कला र शैली»

"नेपालमा लोक संगीतको खानी छ"

स्मिता मगर

 

काठमाडौं - पश्चिमाहरू संगीतको मौलिक र सिर्जनात्मक खानी पहिल्याउँदै भारतीय उपमहाद्वीपसम्म आउने ट्रेन्ड अब त्यति नौलो रहेन । केही वर्षयता नर्वेली ब्लुज गितारबादक कुनुट रेयरस्रुड पनि संगीतको यस्तै मौलिक स्वादको खोजीमा नेपाल धाइराखेका छन् ।


नेपाल म्युजिक सेन्टर र कन्सर्ट नर्वेले संयुक्तरूपमा आयोजना गरेको 'हिमालयन ब्लुज फेस्टिभल' को अवसर पारेर मंगलबार काठमाडौं आइपुगेका 'मास्टर अफ स्टि्रङ' का नामले चिनिने कुनुट नेपाली संगीतकर्मीहरू धेरै भाग्यमानी रहेको अनुभव सुनाइरहेका थिए । 'यहाँका मान्छेहरू हामीभन्दा लोक संगीतमा धेरै धनी र भाग्यमानी छन्,' उनले भने, 'पश्चिमा लोकसंगीत करिब-करिब हराइसकेको छ । तर नेपालका मौलिक र पारम्परिक लोकसंगीत अझै उत्तिकै जीवित छ '


बहुआयामिक ब्लुज संगीतकर्मी कुनुटले उनको दुई दशक लामो संगीतयात्रामा नर्वेको मात्र नभई अपि|mकी, इन्डियन, अमेरिकी लोकसंगीतमा पनि एकसाथ भिज्दै आएका छन् । अहिलेसम्म विश्वका विभिन्न ठाउँमा ५ हजारभन्दा बढी कन्सर्ट गरिसकेका कुनुटले नेपाली लोक लय र संगीत यहाँको जीवनसँग गाँसिएर बसेको बताउँछन् ।


नयाँ ठाउँमा पुगेर त्यहाँको लोकसंगीत सिक्ने र त्यसलाई आफ्नै मौलिक संगीतमा ढाल्ने स्कान्डेभियन प्रान्तको सबैभन्दा चर्चित गितारबादक कुनुटले बुधबार नेपाल संगीत विद्यालयमा संगीतका नेपाली विद्यार्थी र संगीतप्रेमीका माझ आफ्नो परख देखाएका थिए । 'नेपाली लोक गीतहरू एकदमै उदार, स्वतन्त्र र फैलाउन चाहेमा फैलाउन मिल्ने खालका हुन्छन् । त्यस्तै ब्लुज पनि सरल भैकन आयाम फैलाउन सकिने हुन्छ,' भन्दै उनले कुनै पनि प्रकारका संगीतलाई कसरी ब्लुज शैलीमा ढाल्न सकिन्छ भनेर सिकाएका थिए


गितारबाट मन्दिरमा झुन्डिएका घन्टीको आवाज निकाल्नेदेखि उनले उपस्थित सिकारुलाई ब्लुजका विभिन्न सांगीतिक नोट्स सिकाएका थिए । कार्यशाला बीचबीचमा आफ्नो म्युजिकको स्वाद चखाउँदै ब्लुज संगीतको इतिहास र संसारका विभिन्न ठाउँको ब्लुजबारे उनले बोलेका थिए । 'संगीत भनेको अनुभव गर्नु हो । त्यसैले म्युजिक सिर्जना गर्नेबेला धेरै सोच्नुहुन्न,' उनले सुनाए, 'नत्र संगीतको आत्मा मर्छ ।' भावनामा बगेर आफूले जे अनुभव गरिरहेको हुन्छ, त्यो संगीतमा उतार्नुपर्ने उनले सुझाए । कुनुटले नेपाली संगीतकर्मीले अर्को देशको गायक/बादक जस्तो बन्न कोसिस गर्नुभन्दा आफ्नै देशको लोकधूनलाई अध्ययन गरेर, बुझेर र खोजेर आफ्नै मौलिक संगीत बनाउनुपर्ने सल्लाह पनि दिए ।


कुनुटका शब्दमा उनको प्रस्तुति ब्लुज भए पनि त्यसको 'प्याकेजिङ' बिटल्स परम्पराको पश्चिमी युरेपेली प्राचीन धून र भारतीय तथा अपि|mकन लोकसंगीतको समिश्रणमा नर्वेजीयन शैलीको हुनेगरेको छ । उनको संगीतले सम्मोहित भएका दर्शक कार्यशालामा उनलाई केही सोध्नुभन्दा बढी उनका औंलाहरूले 'स्टि्रङ' मा गरेको जादु सुन्न र थाहै नपाई कर्ड फेरेको दृष्य हेर्न बढी लालायित देखिएका थिए । गीतारको हरेक झंकारमा दर्शक/स्रोताका खुट्टाहरू पनि तालमय बनिरहेका थिए, ताली अनवरत हुन्थ्यो ।

दुई घन्टाको प्रशिक्षण कार्यक्रम सिद्धिएपछि कुनुटसँग फोटो खिचाएर खुसी हुँदै हल बाहिर निस्केका प्लस टुमा अध्यनरत २० वर्षे रवीन्द्र सुनुवारले पहिलोपटक यसरी गितार बजाएको देखेरै अचम्मित बनेको सुनाए । 'वाह, उनको संगीतमा जादु छ,' अन्डरग्राउन्ड ब्यान्ड 'द किलर एक्स' का गितारबादक समेत रहेका रवीन्द्रले हतारिँदै भने, 'उनीजस्तो विश्वका चर्चित गितारबादकलाई भेट्न र केही कुरा सिक्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु ।'


योभन्दा पहिले २००३ मा नेपाल आएको कुनुटले नेपाली शास्त्रीय संगीतको ब्यान्ड बज्रसँग मिलेर 'हिमालय ब्लुज' नामक सिडी निकालेका थिए । अहिले पनि उनको बज्रसँग समय मिलेमा रेकर्डिङ गर्ने योजना छ । नेपाल संगीत विद्यालयसम्बद्ध र 'गिगी एन्ड द गिगा बाइट्स्' का रकर इमानविक्रम शाहले कुनुटबाट धेरै सिक्ने अवसर पाएको बताए । 'कुनुटजस्ता उत्कृष्ट गिटारिस्टबाट सिक्न पाउनु संगीतकर्मीका लागि एउटा सुवर्ण अवसर हो भने श्रोताका लागि मनोरञ्जन अवसर,' उनले भने । कुनुटले बजाउँने कार्यक्रममा उनको ब्यान्ड प्रस्तुतिसमेत छ ।


आगामी साता 'भुडु विथआउट किलिङ चिकेन' एल्बम निकाल्न नेपालबाट यही शनिबार कुनुट नर्वे फिर्नेछन् । बुधबारदेखि राजधानीमा सुरु भएको 'हिमालयन ब्लुज फेस्टिवल- २००९' आउँदो आइतबारसम्म चल्नेछ । कुनुटले आउँदो शुक्रबार केशरमहलस्थित गार्डेन अफ डि्रम्जमा ब्लुजका नेपाली र विदेशी श्रोतालाई आफ्नो स्टि्रङ्ज परख सुनाउनेछन्।

आश्विन २३, २०६६
साभार: कान्तिपुर दैनिक

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map