असरल्ल किताब

स्मिता मगर

किताबको रासमाथि ध्वाँसो पोतिएजस्तो दृश्य देखिन्छ । धूलोले छोपेका किताब कतै डोरीले बाँधेर बन्डलमा राखिएका छन्, केही छरपस्ट । साझा प्रकाशनको पुल्चोकस्थित मुख्यालयको किताब गोदामको दृश्य हो यो जुन महिनौं र वर्षौंदेखि उस्तै छ ।

साझा प्रकाशनभन्दा बाहिरबाट बिक्रीका लागि ल्याइएका र थन्किएर बसेका पुस्तकमा निकै नाम चलेकादेखि नामै नसुनिएकासम्मको रास छ । बच्चैदेखि किताबलाई सरस्वती मानेर ढोग्ने बानी लागेका नेपाली पाठकलाई भित्ते र्‍याकमा पुस्तक तल्र्याङ्तुर्लुङ झुन्डाइएको दृश्य अनौठो पनि लाग्छ । 'कोठामा यताउता गरेका बेला दुई/तीनपटक किताबको चाङमा ठोकिएन भने त अचम्मै हुन्छ,' स्टोरकिपर लक्ष्मण पोखरेलले हाँस्दै भने, 'अब त यो रासमा छिर्ने र पुस्तक खोज्ने बानी परिसकेको छ ।'

पोखरेलका अनुसार गोदाममा २०२२ सालमा प्रकाशन भएदेखिका पुस्तक थुपि्रएका छन् । संख्या मात्रै १ करोडको हाराहारी अनुमान छ । १० रुपैयाँदेखि ३ हजार रुपैयाँ मूल्यसम्मका पुस्तक थन्किएका छन् ।

उपन्यासकार धुव्रचन्द्र गौतमको उपन्यास 'मौन' देखि डायमण्ड शमशेरको 'धनको धब्बा' र कवि श्रवण मुकारुङको नाटक 'यलम्बर' सम्म थुपि्रएका छन् । सबैभन्दा बढी नबिक्ने र थुपि्रने सूचीमा कवितासंग्रह छन् । 'किरा, धमिरा र मुसाबाट जोगाउन औषधि पनि छर्कन्छौं,' पोखरेलले भने ।

साझाले बिक्रीका लागि किताब लिनुभन्दा पहिले प्रकाशक वा लेखकसँग सम्झौता गर्ने गरेको र सम्झौता गरेको तीन वर्षपछि बिक्री नभएका किताब फिर्ता लानुपर्ने सर्त रहने गरेको प्रशासन शाखाका प्रबन्धक धीरेन्द्रराज खनालले बताए । 'तर यो सम्झौताको कार्यान्वयन फाट्टफुट्टले मात्रै गर्ने गरेकाले यहाँ गोदाम भरिएको हो,' खनाल भन्छन् । साझाका अर्का एक कर्मचारीका अनुसार पटकपटक आफ्नो किताब लिन आउनुस् भन्ने सूचना प्रकाशन गर्दा पनि स्रष्टाहरू नआइदिनाले किताबको रास लागेको हो । लेखकहरूको ध्यानाकर्षण गर्नकै लागि भए पनि डोजर लगाएर गोदाम खाली गर्नुपर्ने स्थिति आइसकेको उनी बताउँछन् । 'तर पुस्तक जस्तोमा डोजर लगाउन पनि मिलेन,' उनले भने ।

गोदाम भरिनुमा लेखक, प्रकाशक तथा वितरक सबैको उत्तिकै कमजोरी रहेको साहित्यकार ध्रुवचन्द्र गौतमको भनाइ छ । साझाका पूर्वमहाप्रबन्धकसमेत रहेका गौतमले भने, 'सबै पुस्तक नबिक्लान् तर जति बिक्री हुनुपर्ने हो नहुनुमा साझाको वितरण प्रणाली उचित नहुनाले हो ।'

उनका अनुभवमा राम्ररी सुरक्षा नगरिदिने र बजारमा समयमा नपुर्‍याइदिनाले पनि पुस्तकको रास जमेको हो तर प्रकाशन शाखाका एक कर्मचारी भने बजारमा बिक्री नभएका र हुन नसक्ने पुस्तक गोदाममा बुझाइने 'बाध्यता' सुनाउँछन् ।

 

गोदाममा पुस्तक थन्किनेमध्येका कवि श्रवण मुकारुङ भने 'साझा प्रकाशनले स्वतन्त्ररूपमा पुस्तक प्रकाशन गर्नेलाई असमान व्यवहार गरेको' बताउँछन् । 'हाम्रा किताब बजारमा समयमै पुर्‍याइँदैन, प्रदशनीमा पनि राखिँदैन जब कि हाकिम, कर्मचारीका किताब भने ठाउँठाउँमा समयमै पुर्‍याइने गरेको छ ।'

लेखकको समस्या आफ्नै छ । 'आफ्ना किताब घरमा राखेर पनि के गर्ने ? बिक्री संयन्त्र छैन । मेरा केही पुस्तक साझामा थन्किएका होलान्,' उपन्याकार गौतमले भने । यता साझाका प्रबन्धक खनाल पनि स्रस्टाहरूको सहमतिमा गोदाममा थन्किएका पुस्तक पुस्तकालयलाई दिन सकिने सुझाव दिन्छन् । उनले साझाको दायित्वभित्र नभएका पुस्तक माग गरिएको अवस्थामा निःशुल्क दिन थालिएको पनि बताए । 'किरालाई ख्वाउन किन थुपार्ने ? पुस्तकप्रेमी संस्था र समुदायलाई बाँड्न थालेका छौं,' उनले भने । फेरि कवि मुकारुङ भने पुस्तकलाई बजारमै नपुर्‍याइ पुस्तकालयमा दिनु अर्को बदमासी हुने तर्क राख्छन् ।

गोदाममा 'जेल जर्नल' लगायतका केही बिकाउ पुस्तक पनि छन् जसलाई साझा कर्मचारीका अनुसार 'स्टक' मा राखिएको हो, गोदाममा थन्क्याइएको भने होइन ।

 

साभार: कान्तिपुर नेपाली राष्ट्रिय दैनिक

चैत ६, २०६५

--------------------------

 

टुँडिखेलमा ताप्लेजुङ

स्मिता मगर

काठमाडौं, चैत १ - ओल्लो कुनामा मगमगाएको तोम्बा, पल्लोमा मुखै रसाउने बङ्गुरको भुटन र चौरको बीचमा लिम्बूहरूको नाँचौंनाचौं लाग्ने धान नाच । ताप्लेजुङको यो रंगरस शुक्रबार दिउँसो काठमाडौंको टुँडिखेलमा देखियो ।

 

शुक्रबार सुरु दुईदिने ताप्लेजुङ मेलामा सुदूरपूर्वी पहाडी जिल्लाका एक होइन, अनेक झलक देख्न पाइयो । याकको छुर्पी, हातबाट बनेका धागाका कपडा, जडिबुटी औषधिसहितका ७५ स्टल आफैंमा घुमिरहुँझैं थिए ।  पहिलो दिनमा नै टुँडिखेलमा ठूलो जमात उपस्थित थियो । सांस्कृतिक भेषभूषामा सजिएर आएका युवायुवती पनि हूलमा थिए । त्यही भिडमा धाननाच हेर्दै बङ्गुरको मासु स्वादिलो मानेर खाइराखेकी सोलुखुम्बुकी दिलकुमारी राईले भनिन्, 'ताप्लेजुङको मेला कस्तो होला भन्ने कौतूहल मेटाउन टुँडिखेलभित्र छिरेकी थिएँ, एकदम रमाइलो भइराखेको छ ।'

'ताप्लेजुङलाई चिनौं, ताप्लेजुङसँग रमाऔं' नारालाई अझ बुझाउँदै मेला संयोजक बलबहादुर तामाङले भने, 'ताप्लेजुङमा आन्तरिक तथा बाह्य पर्यटक आकषिर्त गर्न मेला आयोजना गरिएको हो ।' गत फागुन दोस्रो सातामा फुङलिङमै ताप्लेजुङ महोत्सव भए पनि अरू भेगका दर्शकको उपस्थिति त्यति नदेखिएकाले सबैलाई सुदूर थलो चिनाउन काठमाडौंमा अर्को मेला आयोजना गरिएको उनले बताए ।

मेलामा धाननाच नाचिराखेकी गायिका झुमा लिम्बूले जिल्लाका आफन्त भेट्न पाएकामा खुसी हुँदै भनिन्, 'धेरै समयपछि एकैपटक मेरा जिल्लाका यति धेरै आफन्तजन भेट्दै छु, खुसी लागेको छ ।' उनले यो मेलाले ताप्लेजुङका नयाँ कलाकारलाई नयाँ अनुभवका साथै जिल्लाबाहिरका दर्शकसामु चिनिने अवसर दिने बताइन् ।

मेलामा महिला र पुरुष दुवैको डोरी तान्ने खेल प्रतियोगिताले यता खेलाडीलाई मैदानमा उडेको धुलोले फुस्रैफुस्रो मात्र बनाएन, डोरी तान्दा लडिबुडी भएका खेलाडी र तिनलाई हेरिराखेका दर्शक पेट मिचिमिचि हाँसेका थिए । अर्कोतिर भने पुरुष भलिबल प्रतियोगिताको जोस र दुवै टिमले जित्नका लागि बगाएको पसिनाले दर्शकलाई घरिघरि ताली बजाउन बाध्य बनाएको थियो । मेलामा ताप्लेजुङका प्रतिभा मनोज गजुरेल, नवीन सुब्बा, दीपक लिम्बू, जुना प्रसाईंलगायतका कलाकारको जमघट भने शनिबार हुँदै छ ।

मेला प्रसारप्रचार समिति संयोजक टंक श्रेष्ठले तराई बन्दका कारण जिल्लाबाट आउनुपर्ने जति सामान नआएको बताए । 'सबै सरसामान हवाईमार्ग र एम्बुलेन्सबाट ल्याइएका हुन्, बेच्ने सामान त ल्याउनै पाइएन,' उनले थपे ।

 

साभार: कान्तिपुर नेपाली राष्ट्रिय दैनिक

चैत १, २०६५

Posted on: 2009-03-14 00:16:49

-------------------------------------------------

गोठभन्ज्याङमा क्याम्प-फायर

स्मिता मगर

ललितपुर, होली उपत्यकामा रहेका तराईमूलका बाहेकले मंगलबार मनाए । ठूलो जमात रंग दलादल र पानी छ्यापाछ्यापमा मस्त रह्यो । उपत्यका खाल्डामै रहेका तन्नेरीको अर्को जमात भने फागु मनाउन भिन्न उद्देश्यसाथ दलचोकी गोठभन्ज्याङमा थियो ।

 

पचास तन्नेरी करिब तीन घन्टाको कच्ची बाटो छिचोल्दै भट्टेडाँडानजिकैको मनोरम भन्ज्याङमा पुगेका थिए । अंग्रेजी लेखक टमस हार्डीको 'फार प|mम द म्याडिङ क्राउड' मा भनिएझैं उनीहरू एकान्तमा बढी नै आनन्दित देखिन्थे । 

'फागु पूणिर्मा हर्ष र उमंगको उत्सव भए पनि उपत्यकामा पर्वका नाममा विकृति फैलेको छ,' तन्नेरीहरूलाई अगुवाइ गरेर दलचोकी पुर्‍याइसकेपछि युवा अभियानका उपाध्यक्ष रूख गुरुङले भने, 'त्यसको प्रतीकात्मक विरोध जनाउन यहाँ आएका हौं ।' विशेषतः सृजनात्मक कामसँगै कलासंस्कृतिको सम्मान गर्न  दशकदेखि होली यसरी मनाउन थालेको उनले जानकारी दिए ।

राष्ट्रिय युवा सेवा र स्मार्ट क्लबको समेत सक्रियतामा जुटेको हूलमा दन्त चिकित्सकदेखि राष्ट्रिय फुटबल खेलाडी, मोडलदेखि विद्यार्थीसम्म थिए ।

लगनखेलमा मंगलबार बिहानै जुटेको जमात मध्याह्नतिर गन्तव्य पुगेको थियो । सुत्ने र खानेबस्ने चाँजो अभियानले स्थानीय बासिन्दाको घरमै मिलाएको रहेछ । तन्नेरीहरूले गुन्द्रुकको अचारले जिब्रो पड्काउँदै खाना खाए । भोटुडाँडाको हाइकिङमा रमाए । सल्ला र लालीगुँरासले भरिएको भोटुडाँडाको टुप्पाबाट उपत्यकाको क्रंक्रिट जंगल देखिए पनि सहभागीहरू वीरगन्ज सहरतर्फ लालायित भए तर तुवाँलोले तराईको औद्योगिक नगरीलाई ढपक्क ढाकेको थियो ।

घुमघामपछि गोठभन्ज्याङ पुग्नुको खास काम सुरु भयो ।

युवाहरू भोटुडाँडाबाट अलि तल मनकामना मन्दिरमा झरे । मन्दिर फुङ्ग उडेको थियो । साथै ल्याएको पेन्ट, चुना, कुचोले उनीहरू मन्दिरका भित्ता उजिल्याउन थाले ।

'गोरखाको मनकामनाकै प्रतिरूप मानिने यो मन्दिरमा वैशाखमा मेला लाग्ने भएकाले गाउँलेले रंगरोगन गर्न आग्रह गरेका थिए,' युवा अभियानका महासचिव विपिन पोखरेलले भेद खोले । सहरी युवालाई गाउँले जीवनको झल्को दिनु पनि उद्देश्य रहेको उनले बताए ।

तन्नेरीहरूले मन्दिर परिसरमा सरसफाइ पनि गरे । विगतमा अभियानले ललितपुरको बिष्टाछाप गाउँमा बाटो खन्ने, खेलमैदान, पानीट्यांकी बनाउने गरेको रहेछ ।

'साह्रै रमाइलो भयो,' एनआरटीका फुटबल खेलाडी बालगोपाल साहुखलले भने, 'थप सामाजिक काम गर्नुपर्ने थियो ।'

युवा जमघटबाट दलचोकी गाविसका निवर्तमान अध्यक्ष रामशरण आलेमगर पनि कम उत्साहित थिएनन् । 'यिनले हाम्रो गाउँको विकासमा लाग्न हौस्याएका छन्,' उनले सुनाए ।

दलचोकी गाउँ जान प्रत्येक सहभागीबाट ४ सय रुपैयाँ लिइए पनि आनन्द र उत्साहसामु त्यो नगण्य भएको प्रत्येकको अनुहारले बताइरहेको थियो ।

उपत्यका खाल्डाबाट 'पहिलोपल्ट बाहिर निस्केकी' काठमाडौंकी नर्सिङ विद्यार्थी प्रविना कर्माचार्य दलचोकी जाने बाटामा लालीगुराँस हेर्नमा मग्न थिइन् ।

'एकदम रमाइलो लागिराखेको छ । प्रकृति र गाउँले जीवनको मज्जा लिँदै होली फरक तरिकाले मनाउन पाइयो,' उनले भनिन् ।

तन्नेरीले डन्डीबियोलगायतका खेलबाट पनि आनन्द उठाए । मध्यरातमा गितार र मादल बजाए, गीत । मंगलबार रात पूर्णेको जून उदाएपछि क्याम्पफायर सुरु भयो जसले झनै लोभ्यायो । क्याम्पफायरको तातोमा दोहोरी खेल्ने र आलु पोलेर खानेहरू पनि रौसिए ।

-प्रशिक्षार्थी

साभार- कान्तिपुर नेपाली राष्ट्रिय दैनिक

Posted on: 2009-03-11 19:03:26

-------------------

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map