भित्तामा चरा मात्रै

स्मिता मगर

काठमाडौं, जेठ ३० - आकृति कार्की सिमसारमा चारो खोजिरहेको बकुल्लाको पेन्टिङ क्यामेरामा कैद गर्न ठेलमठेल सहिरहेकी थिइन् । 'मैले यस्ता चित्र पहिले देखेकी थिइनँ,' तस्बिर उतारेपछि नोबेल एकेडेमीकी नौ कक्षाकी छात्राको अनुहार उज्यालियो, 'रमाइलो लागिरहेछ ।'

 

सहरबजारमै हुर्केबढेका र चराचुरुंगीबारे अनभिज्ञ आकृति जस्ताहरूलाई यो रमाइलो दिन सुनसरी बलाहादेखि आएका छन् जीवनाथ पोखरेल । ६३ वर्षे चरा चित्रकारका सिर्जनाको प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा शनिबार सुरु भएको छ । 

पोखरेलको चौथो एकल प्रदर्शनीमा सिमसार र सिमसारमा रमाइरहेका चराचुरुंगीका पेन्टिङ छन् । थ्री डाइमेन्सन -आयामिक) मा बनाइएका यी चित्रमा रङबाहेक अरू सबै यथार्थ छन् । सिर्जनालाई वास्तविक छनक दिन क्यानभासमा घाँसपात, काठ, बालुवा, चराकै आकृति टाँसिएका छन् । चारकोलहरूसँगै घुँगी, उनिउ“mका बुटा, ढुंगा, लेउ, झ्याउ, च्याउलगायतको प्रयोगले कलापारखीलाई नयाँ स्वाद दिएको छ ।

'क्यानभासमा अहिलेसम्म रंगमात्र पोत्ने गरिएको छ,' पोखरेलले भने, 'चित्रकलालाई नयाँ रूप दिन नयाँ प्रविधि अपनाएको हुँ ।' उनले आपmनो प्रयोगलाई 'एन आर्ट' नाउँ दिएका छन्, जसमा पाँच एन हुन्छन्, नेसनल, नेचुरल, न्यु, नाइस र नर्मल ।

चराका चित्रमात्र बनाउँदै आएका पोखरेललाई सिर्जनाको खुराक कोसी टप्पुले दिँदै आएको थियो । 'तर गत वर्षको बाढीका कारण चराहरू उति देखिन छाडे,' उनले भने, 'सिमसार पनि सुक्दै छन् ।' केही चित्र मोरङको बेतना पुगेर बनाएको उनले बताए ।

सिर्जनामा वास्तविकता उतार्न चाहने पोखरेलको यो लगनलाई कलापारखीले पनि प्रशंसा नगरिरहन सकेनन् । 'मन तान्ने पेन्टिङ रहेछन्,' सुपारीको बोक्राबाट बनेका चराको पेन्टिङबाट अचम्भित मोहन खजुमले भने ।

करिब डेढ वर्षमा बनाइएका ४३ पेन्टिङसहित प्रदर्शनीमा ७५ सिर्जना छन् । चखेवा, धनेश, पहेंला चील, हाँस, धोबिनी, कालोटाउके विरहीलगायत चरा तिनमा अटाएका छन् ।

कला समीक्षक कृष्ण शाह यात्रीका अनुसार पोखरेलले प्रतिपादन गरेको भनिएको एन-आर्ट उत्तरआधुनिक कलाको सबैभन्दा कान्छो विधा हो । 'यसमा कोलाज, क्राफ्ट र पेन्टिङको फ्युजन छ,' उनले भने, 'यो नयाँ प्रयोग भविष्यमा मौलिक नेपाली कलाका रूपमा स्थापित हुन सक्छ ।'

रक्षामन्त्री विद्या भण्डारीले उद्घाटन गरेको प्रदर्शनीमा कोसी टप्पुदेखि काठमाडौंसम्मको पोखरेलको कलायात्रामा आधारित डकुमेन्ट्री 'द बर्ड आर्टिस्ट' पनि देखाइयो । 

प्रदर्शनी असार २ सम्म चल्नेछ ।

 

जेष्ठ ३१, २०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-06-13 20:40:43

-------------------------------------------

 

गए दिन क्यासेटका

स्मिता मगर

काठमाडौं, पुतलीसडकबाट कोटेश्वरको लागि नेपाल यातायात बस चढेकी रिमा राजभन्डारीले मोबाइलको इयरफोन कानबाट निकाल्दै भनिन्, 'क्यासेटको जमाना त गइसक्यो, जमाना कम्प्याक्टको आएको छ ।' उनले क्यासेटबाट गीत सुन्न छाडेको ३ वर्षभन्दा बढी भइसकेको रहेछ ।

 

विज्ञान प्रविधिको तीव्र विकाससँगै सेवा सुविधाका अनेक बिकल्पहरू पनि जोडिदै गएका छन् । दिनहुँ सुविधा र मनोरञ्जनका नयाँनयाँ सरसामान बजारमा थपिदाछन् । सस्तो, सजिलो र राम्रो चिज सबैले रुचाउँछन् पनि। केही वर्ष पहिले वाकमेन प्रयोग गर्ने गरेकी रिमा अहिले क्यासेट चलाउन झन्झटिलो ठान्छिन् र,उनको वाकमेन घरको कुनै कुनामा धूलोमा पुरिएको हुनसक्छ । 'जब म सयौं गीतहरू यो सानो मोबाइलमा सुन्न सक्छु भने फेरि किन ८/१० वटामात्र गीत भएको क्यासेट सुन्नु ?,'  उनले प्रश्न गरिन् ।

न्युरोडको टिक एन्ड टक म्युजिक पसलका बिक्रेता सुनिलरत्न तुलाधरका अनुसार अब स्रोताहरूका लागि क्यासेटका दिन गएका छन् । 'क्यासेट त अहिले चल्दै चल्दैन,' उनी भन्छन् । सिडीहरू बेच्न व्यस्त सुनिलले पसलको एउटा कुनोमा थन्किएका २०/२५ वटा पुराना क्यासेट देखाउँदै अब 'क्लियरेन्स सेल' गर्ने जानकारी दिए । उनको पसलबाट क्यासेट बिक्री हुन छाडेको करिब पाँच वर्ष भइसकेको रहेछ । 'क्यासेट खोज्न कोही पनि आउँदैन, यसैले हामीले पनि पसलमा क्यासेट राख्न छाड्यांै,' उनले भने ।

अहिले बजारमा क्यासेट प्लेयरभन्दा सिडीप्लेयर निकै सस्तो छ । सिडीमा क्यासेटको भन्दा म्युजिक क्वालिटी पनि राम्रो हुन्छ साथै सिडी कम्प्युटरमा पनि प्रयोग गर्न मिल्ने भएकाले सहरमा अहिले क्यासेटको बजार हराएको हुन सक्ने बिक्रेताको अनुमान छ ।

'अहिले क्यासेटको बजार स्वाट्टै घटेको छ, औसतमा क्यासेटको उत्पादन ८० प्रतिशत घटेको छ,' म्युजिक नेपालका प्रबन्धक सन्तोष शर्मा भन्छन् । क्यासेटको बजार गाउँघर केन्दि्रत हुँदै गएको र सहरमा सिडी/डीभीडीको बजार मात्रै रहेको उनको भनाइ छ । 'पहिले क्यासेटको बिक्री र बजार राम्रो भएपछि मात्रै सिडी उत्पादन गरिन्थ्यो,अहिले भने बजार हेरेर क्यासेट/सिडी निकाल्नेबारे निर्णय हुन्छ,' उनले भने, 'सहरीया श्रोतालाई तान्ने गीत संगीतमा हामी पहिले सिडी निकाल्छौं भने आधुनिक, दोहोरी गीतले चाहिँ धेरै गाउँका श्रोतालाई तान्ने भएकाले क्यासेट निकाल्ने गरेका छौं ।

समय परिवर्तन भएकाले क्यासेटको जमाना गएको शर्माको बुझाइ छ । त्यसैले म्युजिक नेपालले नया संयन्त्र 'डिजिटलाइज सेलिङ' को प्रविधि अपनाउन सुरु गरेको उनले बताए । 'अब हाम्रो आशा यसैमा छ,' उनले भने । 

'डिजिटलाइज सेलिङ' का लागि २० हजार गीत डिजिटलाइज हुने भएको छ । सिर्जना चोरी -पाइरेसी) हुने गरेका कारण यो विधि अपनाउनु परेको उनले बताए । अहिले सिडीको पनि ८० प्रतिशत 'पाइरेसी' हुने भएकाले म्युजिक नेपाल घाटामा गएको उनले जानकारी दिए ।  

क्यासेटको बजार खस्किए पनि संगीत पारखी र संगीतको स्वाद रुचाउनेहरू पनि कत्ति पनि घटेका छैनन्, शर्माका बुझाइमा । 'क्यासेट र क्यासेट प्लेयर घटेको होला,' उनी भन्छन्, 'तर मोबाइल, एमपी थ्री, आइपड, आइफोनमा भए पनि संगीतमा झुम्ने पारखीहरू उत्तिकै छन् ।' तर विडम्बना, प्रतिलिपि अधिकारको चासो नरहँदा र पाइरेसीको खेती जारी रहँदा म्युजिक कम्पनी र स्रष्टाहरू एकसाथ मारमा परिरहेको यथार्थ पनि उनले सुनाए

जेष्ठ २६, २०६६

साभार: साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-06-08 20:40:52

---------------------------------------

 

अन्तहीन पर्खाइ

स्मिता मगर

काठमाडौं, होटेल बज्रको थिएटरमा पिनड्रप साइलेन्स थियो, अँध्यारो स्टेज उज्यालियो, दृश्य देखिन थाले, स्यामुयल बेकेटको प्रसिद्ध नाटक 'बेटिङ फर गोदो' को ।

 

आइतबार साँझ अन्तिम मंचन गरिएको नाटक एक अन्तहीन पर्खाइको कथा हो । विसंगतीवादको प्रख्यात नाटकका सबै पात्रहरू नचिनेको गोदोलाई पर्खिराखेका हुन्छन् । पर्खिदाको छटपटिमा समय बिताउन एक अर्कासँग बहस गर्छन्, गाउँछन्, नाच्छन् । अर्को दिन गोदो पक्कै आउने रे भन्ने सुनेपछि फेरि पर्खाइ सुरु हुन्छ तर आउँदैन । तैपनि आउनेछ भन्ने आशामा इस्ट्रागन (कर्मा) र भलादिमिर (सुवास थापा) घरतिर लाग्छन् ।

सन् १९५३ मा थिएटर दे वेबिलोनमा पहिलो मञ्चन भएपछि यो नाटकले ठूलो हलचल ल्याएको थियो । 'नाटकलाई जसरी पनि बुझ्नसक्छौं' निर्देशक सविना लेहम्यानले भने, 'राजनीतिक र सामाजिक अर्थमा पनि ।' सान्दर्भिकता औल्याउँदै  उनले भनिन्, 'अहिले नेपालीहरू केही हुन्छ कि भनेर पर्खिराखेका छन् यी नाटकका पात्रझै । तर, पर्खेर मात्र हुन्न केही गर्नुपर्छ ।'

नाटकमा इस्ट्रागन र भलादिमिर सामान्य कुराकानी गर्छन्, जुन कुनैबेला वाहियत लाग्छ तर  नाटककारले यी दुई पात्रमार्फत मान्छेको असामान्य जीवनको राम्रो चित्रण गरेका छन् । उनीहरू केही हुन्छ कि भनेर कुर्छन् तर हुन्न । न गोदो नै आउँछ न रूखमा झुन्डेर मर्ने उनीहरूको इच्छा नै पूरा हुन्छ । आधुनिक जीवनको निरर्थकता र विसंगती यसरी व्यक्त हुन्छ ।

कलाकारले राम्रो अभिनय गरेका छन् । कर्मा र सुवासले दर्शक हसाउँछन्, अनुप बराल र आशन्त शर्माले सामाजिक संरचनामा सोच्न बाध्य पार्छन् । दिया मास्केको छोटै भूमिका भएपनि मिठास दिएकी छिन् । 'धेरै रमाइलो लाग्यो । बेकेटको नाटकभन्दा त्यति फरक छैन' समालोचक सञ्जीव उप्रेतीले भने, 'अझै नेपालीकरण गरिएको भए राम्रो हुन्थ्यो ।'

हरेक वर्ष एक महिनाका लागि स्टुडियो सेभेनले विदेशी स्वादका नाटक प्रस्तुत गर्दै आएको छ ।

जेष्ठ १२, २०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-05-25 20:53:42

----------------------------------------



हाइकिङ्को स्वाद: काफल हन्टिङ्

स्मिता मगर

थानकोट, शनिबार बिहान रत्नपार्कमा एक हूल युवा जम्मा भएका थिए । शनिबारे छुट्टीलाई उत्सवमय बनाउन ट्रेकिङ् र हाइकिङ्को धुनमा युवा भेला भएका रहेछन् ।

 

तन्नेरीहरू चन्द्रागिरी डाँडातिर जाने सुरमा रहेछन्, त्यो पनि काफल ट्रेकिङमा । लोकल माइक्रोमा चढेर थानकोट त्रिभुवन पार्क छेउमा पुगेपछि उनीहरू उकालिए चन्द्रागिरीतिर । साथमा बोकेको मकै र जौको सातु फुक्याउँदै पैदल मार्नुको मस्तीमा थिए उनीहरू । 'बजारिया जङ्क फुडभन्दा अडिलो खान्की हो यो,' तन्नेरीको टोली पदयात्रिज्का सुरथ गिरीले बताए । सातु खाएमा ट्रेकिङ् हाइकिङ्मा छिटो भोक नलाग्ने उनको भनाइ थियो ।

१५ जना तन्नेरी बाटाभरि इतिहासका कुरा गर्दै थिए । राणाकालीन बेलामा बडाहाकिमहरूका गाडी काँधमा बोकेर ल्याइने मार्ग यही थियो, इतिहासमा हाम्रै बाजुबराजे 'राजाको गाउँ' छिर्ने बाटो पनि यही थियो । हिँडाइको मुडमा प्रेम, जीवन, प्रकृति, काठमाडौंको पेट्रोल-पानीदेखि प्रधानमन्त्री र प्रधानसेनापतिसम्मका गफगाफ भइरहेको थियो । चन्द्रागिरी डाँडामा सिर्सिर बतास थियो, तनमनलाई चिस्याउने । एकछिन सिर्सिरे बतास लिएपछि काफल खोज्ने र खाने अभियान सुरु भयो चित्लाङको वनतिर । बाटामा काफलमात्रै होइन, ऐसेलुका झुप्पा पनि भेटिए तर विज्ञहरूले भन्ने गरेझैं मौसम परिवर्तनको असरले हो कि सिजन बित्नै लाग्दा पनि धेरैजसो फल भने काँचाकाँचै थिए ।

पदयात्रिज् टोली तीन वर्ष पहिलेदेखि नै हाइकिङ् र ट्रेकिङ्को मस्तीमा डुब्न थालेको रहेछ । विशेषतः काठमाडौं वरपरको जीवन र जगत् पहिल्याउने उनीहरूको सोचाइ रहेछ । काठमाडौंमा अर्को युवा समूह 'नेचर लभिङ ग्रुप' ले पनि यस्तै हाइकिङ्को स्वाद बटुल्दै आएको छ । पदयात्रिज् टोलीको सुरुवात पनि रमाइलो गरी भएको रहेछ । भ्यालेन्टाइन डेका दिन पाँचजना साथीभाइ फुर्सदिला बनेपछि चिसापानी हाइकिङ् गर्न गएका रहेछन् । त्यहीँ खिचिएका फोटा ब्लग र फेसबुकमा राखेपछि हाइकिङ जानेको टोली जन्मिएको रहेछ, पदयात्रिज्का नाममा । उनीहरूले यसअघि चन्द्रागिरी हुँदै कुलेखानी पुगेका रहेछन् ।

यही टोलीका सङ्गम गिरी त्रिचन्द्र कलेजमा स्नातक अध्ययनरत छन् जो काठमाडौंको कोलाहलबाट टाढिन पनि अलिक टाढा हाइकिङ गर्न रुचाउँछन्, फार फरम द म्याडिङ क्राउडजस्तै । 'कति न्युरोडको हूलमा गएर हराउनु,' उनी भन्छन्, 'बरु काफल र ऐसेलुको जंगलमा हराउनु बेस ।' यसरी चन्द्रागिरीको टुप्पोमा चराको चिरबिर, जंगली फूलको बासना र काफल-ऐसेलुको स्वादमा हराउनेमध्येका एक गिरी बनेका रहेछन् ।

डाँडाबाट र्फकंदा भने वरपरको तुवाँलो हटिसकेको थियो, त्यो उचाइबाट काठमाडौं उपत्यका निकै सुन्दर खुलेको थियो ।

पदयात्रिजका सौरभ भने ट्रेकिङ्सँगै गुन्द्रुक खान्कीका पनि सौखिन रहेछन् । उनले ल्याएको गुन्द्रुकको अचार पनि निकै स्वादिलो लाग्यो । एक घन्टासम्म जंगलभित्र अलप भएर काफल खोज्ने काम भयो, धित त मरेन तर केही स्वाद भने मिल्यो । रूख चढेर काफल कपाकप खाइराखेकी दाङकी कला कोइरालाले यो अघोरी जंगलमा आफ्नो बाल्यकाल सम्झना गरिन् । 'मेरो गाउँमा त काफल लटरम्मै फल्छ, घरको खुबै याद आयो,' काफलले भिजेको मुख मिठ्याउँदै उनले भनिन् ।

तन्नेरीटोली जनही २ सय रुपैयाँ उठाएर हाइकिङ गएको थियो । यसपाला हिउँदमा राम्ररी पानी नपरेकाले काफल उति फलेको रहेनछ, फले पनि काफलको आकार टिम्मुरझैं लाग्थ्यो । अलिअलि फले पनि चराचुरुंगीले मात्रै होइन, बाँदरले पनि काफल चाख्न औधि चाहना राख्दा रहेछन् भन्ने पत्तो भयो झ्याङबुटामा उफरिरहेका बाँदर देखेर । पहिलापटक काफलको बोट देखेकी बाँसबारीकी स्वस्ती शर्मासँग रत्नपार्कमा काफल किनेर खाएको अनुभव मात्रै थियो तर आफैं रूखबाट काफलगेडी टिपेर खान पाएका बेला उनी हाउभाउमै पुलकित देखिन्थिन् । 'रत्नपार्कमा किनेर काफल खानु र रूखबाट टिपेर खानुमा कत्ति हो कत्ति अन्तर हुने रहेछ,' उनले हौसिँदै भनिन् ।

वैशाख- २२, २०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-05-04 20:05:36

---------------------------------------------

 

दर्शक लठ्याउने भोजपुरी

स्मिता मगर

काठमाडौं, नेपाली भाषाबाहेक अंग्रेजी र हिन्दी फिल्म चल्ने काठमाडौंका सिनेमा घरमा अब अर्को भाषाको फिल्म पनि थपिएको छ, त्यो हो भोजपुरी । यसको सुरुवात उदीतनारायण झा र उद्धव पौड्यालको संयुक्त प्रस्तुति रहेको 'ई रिश्ता अनमोल बा' बाट भएको छ ।

यो फिल्म राजधानीका ११ हलमा प्रदर्शन भइरहेको छ । गाउँले जीवनमा आधारित फिल्ममा किशन -अमर उपाध्याय) परिवारले काला सिंह खलनायकसँग बदला र प्रेमका लागि लड्नुपरेको छ । अन्त्यमा नराम्रोमाथि राम्रोकै विजय हुन्छ, अधिकांश फिल्ममा झैं । 'ई रिश्ता अनमोल बा' को कथावस्तु नयाँ होइन तर प्रस्तुति मिठासपूर्ण छ । अढाइ घन्टाको बसाइमा दिक्दार लाग्दैन । फिल्ममा चाहिने सबै मरमसला यसमा छन्- पारिवारिक ड्रामा, हिरोहिरोइनका रसिलाभरिला भोजपुरी नृत्य, कम्मर मर्काइ, आइटम गर्लको छटा अनि ख्यालठट्टा ।

निर्देशक आनन्द डी. गहतराजले यो फिल्ममा बलिउड र कलिउडको मिलन गराएका छन् । भोजपुरी फिल्मका अमर उपाध्याय, उर्वशी सोलंकीसँगै नेपाली मूलधारका निखिल उप्रेती, गरिमा पन्त र रमेश बुढाथोकीले पनि अभिनय गरेका छन् । छायांकन देवघाट, पोखरा, चोभारजस्ता सुन्दर ठाउँमा गरिएकाले नेपाली दर्शकले आफ्नै अनुभव गर्न सक्छन् ।

तीनटा भोजपुरी फिल्म खेलिसकेका निखिल यो फिल्ममा पुलिस अफिसरको भूमिकामा छन् । धेरै राम्रो स्टन्ट पनि दिएका छन् । हिन्दी मिसावटयुक्त संवाद भएकाले भोजपुरीमा नबुझ्नेले पनि भाषाका कारण उति कठिनाइ अनुभव गर्नु पर्दैन । हिन्दी सिरियल 'क्युँ कि सास भी कभी बहू थी' मा मिहिरको भूमिकाबाट चर्चा कमाएका अमर यो फिल्ममा छाएका छन् । उनलाई साथ दिने उर्वशी पनि निकै राम्री देखिएकी छन् ।

फिल्ममा आठ गीत छन् । संगीतले दर्शकलाई नाचूँनाचूँ बनाउँछ । रोमान्टिकदेखि उत्तेजकसमेत देखिने केही नृत्यका दृश्य कतै असहज त कतै रमाइला लाग्छन् । अर्को लोभलाग्दो पक्ष भनेको अनुप जलोटाको मीठो स्वरमा सजिएको भजन हो । फिल्मी पर्दामा जलोटाको उपस्थिति उनका गजल र भजन पारखीका लागि 'ई रिश्ता अनमोल बा' को अर्को आकर्षण हो ।

गोपीकृष्ण हलमा दुई दिनअघिको पि्रमियर सोमा निखिल पनि सहभागी थिए । धेरै मेहेनत गरेकाले यो फिल्मबाट राम्रो आशा राखेको उनले बताए ।

वैशाख- २१, २०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-05-03 20:35:49

---------------------------------------

 

आमाहरूको स्कुले रहर

स्मिता मगर

काठमाडौं, कोठाबाहिरै सुनिँदै छ- एपिपिएल एप्पल, बीएएलएल बल । यो स्वर पछ्याएर चिहाउनेलाई अचम्म लाग्न सक्छ, यहाँ बालबालिका होइन आमाहरू भेला भएका छन् ।

 

टेबुलमा कापीको नजिकै इरेजर र कटर राखेर सिसाकलम समाती लेख्न तम्तयार भएका आमाहरूको यो सुन्दर दृश्य कीर्तिपुर गृहिणी महिला विद्यालयमा हरेक दिन देख्न-सुन्न पाइन्छ । शिशुदेखि ५ कक्षा पढ्न यतिखेर साठी वर्षे उमेरसम्मका ६० आमा भेला भएका छन् । यो कक्षाको भित्तामा फलफूल, चराचुरुङ्गीको नाम भएको नेपाली र अंग्रेजी पोस्टर टाँसिएका छन् । यसका साथै आमाहरूले बनाएका विभिन्न रङ्गीबिरङ्गी चित्र पनि आफ्नो नाम, कक्षा र ठेगानासहित टाँसिएका छन् ।

ब्ल्याकबोर्डमा लेखिएका नम्बरलाई अंग्रेजीमा उल्था गरिराखेकी ४ कक्षामा अध्ययनरत लक्ष्मीकुमारी महर्जनसँग पढ्न थालेपछि धेरै कुरामा फाइदा भएको अनुभव

छ । 'मेरो ठूलो बच्चाले मलाई सिकाउँछ, मचाहिँ नर्सरीमा पढिराखेको मेरो सानो छोरालाई पढाउँछु,' लक्ष्मीले सुनाइन् । उनी पढ्दै गएर एसएलसी पास गर्न चाहन्छिन् ।

'पहिलेपहिले पढ्न आउने चित्र कोर्नमा दिक्क मान्थे,' विद्यालयकी पि्रन्सिपल सुनिता मानन्धरले भनिन्, 'अहिले भने आमाहरू आफैं चित्र कोर्न रुचाउनुहुन्छ ।' बिहानको एघारदेखि दुई बजेसम्म पढाइ हुने स्कुलमा कीर्तिपुरे नेवार समुदायका महिलाको बाहुल्य भए

पनि अरू थातथलोबाट पनि आमाविद्यार्थी आएका छन् ।

ज्ञानको खोजीमा हत्ते गर्दै डेढ घन्टा गाडी चढेर स्कुल पढ्न आइपुग्ने आमा हुन्- शान्ति फडेरा । टौदह कीर्तिपुरकी तीन छोराछोरीकी आमा शान्ति हरेक दिन तिनलाई स्कुल पठाएपछि आफैं पनि स्कुल आउन हतारिन्छिन् अनि स्कुले युनिर्फम गुलाफी रङको कुर्तासलवारमा सजिएर, सिन्दुरपोते लगाई सानो झोला बोकेर उनी घरबाट

निस्किन्छिन् । गत मंसिरमा विद्यालय भर्ना भएकी उनी अहिले पि्र वान पास गरेर एक कक्षामा भर्खर भर्ना भएकी छन् ।

'पहिले केटीले किताब छुनु पनि हुन्न भनेर पढ्न दिएनन् । पढ्न नपाएर दुःख पाइयो तर अहिले यहाँ पढ्न पाउँदा धेरै कुरा थाहा भएको छ । पत्रपत्रिका पढ्न र बुझ्न सक्ने भएकी छु,' उनले मुसुक्क हाँस्दै भनिन् । पहिलोपटक अंग्रजीमा नाम लेखेर आफ्ना छोराछोरीलाई देखाउँदै उनले खुसी मनाएकी थिइन् । पढ्न थालेपछि अस्ति भर्खरमात्र ५ कक्षामा पढेकी संगीलाई बंैकमा लगेर खाता खोलिदिएको बताउँदै उनले भनिन्, 'अब त म अरूलाई पढाउन सक्ने भएकी छु ।'

५० वर्षीया विमला महर्जन पनि पढ्न पाएर असाध्यै खुसी भएकी रहिछन् । चार कक्षाकी बिद्यार्थी उनले भनिन्, 'पढ्न पाएकामा ममात्रै होइन, म पढेकामा मेरा बूढा पनि औधी खुसी छन् ।' उनले आफूलाई नआएको गृहकार्य छोराछोरीलाई सोध्ने गरेको बताइन् । विमला अहिले कतै गएपछि साइनबोर्ड हेरेर आफू कुन ठाउँमा आएकी रहिछु भन्ने थाहा पाउन थालेकी छन् ।

पढ्न मन पराउने आमाहरू विद्यार्थीमात्र नभएर गृहिणी पनि भएका कारण घरेलु कामलाई पनि उत्तिकै महत्त्व दिने गरेको पि्रन्सिपल सुनिताले बताइन् । स्कुलबाट घर आउँदा बच्चाहरू भोकाएर आउने भएकाले खाजा तयार गरिदिन हतारहतार घरतिर लाग्ने आमाहरू पनि यहाँ उत्तिकै छन् । यता पाँच कक्षामा पढिराखेकी प्रमिला महर्जन अहिले राम्ररी चिठी लेख्न सक्ने भएकी छन् । आत्मविश्वाससाथ उनले भनिन्, 'अब विदेशमा बसेको छोरालाई इमेल गर्न सिक्नुपर्ला ।'

आमाहरू पढ्न सुरु गरेदेखि नयाँ प्रविधिप्रति पनि आकषिर्त भएको देखिन्छ । अहिले फोन गर्न, चिठी लेख्न र मोबाइल प्रयोग गर्न धेरै सजिलो भएको उनीहरू बताउँछन् । यो विद्यालय किपु बचत तथा ऋण सहकारी संस्थाले गृहिणी महिला र पढ्नलेख्नबाट वञ्चित महिलालाई साक्षर बनाउन २ वर्ष अगाडिबाट यो अभियान थालेको हो । सबै आमा विद्यार्थीले विद्यालयका ५ शिक्षिकालाई 'मिस' भनेर सम्बोधन गर्ने गरेका छन् ।

 

वैशाख १५, २०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-04-27 20:44:37

-----------------------------------------------

विश्वज्योतिमा एउटा सो

स्मिता मगर

काठमाडौं, दिनको १२ बजेको थियो । फिल्म पनि सुरु भइसकेको थियो । हलभित्र जोडाहरू छिर्न भने रोकिएको थिएन । तैपनि हलभित्र मुस्किलले २० प्रतिशत कुर्सी भरिएका थिए ।

 

हलभित्र छिरेका जोडामध्ये अधिकांश छेउभित्ताका कुर्सीमा आड लागेको देखिन्थ्यो । पर्दामा भन्दा आफ्नै दुनियाँमा उनीहरू मदमस्त देखिन्थे, अरू एक्ला भने केही समयमै उँघ्न थालेका थिए । उनीहरू उपत्यकामा बढ्दो दिउँसोको चर्को घाम छल्न फिल्म हलभित्र छिरेका हुन् कि झैं लाग्थ्यो ।

दीपक रायमाझीद्वारा निर्देशित 'हाम्रो मिलन कहिले हुन्छ ?' फिल्म हेर्न अघिल्लो साता विश्वज्योति पुगेका धेरैजसोमा फिल्मी कथा, पटकथा वा संवादको चासो थिएन । परिवारभित्रको धार्मिक कट्टरता र त्यसमा पिल्सिएको हिन्दु धर्म मान्ने परिवारको ओम -अजर्ुन कार्की) र बुद्ध धर्म मान्ने परिवारकी नोयो -सञ्चिता गुरुङ) बीचको प्रेमकथाले धेरैलाई उन्न नसकेको झैं लाग्थ्यो । फिल्ममा स्वाभाविक अभिनयमा भने राजेश हमाल र युवराज लामा मात्रै छन् । 

कतिवटा दृश्यमा क्यामेराको फोकस मिलेको छैन । संवाद र अभिनयमा तालमेल भेटिन्न । हिरोहिरोइनलाई पातको कस्ट्युम लगाएर पानीमा नाच्न पठाएको दृश्य अचम्मलाग्दो छ । त्यो दृश्य 'ग्ल्यामरस' को सट्टा हास्यास्पद छ ।

प्रीति झिङ्गातियाको एउटा आइटम नाचले दर्शकलाई तान्न खोजेको महसुस हुन्छ । त्यो नाच खुबै मन पराएका दर्शक तेजबहादुर तामाङले अल्छी पारामा भने, 'फिल्म ठीकठीकै छ ।' काठमाडौंमा ड्राइभिङ गरेर जीवीकोपार्जन गरिराखेका तेजबहादुरले धेरै लामो समयपछि आफ्ना छोरा र स्वास्नीलाई फिल्म हेराउन लिएर आएको बताए ।

सामान्य कथावस्तु भएको यो फिल्मका 'जागे सारा रातमा' 'मायालुले' बोलका गीतमा भने केही उन्मादिला दृश्य थिए । अँध्यारो हलमा पर्दामा भइरहेको आलिङ्गन र ओठ जुधाइको सिको गर्दै थिए छेउकुनामा बसेका जोडा । विशेषतः फिल्मी पर्दामा राजेश हमाल इन्ट्री हुँदा र उनको एक मुक्काले खलनायक तीन फन्का घुमेर भुइँमा ढलेको दृश्यमा हलमा बजेको सिट्ठी र तालीको तोड निकै थियो ।

वैशाख-८, २०६६

साभार:कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-04-20 19:58:41

---------------------------------

टोलटोलमा सिनेमा: फिल्मको घुम्ती स्वाद

स्मिता मगर

काठमाडौं, झमक्क साँझ पर्न लाग्दा पाटन दरबार स्क्वायरको एउटा कुनामा फिल्मको पर्दा खुल्यो । छेउछाउ उभिएका एक हुल दर्शकहरू नजिकिए । भीड रमाइलो तरिकाले जम्न थाल्यो ।

पर्दामा 'बिइङ मी' का दृश्य आए । दर्शक सहभागितालाई सक्रिय तुल्याउन केही तन्नेरीले नयाँ सुरुवात गरेका थिए, गल्ली र चोकमा फिल्मको खुला प्रदर्शनी गरेर । पाटनमात्रै होइन, साँझको शीतलमा चलचित्र हेर्न जम्मा हुने दर्शकहरू नयाँबानेश्वर, कीर्तिपुर, गोंगबु, रत्नपार्क, भक्तपुरमा पनि उत्तिकै भए । नयाँवर्षको पहिलो दिन सुरु घुम्ती फिल्म आइतबार साँझ रत्नपार्कमा टुंगियो ।

नजिकै जेनेटरको आवाज, छेउछाउबाट हर्न बजाउँदै कुदिरहेका गाडी र सडक किनारको पर्दामा आँखा अड्याइरहेका दर्शक । ३० मिनेटको 'विइङ मी' हेरेपछि दर्शकहरू कलम लिएर प्रतिक्रियाका लागि तयार हुन्थे ।

फिल्ममा चार कथा छन्, भिन्न पात्रका । कोही वैदेशिक रोजगारमा शोसित भएर फिरेका पीडित, कोही रेस्टुरेन्ट र बारकी युवती र वैदेशिक रोजगारका लागि मेनपावरमा लागेको युवा लाम । यी पात्रहरू बाँच्नका लागि संघर्षरत छन् ।

हलमा गएर चलचित्र हेर्ने परम्परालाई नयाँपन दिन र सबैमा चलचित्रको पहुँच पुर्‍याउन साताव्यापी घुम्ती पदर्शन गरिएको चलचित्र निर्देशक क्षितिज अधिराजले बताए । 'डोटी, अछाम, जुम्ला, भोजपुर, कैलाली, दाङ, अर्घाखाँची, इलाम, सोलुखुम्बु लगायतका जिल्ल्ाामा पनि यसरी नै देखाउँदै छौँ,' उनले भने, 'यो वास्तविक पात्र र कथामा आधारित ननफिक्सन फिल्म हो ।'

ओस्कार इन्टरनेसनल कलेजमा चलचित्र निर्माणमा स्नातक पढ्दै गरेकी सिन्धुलीकी विन्दु माझीले 'विइङ मी' हेरेपछि फरक शैलीका फिल्म बनाउन प्रोत्साहित भएको बताइन् । 'मैले पनि बनाइरहेको छु एउटा डकुमेन्ट्री,' उनले भनिन्, 'सामान्यभन्दा सामान्य दर्शकमा पुर्‍याउन यस्तो घुम्ती शैली प्रभावकारी हुन्छ जस्तो लाग्यो ।' यसो भयो भने दर्शकले सीधै प्रतिक्रिया दिनसक्ने उनको ठहर थियो ।

उनकै छेउ प्रतिक्रिया लेख्न मार्कर पेन समातिरहेका सुमन लामिछानेले खुला आकाशमुनि उभिएर चलचित्र हेनर्ुको मज्जा बेग्लै रहेको प्रतिक्रिया दिए । 'हरेक मान्छे फिल्मलाई आफ्नै तरिकाले बुझ्छन्' सुमनले भने, 'फिल्मका पात्रहरू हेरेपछि मलाई आफू के हुँ र कहाँ छु भन्ने सोच्न मन लागेको छ ।

चलचित्रमा हरेक पात्रहरू बाँच्नका लागि संर्घषरत छन् । उनीहरू आफ्नो अस्तित्व पनि खोज्न चाहन्छन् जसको लागि अनेक दुःख र कष्टमा सामेल हुनुपर्छ । धर्ममा युवाहरूले राख्ने धारणा र पश्चिमा संस्कृतिको प्रभावले पनि पात्रहरूलाई छोएको छ । प्रतिक्रिया दिने भीडमा उभिएकी सपना खापुङले भने चलचित्र नबुझेको बताइन् । 'मैले त फिल्म नै बुझिन,' परम्परागत प्रस्तुतिभन्दा फरक रहेको चलचित्रबारे उनले छेवैकी साथीलाई खुसुक्क भनिन् । साथीले पनि नबुझेको प्रतिक्रियास्वरूप टाउको हल्लाइन् ।

'प्रस्तुति शैलीका कारण दर्शक अकमकिएका हुन्,' निर्देशक क्षितिजले भने, 'हेर्नेबित्तिकै निष्कर्षमा पुग्न सकिँदैन ।'

 

वैशाख-७,२०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-04-19 20:14:23
---------------------------------------

ह्याट लाउनुस् वाइन पिउनुस्

स्मिता मगर

काठमाडौं,  न झिलिमिली बत्ती, न त पसलमा विशेष छुटका अफर । भ्यालेन्टाइन डे, क्रिसमस र न्यु इयर इभमा बेहुलीझैं सजिने राजधानीको हिपहप बजार ठमेल नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा भने सुनसान थियो ।

 

उत्साही मान्छेको उति चहलपहल थिएन । पर्यटकीय गन्तव्य ठमेलभर घुम्दा मुस्किलले एक दर्जन शुभकामना ब्यानर र होर्डिङ बोर्ड पनि भेटिएनन् । 'नयाँवर्ष इभमा रमाइलो होला भनेर घुम्न आएको, ठमेल त सुतिराखेको रहेछ,' ठमेल टहल्न आएकी सामाखुसीकी सञ्जु शर्माले निरासिँदै भनिन् । अंग्रेजी नयाँ वर्ष आउनुभन्दा एक महिना पहिलेदेखि  नै संगीत र मीठा परिकारको माहोलमा तातिने यो बजार नेपाली नया वर्षमा मुर्झाएको झैं थियो।

सञ्जु सोमबार राति घरपरिवारमै खानपिन र रमझम गरेर नयाँ वर्षको स्वागत गर्ने तयारीमा छिन् ।

अंग्रेजी नयाँ वर्षका अवसरमा झिलिमिली बत्ती बाल्दै र पुस्तकमा डिस्काउन्ट अफर राखेर ग्राहक आकषिर्त गर्ने मण्डला बुक हाउसमा पनि सोमबार कुनै रौनक भेटिएन । 'हामी मात्रै होइन, आज अधिकांश पसले व्यापारिक भएका छौं,' मण्डलाकी प्रबन्धक ऋचा महर्जनले भनिन् । धेरैजसो ग्राहक विदेशी हुने र उनीहरूलाई नेपाली नयाँ वर्षबारे थाहा नहुनुले यसबेला केही विशेष योजना बनाउनुको तुक नरहेको उनले सुनाइन् ।

सुनसान ठमेलबीचको 'साम पब' भने बेलुकीपख निकै तातिँदै थियो । यसले १२ वर्षदेखि नेपाली नयाँ वर्ष इभलाई 'ह्याट पार्टी' गरेर नयाँ तरिकाले मनाइराखेका रहेछन् । जो 'ह्याट' लगाएर आउँछ, पबको तर्फबाट एक कम्प्िलमेन्ट्री डि्रङक । पबका सञ्चालक श्याम घलेले धेरैजसो विदेशी नै आउने पबमा नयाबर्षमा चाहिँ नेपालीको उपस्थिति निकै हुने आशा व्यक्त गरे । 'फरक तरिकाले भए पनि नेपाली नयाँ वर्षबारे विदेशीले थाहा पाओस् भन्ने हाम्राे मान्यता हो,' उनले भने ।

यसपटक भित्तोमा टाँसिएको सूचना पाटीबाट नयाँ वर्षको शुभकामना दिए पनि आउँदा वर्षमा आफ्नो नयाँ वर्ष मनाएरै विदेशीलाई जानकारी गराइने काठमाडौं गेस्ट हाउसका प्रबन्धकको भनाइ छ । 'हाम्रो नयाँ वर्षबारे बाहिरी दुनियाँका आगन्तुकलाई पनि थाहा दिनुपर्छ,' गेस्ट हाउसका उत्तम फुयालले भने, 'आउने वर्षबाट नयाँ केही कार्यक्रम राखेर हाम्रै क्यालेन्डर जानकारी दिनेछौं ।'

वैशाख १, २०६६

साभार: कान्तिपुर राष्ट्रिय दैनिक

Posted on: 2009-04-13 20:56:07

----------------------------------------------------------- 

अप्रिल फुल: रमाइलो झुक्याउनेको

स्मिता मगर

काठमाडौं, दस कक्षा पढ्दा जयराम शर्माले केटीबाट अचानक लभलेटर पाए । त्यसको जबाफ फर्काउँदा केटीले झपारेपछि मात्र उनलाई थाहा भयो- त्यो दिन अपि्रल फुल दिवस रहेछ ।

 

'मेरै साथीले पो लेखेको रहेछ,' लगभग एकदशक पहिलेको कुरा सम्झाउदै उनले भने तर पछि त्यही केटी उनको गर्लपफ्रेण्डभइन् । 'त्यसपछि त उल्टै उनीहरू पो फुल भए,' हाँस्दै उनले बताए ।

नयाँ बानेश्वरस्थित ब्लु ओसन सिस्टम्समा कार्यकारी लेखा अधिकृतका रूपमा कार्यरत जयराम अहिले अपि्रल फुल दिवसको दिन एकदमै होसियार भएर बस्छन् ।

यता स्नातक पढ्दै गरेका नवराज आचार्य पनि आफू बुद्धू बन्न नपरोस् भनेर दिनभर होसियार रहने बताए । बिहानै उठेर साथीलाई हल्काफुल्का ठट्टा गरेर बेबकुफ बनाउने दाउ पनि छ उनको ।

हुन त हरेक अपि्रल फुलको दिन मन चसक्क घोच्छ उनको । ख्यालठट्टा गर्न रुचाउने नवराजलाई दुई वर्ष पहिले हेटौंडामा बस्ने काकीलाई भ'mुक्याएको याद आइराख्छ । 'मैले काठमाडौंबाट बहिनीलाई हेर्न केटा र परिवार हेटौंडामा आउँदै गरेको सुनाएँ । उता त साँच्चिकै तयार गरेर बसेछन्,' उनले सम्झे, 'रातिसम्म कोही नआएपछि काकाले चिन्ता गर्दै फोन गरेर सोधेपछि 'अपि्रल फुल' भनेर फोन राखेँ । काकी मसँग लामो समय बोल्नु नै भएन ।'

आफूले स्कुलमा पढ्दा अपि्रल फुल मनाएको पनि अहिले छाडेको तर अरूले चाहिँ आफूलाई झुक्याएकामा दिक्दार भएका छन् गायक निमा रुम्बा ।

गत वर्ष एक अंग्रेजी दैनिकले उनी बलिउडका प्रख्यात अभिनेता आमिर खानसँग प्रोजेक्टमा काम गर्न लागेको छापेपछि भएको खैलाबैलाले उनलाई बधाई ओइरो लागेको थियो । 'त्यो ठट्टाले गर्दा मलाई कतिले त आमिरसँग भेट गराइदेऊसम्म भनेर फोन गरे ।'

निमाले सम्झे ।

निमाजस्तै अपि्रल फुलको निसानीमा पर्नेमा एमालेनिकट अनेरास्ववियुका अध्यक्ष रामकुमारी झाँक्री पनि पर्छिन् । गत वर्ष उनलाई आफन्त पर्ने दाइले लन्डनबाट फोन गरेर आफू दुर्घटनामा परेर स्मरणशक्ति गुमेको र कसैलाई नचिन्ने बताएपछि रामकुमारी र पूरै परिवार चिन्तित भएका थिए रे । 'तीन महिनापछि थाहा भयो अपि्रल फुल मनाएको रहेछ भन्ने ।' उनले भनिन् । 

अस्पतालमा बिरामी भएर भर्ना भएको छु भनेर झुक्याउने र कहिलेकाहीं भेट्न बोलाएर कुर्नसम्म कुराउने गरेर साथीलाई हैरान पार्दै अपि्रल फुल मनाइएको पनि पाइन्छ । यो दिन मानसिक तनाव पाएका भुक्तभोगीहरू कसरी मनाउनुपर्छ भन्नेमा ध्यान दिन जरुरी भइसकेको बताउँछन् ।

'अब अपि्रल फुलको दिन त साँचो कुरा पनि झुटा लाग्छन्,' निमाले भने, 'राम्रै गम्भीर कुरा गरे पनि नाटक गरेको भनेर पत्याउँदैनन् ।' अलि स्वस्थकर रूपमा मनाउनुपर्ने उनले राय दिए । संवेदनशील कुरामा गम्भीर चोट पुर्‍याउने ठट्टा गनर्ु नहुने र साथीहरूबीच हल्का तरिकाले मजाक गनर्ुचाहिँ राम्रै हो भन्छन् उनी ।

अपि्रलको पहिलो दिन धेरैजसो पश्चिमा देशमा अरूलाई झुक्याएर यो दिवस मनाउने गरिन्छ । साथी, परिवार, छिमेकीलाई झुक्याएर, ख्यालठट्टा गरेर रमाइलो गर्ने यो दिवस बिस्तारै नेपालमा झ्यागिँदै गएको छ ।

चैत्र १९,२०६५

साभार: कान्तिपुर दैनिक

Posted on: 2009-03-31 19:38:21

---------------------------------------

तितौराका स्वादेहरू

स्मिता मगर

काठमाडौं, एक हुल ग्राहक पसलबाट गइसकेकै हुन्न, अर्को हुल आइपुग्छ । पछिल्लो हुलमा साथिसँगीमाझ खितखिताउँदै पसल छिरेकी सृजना श्रेष्ठ डब्बाका डब्बा गुलियो, पिरो, अमिलो र नुनिलो तितौरा देख्नासाथ हाँस्न छाडेर मुख मिठ्याउँछिन् ।

 

मुखै रसाउने तितौरा देखेर सृजनासँगै उनका साथीहरू कुनचाहिं स्वाद खाने भनेर डब्बा नियाल्न सुरु गर्छन्, लप्सी झोलदेखि, आँप, अमला, तित्री आदिका परिकार । उनीहरू मनपर्ने परिकार छान्दै गए । हुलमा सृजनाले लप्सीको झोल छानिन् भने अर्कीले खोर्सानीको 'खट्टीमिठ्ठी' झोल रुचाइन् ।

'यत्तिले प|mेस त बनायो तर मन भरिएन, अझै खानुपर्‍यो' भन्दै उनले अर्को प्याकेट पनि किनेर खान सुरु गरिन् । हप्तामा दुई/तीनपटक त्रिपुरेश्वरस्थित रत्नपार्क पाउँ भण्डारमा तितौरा खान छिर्ने सृजना अमिलो र पिरो तितौरा खान धेरै रुचाउँछिन् रे । खान सुरु गरेपछि रोक्न गाह्रो हुने बताउने उनी तितौरा धेरै खाएर पेट दुखेको र पछि कलेजसम्म छाड्नुपरेको अनुभव सुनाउँछिन् ।

'म पेट दुखेको सहन सक्छु तर तितौरा नखाएर चाहिं बस्न गाह्रो छ,' उनले भनिन् । 

युनाइटेड वल्र्ड ट्रेड सेन्टरस्थित पाउँ भण्डारमा बेच्न बसेकी रसना श्रेष्ठले तितौरा किन्न आउने भीडमा सास फेर्ने समय पनि पाइरहेकी थिइनन् । ग्राहकलाई  तितौरा दिंदै  रसनाले पसलमा तितौरा किन्न केटाहरू पनि उत्तिकै आउने गरेको बताइन् ।

'केटा पनि मुख मिठ्याउँदै आउँछन् र जिब्रो फट्कार्दै जान्छन्,' रसना भन्छिन् । नेवारीमा ल्यासी पाउँ -तरुनी) तितौराको लोकपि्रयता पहिलेभन्दा अहिले केटामाझ बढेको उनले सुनाइन् । 'केटीले मात्रै खाने मान्यता रहेकाले धेरैजसो केटा खुलेर तितौरा खान्छौं भन्न हिच्किचाइरहेका हुन्छन्,' रसनाको बुझाइ थियो । केटाहरू भने कहिले दिदीबहिनी त कहिले गर्लफ्रेन्डका लागि किनेको बहानामा तितौरा स्वाद लिने गरेका रहेछन् । त्यही भीडमा साथीहरूसँग तितौरा किन्दै गरेका सुदिस निरौलाले भने, 'तितौरा केटीले मात्र खानुपर्छ भन्ने छैन ।

स्कुले जीवनदेखि नै नजिकैको पसलमा साथीहरूसँग तितौरा किनेर खाने गरेका विराटनगरका सुदिसले अहिले आमाले घरैबाट तितौरा बनाएर पठाइदिने गरेको बताए ।

'अमला, ज्वानो, ल्वाङ आदि मिलाएर बनाएको तितौराले पाचनक्रियालाई राम्रो गर्ने भएकाले दैनिक रूपमा तितौरा खान्छु,' उनले भने ।

पिरो र अमिलो तितौराचाहिं साथीहरूले दिँदामात्र खाने तर किनेर खाँदा आँपको गुलियो तितौरा एकदमै मन पराउने सुदिसले बताए ।

 

चैत १८, २०६५

साभार:कान्तिपुर नेपाली राष्ट्रिय दैनिक

Posted on: 2009-03-30 19:33:40

--------------------------------------------------

** *** **

असरल्ल किताब

स्मिता मगर

किताबको रासमाथि ध्वाँसो पोतिएजस्तो दृश्य देखिन्छ । धूलोले छोपेका किताब कतै डोरीले बाँधेर बन्डलमा राखिएका छन्, केही छरपस्ट । साझा प्रकाशनको पुल्चोकस्थित मुख्यालयको किताब गोदामको दृश्य हो यो जुन महिनौं र वर्षौंदेखि उस्तै छ ।

साझा प्रकाशनभन्दा बाहिरबाट बिक्रीका लागि ल्याइएका र थन्किएर बसेका पुस्तकमा निकै नाम चलेकादेखि नामै नसुनिएकासम्मको रास छ । बच्चैदेखि किताबलाई सरस्वती मानेर ढोग्ने बानी लागेका नेपाली पाठकलाई भित्ते र्‍याकमा पुस्तक तल्र्याङ्तुर्लुङ झुन्डाइएको दृश्य अनौठो पनि लाग्छ । 'कोठामा यताउता गरेका बेला दुई/तीनपटक किताबको चाङमा ठोकिएन भने त अचम्मै हुन्छ,' स्टोरकिपर लक्ष्मण पोखरेलले हाँस्दै भने, 'अब त यो रासमा छिर्ने र पुस्तक खोज्ने बानी परिसकेको छ ।'

पोखरेलका अनुसार गोदाममा २०२२ सालमा प्रकाशन भएदेखिका पुस्तक थुपि्रएका छन् । संख्या मात्रै १ करोडको हाराहारी अनुमान छ । १० रुपैयाँदेखि ३ हजार रुपैयाँ मूल्यसम्मका पुस्तक थन्किएका छन् ।

उपन्यासकार धुव्रचन्द्र गौतमको उपन्यास 'मौन' देखि डायमण्ड शमशेरको 'धनको धब्बा' र कवि श्रवण मुकारुङको नाटक 'यलम्बर' सम्म थुपि्रएका छन् । सबैभन्दा बढी नबिक्ने र थुपि्रने सूचीमा कवितासंग्रह छन् । 'किरा, धमिरा र मुसाबाट जोगाउन औषधि पनि छर्कन्छौं,' पोखरेलले भने ।

साझाले बिक्रीका लागि किताब लिनुभन्दा पहिले प्रकाशक वा लेखकसँग सम्झौता गर्ने गरेको र सम्झौता गरेको तीन वर्षपछि बिक्री नभएका किताब फिर्ता लानुपर्ने सर्त रहने गरेको प्रशासन शाखाका प्रबन्धक धीरेन्द्रराज खनालले बताए । 'तर यो सम्झौताको कार्यान्वयन फाट्टफुट्टले मात्रै गर्ने गरेकाले यहाँ गोदाम भरिएको हो,' खनाल भन्छन् । साझाका अर्का एक कर्मचारीका अनुसार पटकपटक आफ्नो किताब लिन आउनुस् भन्ने सूचना प्रकाशन गर्दा पनि स्रष्टाहरू नआइदिनाले किताबको रास लागेको हो । लेखकहरूको ध्यानाकर्षण गर्नकै लागि भए पनि डोजर लगाएर गोदाम खाली गर्नुपर्ने स्थिति आइसकेको उनी बताउँछन् । 'तर पुस्तक जस्तोमा डोजर लगाउन पनि मिलेन,' उनले भने ।

गोदाम भरिनुमा लेखक, प्रकाशक तथा वितरक सबैको उत्तिकै कमजोरी रहेको साहित्यकार ध्रुवचन्द्र गौतमको भनाइ छ । साझाका पूर्वमहाप्रबन्धकसमेत रहेका गौतमले भने, 'सबै पुस्तक नबिक्लान् तर जति बिक्री हुनुपर्ने हो नहुनुमा साझाको वितरण प्रणाली उचित नहुनाले हो ।'

उनका अनुभवमा राम्ररी सुरक्षा नगरिदिने र बजारमा समयमा नपुर्‍याइदिनाले पनि पुस्तकको रास जमेको हो तर प्रकाशन शाखाका एक कर्मचारी भने बजारमा बिक्री नभएका र हुन नसक्ने पुस्तक गोदाममा बुझाइने 'बाध्यता' सुनाउँछन् ।

गोदाममा पुस्तक थन्किनेमध्येका कवि श्रवण मुकारुङ भने 'साझा प्रकाशनले स्वतन्त्ररूपमा पुस्तक प्रकाशन गर्नेलाई असमान व्यवहार गरेको' बताउँछन् । 'हाम्रा किताब बजारमा समयमै पुर्‍याइँदैन, प्रदशनीमा पनि राखिँदैन जब कि हाकिम, कर्मचारीका किताब भने ठाउँठाउँमा समयमै पुर्‍याइने गरेको छ ।'

लेखकको समस्या आफ्नै छ । 'आफ्ना किताब घरमा राखेर पनि के गर्ने ? बिक्री संयन्त्र छैन । मेरा केही पुस्तक साझामा थन्किएका होलान्,' उपन्याकार गौतमले भने । यता साझाका प्रबन्धक खनाल पनि स्रस्टाहरूको सहमतिमा गोदाममा थन्किएका पुस्तक पुस्तकालयलाई दिन सकिने सुझाव दिन्छन् । उनले साझाको दायित्वभित्र नभएका पुस्तक माग गरिएको अवस्थामा निःशुल्क दिन थालिएको पनि बताए । 'किरालाई ख्वाउन किन थुपार्ने ? पुस्तकप्रेमी संस्था र समुदायलाई बाँड्न थालेका छौं,' उनले भने । फेरि कवि मुकारुङ भने पुस्तकलाई बजारमै नपुर्‍याइ पुस्तकालयमा दिनु अर्को बदमासी हुने तर्क राख्छन् ।

गोदाममा 'जेल जर्नल' लगायतका केही बिकाउ पुस्तक पनि छन् जसलाई साझा कर्मचारीका अनुसार 'स्टक' मा राखिएको हो, गोदाममा थन्क्याइएको भने होइन ।

 

चैत ६, २०६५

साभार: कान्तिपुर नेपाली राष्ट्रिय दैनिक

Posted on: 2009-03-18 19:31:04

---------------------------------------------------

टुँडिखेलमा ताप्लेजुङ

स्मिता मगर

काठमाडौं, चैत १ - ओल्लो कुनामा मगमगाएको तोम्बा, पल्लोमा मुखै रसाउने बङ्गुरको भुटन र चौरको बीचमा लिम्बूहरूको नाँचौंनाचौं लाग्ने धान नाच । ताप्लेजुङको यो रंगरस शुक्रबार दिउँसो काठमाडौंको टुँडिखेलमा देखियो।

शुक्रबार सुरु दुईदिने ताप्लेजुङ मेलामा सुदूरपूर्वी पहाडी जिल्लाका एक होइन, अनेक झलक देख्न पाइयो । याकको छुर्पी, हातबाट बनेका धागाका कपडा, जडिबुटी औषधिसहितका ७५ स्टल आफैंमा घुमिरहुँझैं थिए ।  पहिलो दिनमा नै टुँडिखेलमा ठूलो जमात उपस्थित थियो । सांस्कृतिक भेषभूषामा सजिएर आएका युवायुवती पनि हूलमा थिए । त्यही भिडमा धाननाच हेर्दै बङ्गुरको मासु स्वादिलो मानेर खाइराखेकी सोलुखुम्बुकी दिलकुमारी राईले भनिन्, 'ताप्लेजुङको मेला कस्तो होला भन्ने कौतूहल मेटाउन टुँडिखेलभित्र छिरेकी थिएँ, एकदम रमाइलो भइराखेको छ ।'

'ताप्लेजुङलाई चिनौं, ताप्लेजुङसँग रमाऔं' नारालाई अझ बुझाउँदै मेला संयोजक बलबहादुर तामाङले भने, 'ताप्लेजुङमा आन्तरिक तथा बाह्य पर्यटक आकषिर्त गर्न मेला आयोजना गरिएको हो ।' गत फागुन दोस्रो सातामा फुङलिङमै ताप्लेजुङ महोत्सव भए पनि अरू भेगका दर्शकको उपस्थिति त्यति नदेखिएकाले सबैलाई सुदूर थलो चिनाउन काठमाडौंमा अर्को मेला आयोजना गरिएको उनले बताए ।

मेलामा धाननाच नाचिराखेकी गायिका झुमा लिम्बूले जिल्लाका आफन्त भेट्न पाएकामा खुसी हुँदै भनिन्, 'धेरै समयपछि एकैपटक मेरा जिल्लाका यति धेरै आफन्तजन भेट्दै छु, खुसी लागेको छ ।' उनले यो मेलाले ताप्लेजुङका नयाँ कलाकारलाई नयाँ अनुभवका साथै जिल्लाबाहिरका दर्शकसामु चिनिने अवसर दिने बताइन् ।

मेलामा महिला र पुरुष दुवैको डोरी तान्ने खेल प्रतियोगिताले यता खेलाडीलाई मैदानमा उडेको धुलोले फुस्रैफुस्रो मात्र बनाएन, डोरी तान्दा लडिबुडी भएका खे