जिन्स, टिसर्ट र गिटार पुस्ता

स्मिता मगर

 

काठमाडौं, आश्विन ५ - लामो-लामो कपाल पालेका, टिसर्ट र जिन्स पाइन्टमा सजिएका रकस्टार झैँ देखिने युवाहरू गत मंगलबार स्टाइल- स्टाइलका गिटार बजाउँदै थिए । उनीहरूले बजाएको धुनसँगै गौशालाको नेपाल संगीत विद्यालय प्राङ्गण संगीतमय बन्दै थियो ।

 
'
गिटार माएस्ट्रो २०१०' को अडिसनमा आएका यी १८ देखि ३० वर्षसम्मका तीन दर्जनजति युवा आआफ्नो पालो अधैर्य बनेर कुर्दै थिए । पालो कुर्नेमा केही नर्भस भए पनि सहज देखिन प्रयासरत ललितपुरका रविकुमार श्रेष्ठले साथीसँगै त्यही बसेर अभ्यास गर्न थाले । अघिल्लो दिनमात्र अडिसनबारे थाहा पाएका स्नातक विद्यार्थी रविले आफैले कम्पोज गरेको इस्टन क्लासिक र स्पानिस मिक्स म्युजिकबजाउने बताए । 'तर हतारमा गरेकाले म्युजिक स्ट्रक्चरमा अलि अलमल भैराखेको छ,' कुम छुनै लागेको घुर्मे-कपाल मुसार्दै रविले भने ।

 
खानै नखाएर बिहानको दस बजेदेखिसाथीसँग अडिसनका लागि पर्खिराखेका ज्याजमब्लुज गिटारिस्ट ल्यारी कार्लटनका फ्यान रवि भोकले चुर थिए । दिउँसो तीन बज्न लागेकाले घडी हेर्दै उनले भने, 'भर्खर सुरु भयो । भोक लागिसक्यो, आफ्नो भने पालो अन्त्यतिर छ । बाहिर गएर केही लिएर खानुपर्ला ' रवि बसेको केही पर अर्को कुनामा 'गि्रन डे' का बिली जो आम्स्ट्रङको हेयर स्टाइल भएका केही युवा भुइँमै पलेंटी कसेर सुख्खा चाउचाउ चपाइराखेका थिए । त्यही छेउमाकुर्सीमा बसेर गिटार बजाइराखेकी हिसी डोल्माले तीन महिनाको ट्रेनिङले सायद अडिसनमा नचुनिए पनि प्रयास गर्ने बताइन् । 'सेलेक्ट होला नहोला तर प्रयास गर्छु,' एनसीसीएस कलेजमा प्लस टु गरिरहेकी हिसीले भनिन्, 'भाग्यले साथ दियो भने चुनिन पनि सक्छु नि '

 
त्यतिबेला नै क्लासिक गिटार बोकेर अडिसन रुमबाट बाहिरिएका कृष्ण डंगोललाई हिसीका साथै अरू सहभागीले एकैछिनमा घेरिहाले र प्रश्न वषर्ा भइहाल्यो । 'खै, कस्तो, कस्तो भयो,' काठमाडौंको कलश ब्यान्डका गिटारिस्ट पनि रहेका कृष्णले भने, 'थोरै नर्भस भइयो, हात पनि कता गयो कता ।' इलेक्ट्रोनिक गिटार लिनुपर्ने रहेछ भन्दै चुकचुकाउँदै उनी घरतिर लागे ।


नेपालमा पहिलोपटक हुनलागेको राष्ट्रिय गिटार प्रतियोगिता 'गिटार माएस्ट्रो २०१०' को काठमाडौंको अडिसनमा गायक निमा रुम्बा,मुक्ति एन्ड रिभाइभल ब्यान्डका मुक्ति शाक्य, रकर इमान शाह, सुनित कंसाकार, बैजु राई र गरिमा गुरुङ शाहले निणर्ायकको भूमिका निभाइराखेका थिए । एकदर्जन सहभागीको गिटार बजाइ- हेरेपछि मुक्तिले 'अहिले नै केही भन्न मिल्दैन तर सोचेको भन्दा राम्रा नै आएका छन्,' भने । अर्का निणर्ायक बैजु राईले युवाहरूको गिटारप्रति लगाव देखेरप्रभावित भएको बताए । 'अहिलेका युवाहरू गिटारमा गम्भीर भएर लागेका रहेछन्,' उनले भने, 'यस्ता अवसर र मौका पाउने हो भने नेपालबाट इन्टरनेसनल स्तरका गिटारवादक निस्कने सम्भावना धेरै छ ।'बैजुलाई साथ दिँदै बि्रटेनदेखि आएका गिटारिस्ट जेरायनले आफू पनि नेपालका युवाको गिटारप्रति रहेको क्रेज देखेर खुसी व्यक्त गरे ।'नेपालका युवाहरूमा गिटारप्रति धेरै आकर्षण रहेछ, यो आफैँमा राम्रो कुरा हो,' रायनले भने ।

 
काठमाडौंका साथै पोखरा, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, बुटवल, चितवन, हेटौंडा, धरान, विराटनगर र झापामा अडिसन गरेर १ सय गिटारिस्ट छान्नेछन् ।सिग्राम रोयल स्टाग र नेपाल संगीत विद्यालयको सहयोगमा टकाम फिल्म प्राइभेटलिमिटेडले आयोजना गर्ने गितार माएस्ट्रो २०१० नेपाली गितारबादक युवाबिचको ट्यालेन्टहन्ट हो । 'प्रतियोगिताद्वारा गिटारिस्टहरूको प्रोमोसन गर्नेछौं,' टकाम फिल्म प्राइभेट लिमिटेडका इभेन्ट म्यानेजर विनोद शर्माले भने ।


अडिसनबाट छानिएका सयबीच प्रतिस्पर्धा हुने उनले बताए । टप टेन प्रतियोगीलाई एसएमएस भोटका साथै निणर्ायक मतले छानिने छ । टप टेनबीच भ्यालेन्टाइन डे -फेब्रुअरी १४) मा याक एन्ड यति होटेलमा टाइटलका लागि होड हुनेछ । विजेताले एक लाख नेपाली रुपैयाँका साथै दुईलाखको यूकेबाट आएको गिटार र कार्यक्रमबाट निकालेको एल्बमको रोयल्टिी समेत पाउने शर्माले बताए ।

साभार: कान्तिपुर दैनिक
 

 

 
 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map