जङ्गल म्यानको कथा
-स्मिता मगर
काठमाडौं, कुमसम्म लत्रेको जंगली कपाल, चराहरूको प्वाँखबाट बनेको कछाड अनि हातमा धनुवाण । उनी 'इकु' हुन्, अर्थात नेपाली 'टार्जन' । यी 'इकु' (सुलेमान शंकर) यतिबेला राजधानीका विभिन्न सिनेमा हलहरूमा छाइरहेका छन्, सागर लामिछानेद्वारा निर्देशित फिल्म 'इकु: द जंगल म्यान’ मा ।
एउटा टेलिभिजन शृंखलाको जंगली पात्रलाई समातेर बनाइएको 'इकु' चल्तीको फर्मुला चलचित्रभन्दा केही भिन्न छ। मानव समाजमा घटेका अनेक घटना र समस्यामा सहयोग पुर्याउने सकारात्मक पात्र -हिरो) को रूपमा जंगली मान्छे इकुलाई उभ्याइएको छ । टार्जनकै प्रभावको फोटोकपीजस्तै एउटी सहरिया युवतीले जंगलीमान्छेलाई मन पराउँछिन् । इकु सहर आउँछ, चलचित्रको क्लाइमेक्समा चाहिँ पुनः जंगल फिर्ती ।
मुख्यकथा फिरौती गिरोहले एक बालकको अपहरण गरेको घटना सेरोफेरो घुम्छ । अपहरित सुसन -आकाश खरेल) तिनै जंगली मान्छेले बचाउँछन् । यसक्रममा इकु रूखका लहरामा तर्लाङ तुर्लुङ झुन्डिएर भिलेनसँग लड्छन् । यही क्रममा प्रेममा फसेर डेटिङ गएकी तर बलात्कारको सिकार हुन आँटेकी एक युवती नेहा (उषा रजक) को प्रवेश हुन्छ । जंगलमा अब नेहालाई बचाउने कर्तव्य पनि इकुकै । उनी सुसन र नेहालाई रूखमा झुन्डिएको सानो छाप्रामा बास दिन्छन् । जंगल घुमाउँछन्, माछा, वनकुखुरा, धनुषले मारेर खुवाउँछन् ।
इकु एकदिन उनीहरूसँगै काठमाडौं सहर आउँछन् । डिस्कभरि च्यानलमा चिम्पाञ्जीहरू झै ऐनामा आफूलाई देखेर अचम्मित हुन्छन् । तर उनले सहर जंगलभन्दा डरलाग्दो पाउँछन् । सहरिया रौनक र झिलिमिलीले छुँदैन । फेरि आफ्नै घर जंगल फर्किन्छन् ।
'मेरी बास्सै' टेलिशृंखलामा देखिएको इकु पात्रलाई लिएर चलचित्र बनाइएको हो । 'मेरी बास्सै' मा झै चलचित्रलाई हास्यप्रधान बनाउन खोजिएको छ । का बेइमान अर्थात रवि डंगोल नकारात्मक भूमिकामा छन्, यद्यपि तोतेबोली र 'पाँचमिनेट' थेगोबाट उनले आफ्नो हास्यचरित्र बचाउन खोजेका छन् ।
चलचित्रमा एउटै गीत रहेको छ, 'इकु...इकु...' जुन रमाइलो लाग्छ । संगीत भने कमजोर । छायांकन ठीकै छ तर समय समयमा आँखालाई असजिलो बनाउने तरिकाले क्यामेरा चलेकाले दृश्य अस्पस्ट हुन्छ । केही दृश्य दोहोरिएका छन्, जसले खल्लो अनुभव गराउँछ । 'टार्जन' बनेका सुलेमान र 'पाँच मिनेट' रविको अभिनय राम्रो छ। टेलिशृंखलाका कलाकार अधिक रहेको चलचित्र झन्डै टेलिशृंखलाकै स्वादमा छ, चल्तीको मसला फिल्म रुचाउनेका लागि मनोरञ्जक नहुन पनि सक्छ । बालबालिकालाई भने तान्न सक्छ ।
देशभरका १७ हलमा प्रदर्शन भइरहेको 'इकु' अर्को सातादेखि ३७ हलमा चल्ने बताइएको छ । हास्यप्रधान चलचित्र भएकाले बच्चादेखि बुढासम्मले रुचाएको सुलेमानको दाबी छ । मायाप्रेम, एक्सन र पारिवारिक ड्रामाका चलचित्रका बीचमा केही भिन्न भएकाले दर्शकले चासो पनि दिएका छन् । हौसिएको सुलेमान भने चलचित्रको अर्को शृंखला पनि बनाउने योजनामा छन् ।
जेष्ठ ५, २०६६
साभार: कान्तिपुर राष्ट्रिय दैनिक
Posted on: 2009-05-18 20:13:57
----------------------------------------------
तकदिरको तरंग
बेनुप भट्टराई/स्मिता मगर
काठमाडौं, शरीरका थोरै अंग छोपिने धेरै देखिने पहिरनमा सेक्सी देखिएकी झरना थापाले 'मोइ मोरीलाई लान परदेशी आउँछ रे' गाउँदै छङछङ बगिरहेको खोलामा कम्मर लच्काई नाच्दा मंगलबार राजधानीको गोपीकृष्ण मुभिजमा 'तकदिर' चलचित्र हेरिरहेका दर्शक हौसिए । अल्लारेवयका कतिपय कुर्सीबाट उठेर नाच्ने मुडमा देखा परे । लय, संगीत र दृश्य आकर्षक भएकाले चलचित्र हेरिरहेका दर्शकले गीत बजुन्जेल पर्दाबाट आँखा अन्त लगेनन् ।
चार मिनेट ११ सेकेन्डसम्मको गीत बज्नुअघि भने चलचित्र हेर्ने दर्शक खासै खुसी थिएनन् । चर्चा धेरै भए पनि सुरुबाटै अपत्यारिला दृश्य र कथा केन्दि्रत चलचित्रमा नमिलेका सन्दर्भमा खलनायकको आगमन, नायिकामाथि आक्रमण, नायकको प्रतिकार र एकअर्काबीच मायाप्रेमजस्ता परम्परागत प्रयोगले दर्शक खल्लो महसुस गर्दै थिए । 'चार वर्षपछि चलचित्र हेर्दा पनि निर्माण शैलीमा खासै परिवर्तन आएको पाइएन,' वैदेशिक रोजगारनिम्ति मलेसिया बसेर फर्किने क्रममा चलचित्र हेर्न आएका झापाका दुर्गाराज देवानले भने, 'नेपाली चलचित्र उस्ताको उस्तै ।'
ठूलो लगानीमा निर्मित नयाँनयाँ भारतीय चलचित्र प्रदर्शनमा नआएका बेला यसै सातादेखि राजधानीका विश्वज्योति, गोपीकृष्ण, बाराही मुभिजलगायत हलमा प्रदर्शनमा आएको 'तकदिर' ले दर्शकबाट राम्रा नराम्रा दुवै प्रतिक्रिया पाएको छ । प्रेम, बिछोड, द्वन्द्व र मिलन समेटिएको चलचित्र सनातन पाराकै भएपनि तुलनामा अरू नेपाली चलचित्रभन्दा बढी दर्शक तान्न सफल हुँदैछ । कथावस्तु फितलै भए पनि प्रस्तुति र निर्देशनपक्ष अपेक्षाकृत सबल भएकाले 'तकदिर' अरू सालाखाला नेपाली चलचित्रभन्दा माथि छ ।
झरना थापाद्वारा निर्मित र दीपक श्रेष्ठद्वारा निर्देशित 'तकदिर' मा विराज भट्ट -सागर), झरना -पूजा), दिलीप रायमाझी -राज), नन्दिता केसी -लिलिमा), केशव भट्टराई -मास्टर), सुशील पोखरेल -सुब्बा), शर्मिला मल्ल -यशोदा) लगायतको अभिनय छ । प्रेमकथामा आधारित चलचित्रमा गाउँले परिवेशमा रमाइराखेकी पूजाको जीवनमा अँध्यारो छाउँछ । बुबाले लिएको ऋण समयमै नतिरेपछि उसले गाउँकै सुब्बासँग विवाह गर्नुपर्ने सर्त हुन्छ । ऋण तिर्ने म्यादसम्म बाबुछोरी काठमाडौं जाने सोच बनाउँछन् ।
त्यसैले केही दिनका लागि भनेर पूजा आफूलाई सुखदुःखमा साथ दिने बच्चैदेखिको स्विटहार्ट सागरलाई गाउँमै छाडेर राजधानीतिर लाग्छे । बुबा रोजगारीका लागि विदेश गएपछि ऊ बुबाको मिल्ने साथीका घरमा बस्न जान्छे । त्यहाँ राज भेट्छे । अमरसिंहको छोरो राज पागल हुन्छ । पूजालाई आफ्नी मरेकी श्रीमती लिलिमा ठानेपछि अमरसिंहको आग्रहलाई नकार्न नसकी पूजा लिलिमा बन्छे । कम समयमै सम्बन्ध गहिरो हुन्छ र पूजा गर्भवती बन्छे ।
तर सिंगापुर गएर ठीक भएर आएपछि राजले पूजा र उसको सम्बन्ध स्विकार्दैन । उसले आफ्नी सौतेनी आमा यशोदाको लहैलहैमा लागेर पूजा र उसका बुबालाई अपमान गरी घरबाट निकाल्छन् । यता गाउँ र्फकंदा सागरले उसलाई पर्खिराखेको हुन्छ । सबै कुरा थाहा पाए पनि ऊ पूजासँग विवाह गर्न चाहन्छ तर विवाह हुनलागेका बेला राज पूजालाई लिन आइपुग्छ । अब पूजाले कसलाई रोज्छे भन्ने बुझ्न चाहिँ फिल्म हलमा जानुपर्नेछ ।
कथा अस्वाभाविक भए पनि अभिनयमा दिलीप जमेका छन् । विराज एक्सनमा चम्किएका छन्, भूमिकाअनुसार झरनाको अभिनय राम्रो छ । प|mेन्चकटमा प्रस्तुत खलनायक सुशीलको भूमिका पुरातनखालकै भए पनि अभिनय सशक्त छ । नायकलाई सुखदुःखमा साथ दिने 'जङ्गे' कुकुरको अभिनय दर्शकका लागि मुख्य आकर्षण हो । स्रोतसाधनका दृष्टिले 'तकदिर' मा छायांकन पक्ष दमदार छ । छायाँकारले चलचित्रका सबै गीतमा क्यामेराको राम्रो प्रयोग गरेका छन् । चाहे खोलाको दृश्य होस् वा भीरको, गीतका दृश्य हेर्न लायक छन् ।
संगीतमा महेश खड्काको प्रस्तुति प्रशंसनीय छ । राजेन्द्र खड्गीको निर्देशनमा विराज भट्टको एक्सन दृश्य लोभलाग्दा छन् । कथा सुस्त गतिमा अघि बढ्नु, प्रसंगहरू दोहोरिनु र एउटा दृश्यबाट अर्को दृश्यमा जाँदा फिल्मको फ्लो टुट्नु 'तकदिर' का कमजोर पक्ष हुन् । यसले दर्शकलाई एक घटनालाई अर्को घटनासँग जोडेर बुझ्न समस्या पारेको छ ।
वैशाख- ३०, २०६६
साभार: कान्तिपुर राष्ट्रिय दैनिक
Posted on: 2009-05-12 19:43:25
--------------------------------------------------------------