पर्दामा पश्चिम

स्मिता मगर

काठमाडौं, सुदूर र मध्यपश्चिम नेपाललाई बुझ्न गाउँठाउँमै जानुपर्छ भन्ने छैन । हालै एक समूहले चलचित्र बनाएको छ, जसमार्फत सुदूरपश्चिमका कला, संस्कृति र जनजीवनलाई नजिकबाट नियाल्न सकिन्छ । 

सुदूरपश्चिमी सामाजिक/सांस्कृतिक पक्षमाथि निर्माण गरिएको कथानक चलचित्र 'गौरी' राजधानीमा मंगलबार प्रदर्शन गरियो । सञ्चारकर्मीमाझ पहिलो प्रदर्शन गरिएको 'गौरी' मा पश्चिम नेपालका बासिन्दाले रोजिरोटीका लागि गर्नुपरेको संघर्ष देखाइएको छ । गरिबमाथि ठालुले शताब्दियौंदेखि गरिआएको शोषण, छुवाछूत र यीबाट छुटकारा पाउन गरेको संघर्ष छ । कथा सुदूरपश्चिमको भौगोलिक सुन्दरता र सामाजिक/सांस्कृतिक विविधताको परिवेशबाट अघि बढ्छ ।   


सतीशकुमार सिन्हाद्वारा निर्देशित फिल्ममा गौरा
, ओल्क्या संक्रान्ति, भाइटीका र बिसुजस्ता परम्परागत चाडको प्रसंग पनि छ । गायिकाबाट नायिका बनेकी चाँदनी मल्ल र नायक पि्रतम कठायत -शंकर) लाई अशिक्षा र गरिबीको सिकार देखाई उनीहरूलाई यसबाट उत्पन्न सामाजिक विकृतिविरुद्ध लड्न प्रोत्साहन पनि गरिएको छ ।

उनीहरूको प्रेम प्रसंग र जीवनशैलीमार्फत लोपोन्मुख पानीघट्ट, कोल, पानीघडी, ढिकी, लिखौटी, महिलाले लगाउने गाउन, झगुली र ठिन्का थैलीलाई देखाउन खोजिएको छ । पश्चिमको परम्परागत विवाह शैली, डेउडा नाच, मगरहरूको पैसारु र मारुनी नाच पनि कथासँगै गाँसिएर आएका छन् ।

फिल्ममा पश्चिम नेपालको स्वाद बोकेका पाँच गीत सामेल गरिएका छन् । राधिका हमाल, भुवन दाहाल, चाँदनी मल्ल, पवित्रा भण्डारी र शंकरसिंह विष्टले स्वर दिएको 'क्यान सुसाउँदैन...', 'बेच्ने चेली खान्या पैसा...', 'नैनतालकी मधुली...' लगायत बोलका गीतले फिल्ममा जति सुमधुरता भरेको छ, त्यत्तिकै पश्चिम नेपाली समाजको पहिचान दिलाएको छ ।

डोटीतिरको वेशभूषा र भाषामा धेरै देखिए पनि फिल्ममा ९ वटा जति भाषिकाको मिश्रण पाइन्छ जसले गर्दा भाषा बुझ्न अलि गाह्रो महुसुस हुन्छ । सबटाइटल राखिदिएको भए निकै राम्रो हुन्थ्यो ।

चल्तीको नेपाली चलचित्रकै कथावस्तु र प्रस्तुतिमा पछ्याएकाले 'गौरी' मा पश्चिम नेपालको सामाजिक/सांस्कृतिक परिवेशबाहेक नयाँपन केही छैन । एउटै कथामा केन्दि्रत नभएकाले फिल्म सलल बगेको छैन । गीतहरू सबै सुदूरपश्चिमको भाषा र लयमा भए पनि फिल्मको ब्याकग्राउन्ड म्युजिक भने चल्तीकै नेपाली सिनेमाको कपीजस्तो लाग्छ ।

फिल्मका सबै कलाकार सुदूरपश्चिमका छन् र कुनै प्रशिक्षणबिना नै यत्तिको अभिनय गर्न सकेकाले उनीहरूको अभिनयको प्रसंशा गर्नैपर्छ ।

सुदुरपश्चिमको कला, संस्कृति र जीवनशैलीका साथै प्राकृतिक सुन्दरतालाई पर्दामा उतार्ने प्रयास नै फिल्मको महत्त्वपूर्ण पक्ष हो ।

सुदूरपश्चिमको संस्कृति बुझ्न फिल्मले निकै सघाउन सक्छ र हेर्दा रमाइलो महसुस पनि हुनेछ । '१८ गते युनाइटेड वल्र्ड सेन्टर त्रिपुरेश्वरमा फेरि देखाउँछौं,' निर्माता खड्गबहादुर मल्लले भने, 'देशका विभिन्न ठाउँमा छिट्टै प्रदर्शन गर्ने योजना छ ।'

भाद्र १०, २०६६

साभार: कान्तिपुर दैनिक

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map