शिक्षा र शैली»


डाक्टर पढाउने सपना

स्मिता मगर

काठमाडौ, २०६६ पुस २ - नाम नेहा झा । उमेर बीस वर्ष । मैतीदेवीको युनिभर्सल कलेजमा स्नातक तेस्रो सेमेस्टरकी विद्यार्थी । करिब तीन वर्षअघि राजधानी छिर्दा मनमा थियो, डाक्टर बन्नुपर्ला । मनको कुरो सबै कहाँ पूरा हुन्छ र ?


'
मेरो पनि त्यस्तै भयो,' यी हँसिली किशोरी बोलिन्, 'आफू डाक्टर नबन्ने भइयो, तर डाक्टर बन्नेलाई पढाउँछु ।' जीव रसायन (बायो केमेस्ट्री) विषय पढ्दै गरेकी यी छात्रालाई यो आँट त्यसै आएको होइन । डाक्टर बन्नेले यो विषय अनिवार्य पढ्नुपर्छ । , उनीहरूलाई पढाउन नेहाको अहिलेको लगन पढ्नमै छ ।

उनी सप्तरीबाट एसएलसी पास गरेर आएकी हुन् । दाजु डाक्टर थिए । त्यही भएर उनको लक्ष्य पनि डाक्टर बन्नेमै जोडिएको थियो । जीव रसायन पढ्ने कुरा सोचेकी पनि थिइनन् । आखिर पढाइ त बायो केमेस्ट्रीमै भयो।


'
पहिलोपल्ट प्लस टुमा यो विषयको नाम सुनेको थिएँ,' उनले सम्भिन्, 'विषयको नाम मनमा बसिरहेको थियो, आखिरमा यही पढ्नु रैछ ।' पछिपछि विषयबारे उत्सुकता बढ्यो । अझै पढ्ने सोच थिएन । प्लस टु सकेपछि डाक्टर बन्ने सपना पूरा गर्न एमबीबीएसका लागि कोसिस गरिन् । तर उनले सोचेजस्तो भएन ।

'
मलाई यही विषय पढ्न जुरेको रैछ,' उनले भनिन्, 'पहिले के हो जस्तो लागेथ्यो, अब त रस बसिसक्यो, यसैमा मज्जा छ ।
'

अहिले उनलाई यो विषय पढ्न दाजु र परिवारले पनि साथ दिएका छन् । र, उनले डाक्टरी सपना छाडेर डाक्टर पढाउने सपना बुन्न थालेकी छन् । स्नातकपछि एमएस्सीलगत्तै एमबीबीएसलाई पढाउने धोको छ उनको । नाम अगाडि 'डाक्टर' लेख्न त्यसपछि उनले यही विषयमा पीएचडी गर्ने छन् । भनिन्, 'डाक्टर त आफू पनि लेख्नुपर्žयो ।
'

नेहामात्रै होइन, उनीजस्ता थुप्रैमा यस्तो सपना छ । युनिभर्सलमै सातौं सेमेस्टर गरिरहेका चितवनका सरोबर घिमिरे अर्का त्यस्तै विद्यार्थी हुन् जो खासमा डाक्टर बन्न चाहन्थे । तर सोचेजस्तो भएन । एमबीबीएसमा नाम ननिस्केपछि नयाँ विषय पढ्ने रहर भयो । साथीबाट जीव रसायनबारे सुनेँ र भर्ना भएँ ।


'
सबै डाक्टर र इन्जिनियर भनेर एकै दिशामा कुदिरहेका बेला मलाई अलि फरक बाटो रोज्न मन लाग्यो,' सरोबरले भने । अहिले उनी आफ्नो सेमेस्टर टपर छन् । उनलाई लागेको छ आफू सुहाउँदो विषय रोजिएछ, जसले उनलाई सफलतातिर डोर्žयाइरहेको छ ।


सरोवरको इच्छा रिसर्च साइन्टिस्ट बन्ने थियो । प्लस टु गर्दा आइज्याक एसिमोभका साइन्स फिक्सन उपन्यासका फ्यान थिए । आफूलाई मनपर्ने रसियन लेखक चर्चित जीव रसायनविज्ञ पनि रहेछन् भन्ने उनले जीव रसायन पढ्दा बल्ल थाहा पाए । बालाजु निवासी यी रौसे युवाले सुनाए, 'अब मेरो लक्ष्य क्यान्सरसम्बन्धी बुझ्ने र औषधि पत्ता लगाउनेतर्फ केन्दि्रत छ '

मानव शरीरभित्र हुने सम्पूर्ण रासायनिक तथा जैविक प्रक्रियाहरूको अध्ययन गर्ने विषय हो, जीव रसायन । यसको परिभाषा आफैंमा असीमित छ । रसायन विज्ञानको स्रोत मानव शरीर हो । प्राणीमा हुने रसायन र तिनका क्रिया तथा प्रतिक्रियाको विषेश अध्ययन यसले गर्छ ।


पोखरा विश्वविद्यालयले करिब एक दशकअघि यो विषय सुरु गरेको हो । जीव रसायनमा स्नातक सकेका बानेश्वरका सौरभ शाह स्कुल पढ्दै एचआईभी/एड्सको औषधि पत्ता लगाउन चाहन्थे । त्यसका लागि जीव रसायन विषय पढ्नुपर्छ भन्ने थाहा पाएपछि उनी किन अरू विषय रोज्थे ? अहिले युनिभर्सलमा शिक्षक पनि भएका छन् उनी ।

'
पाँच वर्षपछि जेनेटिक्सको जमाना सुरु हुन्छ भन्ने लाग्छ,' उनले सुनाए, 'सन् २०१५ सम्म आइटी विधामा हाराहारी जनशक्ति पूरा भएको हुनेछ । त्यसपछि जीव रसायनमा सबैको ध्यान जानेछ ।' उनलाई के पनि लागेको छ भने विविधताका कारण नेपाल जीव रसायन सम्बन्धित विभिन्न अनुसन्धानका लागि सबैभन्दा उपयुक्त ठाउँ हो ।

'
हाम्रोजस्तो औषधिमूलक जडीबुटीहरूको धनी देश जीव रसायनमा केन्दि्रत भयो भने देशको विकासमा ठूलो सहयोग हुनेछ,' उनले सुनाए, 'यसले आर्थिक तथा सामाजिक विकासमा टेवा दिन सक्छ ।' नेपालमा यसको क्षेत्र अहिलेसम्म विस्तार भएको छैन ।


'
सबैले एमबीबीएस नै पढ्नुपर्छ भन्ने छैन, यो पनि राम्रो विकल्प हुन सक्छ,' उनले भने । भविष्य हुँदाहँुदै केही कलेजले यो विषय बन्द गरे । धेरैले बुझेनन् । राजधानीको नोबेल र किस्ट कलेजले यो विषय बन्द गरे । अहिले युनिभर्सलमा मात्र पढाइन्छ ।


नेपालमा जीव रसायन पढेकाहरूले अहिले अस्पतालका प्रयोगशाला, खाद्य प्रविधि, कृषिसम्बन्धी अध्ययन गर्ने उद्योगहरूमा काम गरिरहेका छन् । स्नातकोत्तरका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सिट यो विषयका विद्यार्थीका लागि सुरक्षित छ ।

'
स्नातकोत्तर गर्न भारत जानुपर्ला,' नेहाको सोचाइ छ । सरोबरचाहिँ अमेरिका लाग्ने तरखरमा छन् । स्नातकोत्तर सकेर नेपाल फर्किने र यहाँका जडीबुटीबारे अध्ययन गर्ने योजनामा छन् उनीहरू । देशमा थोरै जीव रसायन विज्ञ छन् । बनाउने होइन त यी थोरैमा आफ्नो छुट्टै पहिचान ?

 

साभार:  कान्तिपुर दैनिक

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map