|
कला र शैली»
कलाकारको दसैं स्वाद आ-आफ्नै !
कान्तिपुर संवाद्žदाता स्मिता मगर
- उमेरमा ६० उकालो लागेका गायक गणेश रसिक यसपालि दसैंको खुसियाली मनाउन सपरिवार इलाम घर पुगेका छन् । काठमाडौंको डेराघरमाहुने रमझम भुलेर आफ्नै घरमा दसैं मान्न उता पुगेका उनको दसैं उत्सव निकै आनन्दमयी भएको छ ।
'यताको हावापानी, आफन्तजन र आफ्नो घरको न्यानोपनाले पनि खुसी बाँढ्न धेरै सहयोग गरेको छ,' उनले फोनमा भने । फिक्कल छेउको घरबाट सानो फुर्सदमा पनि इलाम बजार, पशुपतिनगर र दार्जिलिङ घुमघाममा जान पाइने आनन्द उनले यसपाला बटुले । साथमा दार्जिलिङका गायक मणिकमल क्षेत्री, शान्ति ठटाललगायतको सांगीतिक संगत पनि उनका लागि स्मरणीय रह्यो । खाना, आहारबिहारमा सात्विक रसिकले खानपिनभन्दा पनि आफन्तजनसँगको आत्मीयतामा दसैं बिताएका रहेछन् ।
काठमाडौंमा हुने गायक, सर्जक, कलाकारको पनि मस्ती आफ्नै काइदाको रह्यो । सधैं झैं दसैंमा नयाँ लत्ता-कपडा, मिस्ठान्न भोज र देवी देवताका पूजा-आजाका साथै विभिन्न मनोरञ्जनका खेलहरू गरेर बिताउने सर्जकहरू पनि यहाँ भेटिए ।
दसैंलाई मासु, रक्सी र आशीर्वादको चाडका रूपमा लिने 'तितो सत्य' का कलाकार दीपकराज गिरीको यसपटकको दसैं पहिलेभन्दा खासै फरक नभएको बताउँछन् । 'सामान्य तरिकाले मनाइयो,' उनले भने 'स्वास्थ्यको कारण दुई तीन प्याकभन्दा बढी पिउन परिवारले दिएनन् तर आफन्त र साथीभाइसँग भेटघाट गर्दा रमाइलो नै भयो ।' उमेरसँगै दसैंको रौनकता पनि घट्दै जाने उनको अनुभव छ ।
'पहिलेपहिले कसैले नचिन्दा बाटैमा बसेर भए पनि पिउन मिल्थ्यो, अब अलि चिनिने भएकाले मिल्दैन,' उनले भने । आफू 'सेलिबि्रटी' भएपछि आफूलाई बदल्नु परेझै उनलाई दसैं मनाउने परम्परा पनि बदलिएको अनुभव भइरहेको छ, दीपकराजलाई । 'पहिले दसैंमा गाउँघरतिर नाँचगान गरेर, लिङ्गे पिङ र रोटेपिङ खेलेर रमाइलो गरिन्थ्यो । अब यी सबै लोपोन्मुख अवस्थामा छन्,' दीपकले चिन्ता व्यक्त गर्दै भने, 'यस्तै हुने हो भने केही वर्षमा दसैं केवल मासु र रक्सीको पर्व बन्नेछ ।'
दीपकले काठमाडौंमै दसैं मनाए पनि नायिका रेखा थापाले भने प्रत्येक वर्ष झै योपटक पनि दसैं उनको जन्मस्थल मोरङमा मनाइन् । तर, सधैं पिङ खेलेर दसैं मनाउने रेखाले यसपटक भने पिङ खेल्ने रहर मेट्न पाइनन् ।
सप्तमीको दिन चोभारमा पछिल्लो फिल्म 'बाटो मुनिको फूल' को छायाँकनमा व्यस्त नायिका अस्टमीमा घर पुगेकी थिइन् । तर, घर पुगेपछि फिल्मको छायाँकन गर्दा धेरै लाइट-रिफ्लेक्सन भएकोलेआँखा एलर्जी भएर दसैं राम्ररी मनाउँन नपाएको उनको भोगाइ छ ।
बुबाको मृत्युशोकलेगर्दा टीका लगाउन नपाए पनि मीठा चीज खान र आमा तथा आफन्तजनलाई भेट्न गएको रेखालेबताइन् । 'दसैं भनेको जीवित भगवान् भनेर मानिने आमा-बुवा, ठूला-बडाले टीका लगाइदिएर आशीर्वाद दिने पर्व हो,' उनी भन्छिन् । उनलाई बच्चामा आमा-बुबाले दसैंमा 'नाम कमाउँनु भनेर दिएको आशीर्वाद केही रूपमा भए पनि पूरा भए'झैं लाग्छ,त्यसैले पनि दसैंको आशीर्वाद धेरै महत्त्वपूर्ण लाग्छ । तर, आफन्तलाई भेट्दा बित्तिकै तास खेेलिहाल्नु पर्ने प्रवृति बढेकाले उनलाई नरमाइलो पनि लाग्छ । 'धेरै विकृतिहरू आएका छन्, दसैंको महत्त्व लोप हुने हो कि भनेर डर लाग्छ,' उनले भनिन्, 'यो महत्त्वपूर्ण चाडलाई आउँदा पुस्ताहरूका लागि मात्र भए पनि बचाउनु जरुरी छ ।'
मोरङमा पहिले झै रातो टीका,जमरा लगाएर ठाउँ-ठाउँमा पिङ राखेर खेल्ने चलन यसपटक निकै कम देखिएको उनले बताइन् । 'युवाहरू बाहिर गएकाले पनि यो बिडम्बना आएको हुनसक्छ,' उनी भन्छिन् ।
यता गायक सुगम पोखरेल पनि चार वर्षपछि विराटनगर गएपछि आफन्तजन र पुराना स्कुले साथीहरूसँग भेटघाट गरेर दसैं मनाएको बचाउँछन् । 'छोरीएन्जेलिजालाई पहिलोपटक पुर्खौली घर लगेकाले पनि यो दसैं धेरै महत्त्वपूर्ण भयो,'उनले भने । सुगमको टोलका ५०/६० घरले सँगै जमरा राखेका र भजन-कीर्तन गरेर मनाएका थिए ।
सुगमका बुझाइमा पहिलेभन्दा उनलाई देशको अवस्था अस्थिर हुँदै गए पनि यसपटकको दसैं एकदम रमाइलो र शान्तपूर्ण लाग्यो । 'यसपालि दसैं सबै रंग-रूप, वर्ग र जात-जातिले मनाएको पाइयो । राजनीतिक पार्टीले जे भन्छन्,त्यो समाजले मान्छ भन्ने छैन भन्ने प्रमाणित भएझै लागेको छ,' उनले भने । आफ्नो सामथ्र्यभन्दा बढी खर्च गनर्ुपर्ने मानसिकताबाट हटेर तास-रक्सीको लिमिट आफैंले तोक्नुपर्ने सुझाव उनको छ ।
'पानी पानी भयो मेरै मन पनि...' की गायिका नलिना चित्रकारको दसैं भने अझै सकिएको छैन । शुक्रबार आफन्तहरूको टीकाटालोमा व्यस्त नलिना शनिबार पनि आफन्तकहाँ टीका थाप्नमा व्यस्त हुनेछिन् । सुगम झै फूलपातीको दिन काठमाडौं उपत्यका छाडेर जनकपुर पुगेकी नलिनाले पनि आफन्त भेट्दै दसैं मनाएकी थिइन् । 'आराम र रमाइलो गरेर बित्दैछ यसपटकको दसैं,' उनले भनिन्, 'यसका साथै तास खेल्न नआए पनि अलि-अलि पिएर मस्ती गरिदै छ ।'
आफू बच्चा हुँदा आ-आफ्नो कौसीमा भेला भएर मंगलधून बजाउँदै सबै आफन्तजन र छिमेकीसँग चङ्गा खेलेको याद गर्दै 'अहिले त झन्डै आधा जतिले चङ्गाउडाउँने संस्कृति छाडेका छन्,'भनिन् । राजनीतितिर पनि चासो राख्ने यी गायिकाले भने यसपटकको दसैं देशको राजनीतिक अस्थिरताले गर्दा खुला मनले मनाउन नपाएको अनुभव सुनाइन् । 'देशको संस्कृतिलाई सरकारले बढावा दिन पर्नेमा कतै चुकेको हो कि भन्ने लागेको छ,' उनले भनिन् ।
गायक आभाषले भने नलिनाको कुरासँग असहमत हुँदै 'बितेका वर्षभन्दा पनि यो वर्ष नेपालीहरूले दसैं उल्लासपूर्णरूपमा मानेको हो कि' भन्ठानेका छन् । 'पहिले यति धेरै काठमाडौं सुनसान हुँदैन थियो,' उनले भने । 'समय र जीवनशैली परिवर्तनसँगै आधुनिकतामा विकृति आउनु सामान्य हो । गुनासो गरेर केही हुँदैन, विस्तारै सामाजिक चेतनाले फिल्टर गर्दै लग्नुपर्छ,' उनी भन्छन् ।
धार्मिक रूपमानभई सांस्कृतिकरूपमा आफूले दसैं मान्ने गरेको बताउँने आभाषले यसपटक आमा र गुरुसंगीतकर्मी अम्बर गुरुङ दम्पतीको हातबाट टीका-जमरा लगाएको बताए । दसैंकै लागि भनेर विषेश केही काम नछुट्टाएका आभाष पहिले पहिले नेपालका विभिन्न ठाउँ साथीहरूसँग घुम्नजान्थे तर यसपटक काठमाडौंमै बसेर संगीत अभ्यासका साथै नयाँ कम्पोजिसन सिद्धयाएकाउनले बताए । यसका साथै उनले दसैं छुट्टीमा आरोन कोपल्यान्डको ह्वाट टु लिसन फर इन म्युजिक को किताब पनि पढ्न सुरु गरेका छन् । 'राजनीतिक रुपमा या जातीय रूपमा जे-जस्तो विश्वासहरू सुरु भए पनि दसैं समस्त नेपालीलाई एकैठाउँमा बाँध्न स्थापना भएको संस्कृति हो, यसलाई नकार्न मिल्दैन,' उनले भने ।
आश्विन १८, २०६६ साभार:कान्तिपुर राष्ट्रिय दैनिक
|