कला र शैली»

ठमेल स्टि्रट फेस्टिभल

   याकितोरी, याकिसोबा र तामाङ सेलो

स्मिता मगर


 

काठमाडौं, २०६६ कार्तिक १६ - चाचा क्याफेका हर्ताकर्ता हाता इसानुले बाँसुरीमा शास्त्रीय राग सुनाइरहेका बेला जापान माइती भएकी नेपाली बुहारी साचिको होरियोले 'ल्याइदेऊ मलाई पछ्यौरी मखमल' गीतमा भर्खरै नाची सिध्याएकी थिइन् ।

 
ठमेल मलस्थित किलरोइज बारसामुको गल्ली आइतबार खचाखच थियो । नेपालमा बस्दै आएका जापानीहरू कोही आफ्नो चिनारीका खानपिन तयार गर्नमा व्यस्त थिए, कोही लत्ताकपडा र गुडियाका ग्राहक तानिरहेका थिए ।

 
'
दालचिनी, सुन्तला र ल्वाङ हालेर हाउस वाइन उमालेमा यसले अर्कै स्वाद दिन्छ,' इसानु छिनभरमा आफ्नो स्टलमा देखिए, 'राँगाको मासुमा आलु र अण्डा मिसाएर बनाइएको यो याकितोरी मेरो मौलिक खाना हो, तपाईँले यो स्वाद कतै भेट्नुहुने छैन ।'

 
जापानी ठमेल एसोसिएसन र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग -जाइका) ले नेपालमा रहेका जापानीको सांस्कृतिक क्रियाशीलता देखाउन हरेक वर्ष गर्दै आएको स्टि्रट फेस्टिभलमा यसपाला पनि एक दर्जनभन्दा बढी जापानी र सम्बद्ध स्वयंसेवी संस्था संलग्न रहे ।


'
नेपालमै सिकेका र आफ्नै सांस्कृतिक चिनारी देखाउन पनि यो महोत्सव चल्ने गरेको छ,' एसोसिएसन अध्यक्ष आयाको योकोयामाले भने । जाइकाअन्र्तगतका अधिकांश स्वयंसेवी धेरैजसो नेपालीमा संवाद गर्न रुचाइरहेका भेटिए । तामाङ सेलो, मादल र सारङ्गीका नेपाली धुनहरू पनि उत्तिकै कर्णपि्रय सुनिए ।

 
'
मलाई अक्टोपसको स्वाद मीठो लाग्यो, बास्ना पनि उस्तै तान्ने थियो,' फेस्टिभलको रमझममा भेटिएकी कोटेश्वरकी अनुपमाले भनिन् । १२ वर्षदेखि नेपाल बस्दै आएकी साचिको होरियोले नेपाली ढाका-चौबन्दीमा छमछमी नाचेको हेरेर उनी त्यो दृश्य 'नेपाली नर्तकीलाई भुलाउने' भन्दै प्रतिक्रिया दिइरहेकी थिइन् । होरियोको बज्रयोगिनी चर्या नृत्य पनि एक अभ्यस्त साधकले गरे झैँ परिपक्व थियो । फेस्टिभलमा पाटन सामुदायिक पुनःस्थापना संस्था, एकल महिला उद्यमी समूह, महिला शिल्प विकास तालिम केन्द्रलगायतको सहभागिता थियो । 

'
नेपाल हाम्रा लागि कर्मभूमि हो, यहाँ आएर हामीले संस्कृति र चालचलनका धेरै कुरा सिकेका छौं,' एसोसिएसन अध्यक्ष योकोयामाको भनाइ थियो, 'खानपिन र संस्कृतिका आफ्ना कुरा पनि हामीसँग छन्, यसबेला नेपाल-जापान स्वाद र संस्कृतिको आदानप्रदान भइरहेको छ ।'

 
'
हुनलाई म जापानी ज्वाइँ हुँ, तर ज्वाइँभन्दा पनि ज्वाइन्ट रिलेसनका लागि यो भीडमा आएको हुँ,' नर्तकी होरियोका श्रीमान् केशव सापकोटाले सुनाए, 'आफूले गर्दै आएका सांस्कृतिक काम गर्न र देखाउन यी जापानी बढी उत्साहित भएका हुन् ।'


नेपाल इन्टरनेसनल कल्चरल एक्सचेन्ज ग्रुपका निर्देशकसमेत रहेका सापकोटाले आफ्नी श्रीमती होरियोको नेपाली नाचलाई खुलेर प्रशंसा गरे । 

 
काठमाडौंमा रहेका जापानिज रेस्टुराँहरू इत्ते, कोतेत्सु, मोमोतारो, मिमोसा, चाचा, फुजी बेकरी, काल्डीबाट जापानी भिन्न-भिन्न स्वादका खानपिनको स्टल राखिएको थियो । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोगका स्वयंसेवीले भने कफी, अग्र्यानिक तरकारी, महिला उत्पादन सामग्री बिक्रीमा राखेका थिए ।


साभार: कान्तिपुर दैनिक

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map