कला र शैली»

ग्यालरीमा हाम्रा हजुरआमा

स्मिता मगर/कृष्ण थापा

 

काठमाडौ, २०६६ पुस ८ - हजुरआमा, न्यानो काख, अनि सानो छँदा हरेक रात सुत्नु अघि सुरु हुने 'एकादेशका राजकुमार-राजकुमारीका कथा...'

हजुरआमा भन्नासाथ यी कुरा सम्झनामा झल्झली आउन सक्छन् । यस्तै सम्झना खोतल्न आमहडतालको अन्तिम दिन मंगलबार ५० वषर्ीया सावित्री भण्डारी -राई) मीनभवनबाट हिँडदै बबरमहलस्थित आर्ट काउन्सिल पुगिन् । ग्यालरीमा जारी तस्बिर प्रदर्शनी  'हाम्रा हजुरआमा' हेर्ने उनी बन्द झेलेरै पुगेकी थिइन् ।


ग्यालरीको भित्तामा हजुरआमाको चाउरी परेको गाला देख्दा उनले सोलुखुम्बुमा हजुरआमाको पाइला पच्छाउँदै कुदने दिनहरू सम्भिन्, जतिबेला उनी ६/७ वर्षकी थिइन् । डेढ वर्षको उमेरमै आमा गुमाएकी सावित्रीका लागि हजुरआमा नै सबथोक थिइन् ।

'
हजुरआमाको बेस्सरी याद आयो,' उनले भनिन्, 'आफ्नै हजुरआमा चाउरी गाला, उनले टेक्ने लौरी र पिंढीमा उभिएको उनको प्रतिबिम्ब झल्झली याद आयो '

बिहे गरी चितवन पुगेकी सावित्रीकी हजुरआमा बितेको पच्चीस वर्ष बितिसकेको छ । प्रदर्शनी चहारिसकेपछि उनका आँखा रसाए । 'मेरा हजुरआमाका झैं यी सबै हजुरआमाहरूको कथा, व्यथा र चाहना भिन्न छन् यी फोटामा,' उनी भन्दै थिइन्


कथा बुझ्न सजिलो के थियो भने सबै तस्बिरहरूसँग हजुरआमाहरूका जिन्दगीसँग जोडिएका कथा विवरण राखिएका थिए । यी सबै पढेपछि 'हरेक हजुरआमासँग एक प्रकारको सम्बन्ध महसुस भएको' ललितकला क्याम्पसमा प्लस टु गरिरहेकी यशु मगराँतीले बताइन् ।

'
बजुहरूको फोटोमात्र होला भन्ने लागेको थियो' उनले भनिन्, 'उनीहरूको जीवनका रमाइला र जानकारीमूलक कथा पनि रहेछन् ।' बन्दको दिन सावित्री झै उनी पनि फुपू-फुपाजुसँग सानेपाबाट हिँडेरै आर्ट काउन्सिल आइपुगेकी थिइन्


धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा आमसञ्चार स्नातक गरिरहेका काठमाडौंका सुनिल पाण्डे यशुसँग सहमत भए, 'हो त, फोटासँगै राखिएका यी वर्णनले हरेक हजुरआमाहरूसँग साँच्चिकै साइनो गाँसे झैं हुने रहेछ ।' बच्चैदेखि काठमाडौं बसेका सुनिललाई काभ्रे बस्ने हजुरआमालाई वर्षको एकपटक भेट्न गएको बाल्यकाल याद छ । यतिबेला उपचार गर्न काठमाडौं आएकी हजुरआमाले सानोमा आगो अगाडि बसेर सबैलाई लोककथा, दन्त्यकथा र भूतकथा सुनाएको धमिलो याद सुनाए सुनिलले । 'हाम्रो जीवनशैलीले पनि हजुरआमासँग धेरै समय बिताउने अवस्था दिएन,' उनले थपे, 'तर हजुरआमासँग थोरै याद पनि महत्त्वपूर्ण र हृदय नजिकका छन् ।'

सुनिल जस्तै आधुनिक जीवनशैलीमा रहेका नयाँ पुस्तालाई प्रदर्शनीले हजुरआमा पुस्तासँग जोडिदिएको छ । प्रदर्शनीमा हजुरआमाको जवानीदेखि १९९० सालको भुइँचालोको पीडा, उनीहरूले बाँच्न गरेको संघर्ष र इराकमा एघार नेपाली मारिएको घटनासम्म छन् । तस्बिरहरू उहिले र अहिलेको नेपाललाई जोड्ने सेतु बनेका छन्, जहाँ २५० वर्ष पहिलेदेखिका संस्कृति, इतिहास, जीवनशैली, परम्परा र ती सबै हराउँदै गएका यो समयको प्रतिबिम्ब पाइन्छ ।


शुक्रबार सुरु एक साते प्रदशनीका १२ वटै तस्बिरमा हजुरआमाहरूको कथा र जीवनी छ । नब्बे सालको भूकम्प सम्झँदै धापासीकी ८६ वर्षे खड्गकुमारी थापाले भनेकी छन्, 'उपत्यकाका काठ र इँटाले बनेका अग्ग्ला मन्दिर, दरबार र घरहरू चर्किए र भत्किए । मानिसहरू धुलोमा मिसिए ।' जनकपुरकी इज्योतियादेवी आफ्नाबारे भन्न नचाहँदा नचाहँदै पनि भनेकी छन्, 'म गवाँर छु, अनपढ छु । मेरो त खलकै गँवार छन्, क्यै जान्दैनन् । यै हो मेरो कथा ।'

धनकुटाकी लीलामाया राई आफ्ना उमेरकालाई भनिरहेकी हुन्छिन्, 'यी सडकहरू, यी विकासका कुराहरू, अहो, हामी त निकै छिटो जन्मिएछौं हगि !


तस्बिरमा प्रेम र सपनाका कुरा पनि छन् । खैरेनीटारकी राममाया प्रजाको त्रिशूलीको सुसेसीसँगै हुर्केको प्रेमकथा कम रोचक छैन । अहिले नाति नतिना हेरेर घरदैलो कुर्ने यी हजुरआमाले जवानीमा प्रेमीले तीनवटा दारबाट बनाएको डुङ्गामा त्रिशूली तरेर भागेपछि जीवन थालेकी थिइन् । राममायाझै रोमान्टिक हृदयकी रोल्पा टिलाकी हजुरआमा दिलशरा बुढामगर उड्न मनपराउँछिन्, '...मेरो मनमा धेरै इच्छा छन् । मलाई उड्न, ठाउँ घुम्न, तीर्थयात्रामा जान, संसार हेर्न मनलाग्छ ।
'

हजुरआमा कतै इतिहास बोकेर बसेका छन् त कतै आशा । इतिहासमा लुकेको कथा व्यथा र चाहना बुझ्न नयाँ पुस्ताका लागि प्रेरणा हुनेछ प्रदर्शनी ।


'
फोटोग्राफर र लेखकबीच मिलेर काम गर्ने शैली विकास गर्न यसो गरिएके हो,' आयोजक फोटोसर्कलका भूषण शिल्पकारले भने । गत मे महिनामा सात फोटोग्राफर र ६ लेखकबाट सुरु भएको थियो योजना । फोटोग्राफर थिए, ध्रुव आले, गौरवध्वोज खडका, नयनतारा गुरुङ कक्षापति, प्रतीक राजभण्डारी, रकी प्रजापति, सुधीर भण्डारी र सुशान प्रजापति ।

चित्तवन, दाङ, बन्दीपुर, गोरखा, काठमाडौं, पर्सा, कास्की, रोल्पा र धनुषाका हजुरआमाहरू समेटिएको प्रदर्शनी शुक्रबारसम्म चल्नेछ

 

साभार:  कान्तिपुर दैनिक

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map