मेलापात हिँडिसकेका थिए । उनी भने आफ्ना श्रीमान्सँग स्कुल जाने हतारमा थिइन् ।


अरू दिनजस्तै त्यस दिन पनि खानपिन गरिसकेपछि भाँडाकुँडा सफा गरेर हल्का नीलो कमिज, गाढा नीलो स्कर्ट, रातो सुरुवाल, कपाल कोरीबाटी रातो रिबन लगाएर सञ्चीमाया स्कुल जान तयार भइन् । त्यसपछि हतारमै पति नरबहादुरसँग सानो बाटोमा घरी अघि घरी पछि लाग्दै सँगसँगै हिँडेर स्कुलतिर लम्किइन् । झन्डै आधा घन्टापछि उनी आलम्पु गाविस भवनमै सञ्चालित अनौपचारिक शिक्षाको कक्षामा प्रवेश गरिन् ।


नरबहादुरले भने नजिकैको ठम्पु निमाविमा विद्यार्थी पढाउन फटाफट पाइला अघि सारे । यसरी ९ महिनादेखि यो दम्पती स्कुल पढ्न र पढाउन यसैगरी बाटो हिँड्दै आएका छन् । सञ्चीमाया-नरबहादुरको जोडीलाई गाउँलेहरूले 'आलम्पुका नमुना जोडी,' उपनाम दिएका छन् । पती-पत्नी दुवै सँगसँगै पढ्ने आलम्पुमा यो जोडी पहिलो भएकाले यस्तो उपनाम दिइएको हो ।


बाल्यकालमा पढ्न नपाएकी सञ्चीमायाले एक वर्ष पहिले नरबहादुरसँग प्रेमविवाह गरेकी थिइन् । 'विवाहपछि जीवनले अर्कै मोड लिएको छ,' उनले श्रीमान्तिर हेर्दै लजाएर भनिन् । गाउँमा सुरु भएको प्रौढ शिक्षामा उनलाई परिवारले पढ्न प्रोत्साहित गरेपछि पहिलोपटक किताब-कलम समाएकी सञ्चीमायालाई अरू महिलासँगै नरबहादुरले पढाएका थिए । भर्खर २० वर्ष टेकेका नरबहादुर यो वर्ष एसएलसी दिँदैछन् र ठम्पु निमाविमा शिक्षकका रूपमा कार्यरत छन् ।


प्रोढ शिक्षाले सिकाएको क, , ग...ले सञ्चीमायालाई थप अध्ययन गर्ने इच्छा जगाइदिएको छ । गाउँमा वैशाखदेखि सुरु भएको अनौपचारिक शिक्षाको कक्षामा भर्ना हुन उनी लालायित भइन् । उनको पढ्ने चाहनामा श्रीमान्सँगै सासू-ससुराले हौस्याएका थिए । उनको एसएलसीसम्म पढ्ने धोको छ । 'एसएलसीभन्दा बढी पढ्नसके त अझ रहर मेटिने थियो,' उनले भनिन्, 'तर आफ्नै आर्थिक र पारिवारिक कारणले सकिएन भने पनि चिन्ता हुने छैन ।'


कम्तीमा पनि एसएलसीसम्म सञ्चीमायाले पास गरुन् भन्ने चाहना राखेका छन् नरबहादुरले पनि । आउँदो पिढीलाई सबल, सफल बनाउन घरका महिलाले पढ्नुपर्छ भन्ने मान्यता राख्छन् । 'पुरुषको बासको ठेगान हुन्न, त्यसैले परिवार सभ्य र सबल बनाउन महिलाले पढ्नु आवश्यक छ,' उनले सुनाए । महिलालाई जन्म घरभन्दा कर्म घरबाट पढ्नुमा आकाश पातालको फरक हुने भए पनि सञ्चीमायालाई पढ्ने वातावरण बनाइदिन कोसिस गरिराखेको उनले सगर्व सुनाए


सञ्चीमायाजस्ता विवाहित महिलालाई साक्षर बनाउन सुरु गरिएको अनौपचारिक शिक्षामा तीन वर्ष पढेपछि सोझै ६ कक्षा भर्ना हुन पाउने व्यवस्था छ । चिठी लेख्न, पढ्न सक्ने बन्न मात्र भए पनि आलप्पुका विवाहित महिलाहरू पढ्न थालेको स्थानीय शिक्षक पदमबहादुर थामीले बताए । 'केही वर्ष पहिलेसम्म छोरी पढाउने चलन नभएकाले धेरै महिला शिक्षाबाट वञ्चित थिए,' उनले भने, 'अबचाहिँ अनौपचारिक शिक्षाले उनीहरूलाई पढ्ने राम्रो मौका मिलेको छ ।'


दोलखाको दुर्गम मानिने र गरिबीले चेपिएको थामी बस्ती आलम्पुमा केटीको उमेर १५/१६ भएपछि विवाह गरिदिने प्रचलन कायमै रहेकाले उनीहरूको शिक्षामा खासै पहुँच थिएन । यसले गर्दा धेरै किशोरीको विवाह भइसकेको हुन्छ । यदि मागी विवाह भएमा केही वर्ष माइतमा बस्न पाउने भएकाले उनीहरूले अनौपचारिक शिक्षाको कक्षामा पढ्ने अवसर पाउन थालेका छन् ।


दुई वर्षपहिले 'इंगेजमेन्ट' भइसकेकी १५ वषर्ीया गीता थामी अहिले आफ्नो माइतबाटै स्कुल जान्छिन् । उनीसँगै मागी भएकी २० वर्षे तुलसी थामी पनि सामाजिक शिक्षा, गणित, नेपाली, अंग्रेजी र विज्ञानका किताब बोकेर दिनहुँ स्कुल पुग्छिन् । उनलाई महिलासम्बन्धी स्किल विकास गर्ने कार्यकर्ताको रूपमा काम गर्ने चाहना छ ।


एक वर्ष पहिले विवाह गरेकी १७ वषर्ीया रीता थामीलाई सानो छँदादेखि शिक्षिका बन्ने रहर रहेछ । तर, अभिभावकले नपढाएपछि तुहिएको त्यो सपना उनी फेरि पूरा गर्नेक्रममा छिन् । 'मेरो सपना पूरा गर्नुछ र पढ्न पाए शिक्षिका बनेरै छोड्ने विश्वास छ,' केही दिनअघि भेटिएकी उनी भन्दै थिइन्, 'अब पनि अभिभावकले पढ्ने मौका नदिए आफैं अघि सर्नेछु ।'


रीताले जस्तै सपना देख्ने आधा दर्जन बुहारीहरू स्कुल धाउन थालेकोमा आलम्पुको शिक्षित र चेतनशील जमात खुसी देखिएको छ । 'आलम्पुका महिलाहरू विस्तारै शिक्षाप्रति चेतनशील हुनु राम्रो कुरा हो,' बुहारीसँगै छोरीहरूको स्कुलमा उपस्थिति बढेको बताउने शिक्षक पदमबहादुरले भने, 'यसले एक दशकभित्र आलम्पुमा ठूलो परिवर्तन लिनेमा विश्वास गर्न सकिन्छ ।'


साभार: 
 कान्तिपुर दैनिक

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map